बैशाख २४, २०८१, सोमबार
               

भारतमा सरकारको प्रस्तावलाई किसानले गरे खारेज, वार्ता अनिश्चित

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

केन्द्र सरकारले ल्याएका तीन कृषि कानूनको विरोधमा आन्दोलित भारतीय किसानले सरकारको प्रस्ताव अस्वीकार गरेका छन् । त्यससँगै बुधबार किसानले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् ।

किसानले कृषि सम्बन्धी तीनवटै कानून फिर्ता लिनु पर्ने अडान छोडेनन्, सरकार कानून फिर्ता नलिने अडानमा रह्यो । किसान नेताहरुले बुधबार बेलुका पत्रकार सम्मेलन गरेर सरकारले पठाएको प्रस्ताव आफूहरुलाई स्वीकार्य नरहेको बताएका हुन् ।

सिंघु सीमामा किसान नेताहरुले जबसम्म तीन कृषि कानून फिर्ता हुँदैन तबसम्म विरोध प्रदर्शन जारी रहने स्पष्ट पारे । आउँदा दिनमा आन्दोलनका कार्यक्रम थप कडा बनाउने पनि उनीहरुले स्पष्ट पारेका छन् । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेताहरुको विरोध गरिने पनि किसान नेताहरुले स्पष्ट पारेका छन् ।

छैटौँ चरणको वार्ता कहिले हुन्छ भन्ने स्पष्ट भएको छैन । किसान नेताहरुको बैठकले सरकारले गरेको प्रस्ताव खारेज गरेपछि वार्ताका सम्बन्धमा कुनै जानकारी छैन । किसान नेताले आउँदो शनिबार दिल्ली–जयपुर राजमार्ग तथा दिल्ली आगरा एक्स्प्रेसवे बन्द गरिने भएको छ ।

किसान नेताले भनेका छन्, ‘दिल्ली या रेलवे बन्द गर्ने हाम्रो कुनै कार्यक्रम थिएन तर अब बाध्य भयौँ । यस्तै भाजपाका जति मन्त्री छन् उनीहरुलाई घेराउ गरिने छ र पूर्ण तरिकाले उनीहरुको बहिष्कार हुनेछ ।’

पञ्जाब, हरियाणा, उत्तर प्रदेश, राजस्थान र मध्य प्रदेशमा आउँदो सोमबार धर्ना दिइने पनि किसान नेताले घोषणा गरेका छन् । धर्नामा नबस्नेहरु दिल्ली जाने छन् । व्यवसायिक घराना अम्बानी र अडानीको कडा विरोध गरिने किसान नेताले उल्लेख गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि