जेठ ०५, २०८१, शनिबार
               

मेरिक गारल्यान्डलाई अमेरिकी महान्यायाधिवक्तामा मनोनयन गरिँदै

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

वाशिङ्टन । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले बिहीबार मेरिक गारल्यान्डलाई महान्यायाधिवक्तामा मनोनयन गर्ने बताएका छन् । पाँच वर्ष पहिले रिपब्लिकन पार्टीले सर्वोच्च अदालतको न्यायाधीशमा ल्याउन इन्कार गरेका गारल्यान्डलाई मध्यमार्गी न्यायाधीशका रूपमा लिने गरिएको छ । 

वाशिङ्गटनको संघीय पुनरावेदन अदालतका न्यायाधीश रहेका गारल्यान्ड कुनै पनि राजनीतिक दलसँग झुकाब नराख्ने व्यक्तिका रूपमा हेर्ने गरिएको छ । बाइडेनले बिहीबार न्याय मन्त्रालयका प्रमुख अन्य पदमा पनि विभिन्न व्यक्तिलाई सिफारिस गर्ने अनुमान गरिएको छ । ६८ वर्षीय गारल्याण्डले निजी क्षेत्रको वकील र संघीय अभियोजनकर्ताका रूपमा लामो समय काम गरेको अनुभव रहेको छ । 

सन् २०१६ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले उच्च अदालतमा गरेको सिफारिसलाई रिपब्लिकन सिनेटलेले रोकिदिएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष उनलाई न्यायालयको उक्त रिक्त स्थानमा मनोनयन गरेका थिए ।

 सन् १९९३ मा उनले ओक्लाहोमा शहर र एटलान्टा ओलम्पिक बम विष्फोट सहित महत्वपूर्ण राष्ट्रिय सुरक्षा मुद्दा हेर्ने जिम्मेवारीसहित उप सहायक महान्यायाधिवक्ताका रूपमा न्याय मन्त्रालयमा काम गरेका थिए । 

सन् १९९७ मा तत्कालिन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले उनलाई वाशिङगटन पुनरावेदन अदालतमा सिफारिस गर्नुभएको थियो र त्यतिवेला डेमोक्रेटिक र रिपब्लिकन सिनेटका सदस्यहरूको व्यापक समर्थन प्राप्त भएको थियो । उनी पछि सन् २०१३ मा उक्त अदालतको प्रमुख न्यायाधीश भएका थिए ।

पछि सन् २०१६ मा पूर्व राष्ट्रपति ओबामाले उनलाई सर्वोच्च अदालतका न्यायाधीस एन्टोनिन स्कालियाको मृत्युपछि खाली सीटमा सिफारिस गरेका हुन् । महान्यायाधिवक्ताको रूपमा उनलाई अमेरिकी सिनेटले सजिलै अनुमोदन गर्न सक्ने देखिएको छ, किनकि उनलाई दुबै दलको मत मिल्ने सम्भावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि