बैशाख २३, २०८१, आइतबार
               

उत्तर कोरियाले सार्वजनिक गर्‍यो शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपक पनडुब्बी

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

एजेन्सी  । उत्तर कोरियाले नयाँ प्रकारको अत्याधुनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपक पनडुब्बी सार्वजनिक गरेको छ । सरकारी सञ्चारमाध्यमले यसलाई ‘विश्वकै सबैभन्दा शक्तिशाली हतियार’ को संज्ञा दिएको छ । सर्वोच्च नेता किम जोङ उनको उपस्थित रहेको विशाल सैनिक परेड कार्यक्रममा अन्य थुप्रै क्षेप्यास्त्र पनि प्रदर्शन गरिएका थिए । 

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जोय बाइडेनले शपथ ग्रहण गर्नु केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक क्षमता प्रदर्शन गरेको हो । नाम मात्रको राजनीतिक बैठक बस्ने तथा अन्तर्राष्ट्रिय जगतबाट टाढिएको उत्तर कोरियाका किमले सीधै अमेरिका आफ्नो मुलुकको सबैभन्दा ठूलो शत्रु भएको दाबी गर्ने गरेका छन् । 

किम इल सुंग चोकमा आयोजित सैनिक परेडमा स्थल सेना, टैंक र अन्य बख्तरबन्द गाडी, क्षेप्यास्त्र तथा ‘पुकगुकसोंगङ’ नामक यस नयाँ पनडुब्बी प्रक्षेपक प्रदर्शनलाई किमले निकै प्रसन्न मुद्रामा अवलोकन गरेका थिए । 

उत्तर कोरियाको पारमाणविक हतियार विकास कार्यक्रम नियन्त्रणका लागि विगतमा अमेरिकी राष्ट्रपति ट्रम्पले किमसंग दुईपटक भेटवार्ता गरेका थिए । तर, सिंगापुर र भियतनामको राजधानी हनोईमा भएका ती बैठकले खासै ठोस उपलब्धि दिन सकेका थिएनन् । 

किमले उत्तर कोरियामाथि लगाइएको आर्थिक प्रतिबन्धमा केही फुकुवा गर्न रोखेको प्रस्तावको सुनुवाइ नहुँदा हनोईको किम–ट्रम्प वार्ता त्यसै तुहिन पुगेको थियो । तैपनि, ट्रम्पले आफ्ना कार्यकालभरि नै किम आफ्नो ‘असल मित्र’ रहेको दाबी गर्दैै आएका थिए । 

केही दिनअघि मात्र किमले अमेरिकामा जोसुकै राष्ट्रपति बने पनि अमेरिकाको उत्तर कोरियाप्रतिको नीति नबदलिने दाबी गरेका थिए । बाइडेनले उत्तर कोरियासँगको विद्यमान समस्यालाई कसरी सम्बोधन गर्ने हो भन्ने हेर्न अन्तर्राष्टिय जगत उत्सुकताका साथ प्रतीक्षारत छ । 


 


कस्तो लाग्यो ?

यो पनि