जेठ ०६, २०८१, आइतबार
               

२०२४ को चुनावी तयारी थाल्ने ट्रम्पको योजना, बाइडेनको शपथकै दिन अभियान सुरु गर्न सक्ने

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै हार स्वीकारेका छैनन् । आफूविरुद्ध धाँधली भएको भन्दै उनले विभिन्न राज्यको निर्वाचन प्रक्रियाविरुद्ध कानूनी लडाइँ थालेका थिए । यद्यपी, इलेक्टोरल कलेजबाट जो बाइडेन राष्ट्रपति चुनिएमा सत्ता हस्तान्तरणमा बाधक नबन्ने संकेत उनले गरिसकेका छन् ।

जो बाइडेनको ह्वाइटहाउस प्रवेशको दिन नजिकिंदै गर्दा ट्रम्प पनि नयाँ योजना बनाउन व्यस्त छन् । द डेली बिस्ट न्युज पोर्टलमा प्रकाशित समाचारअनुसार जो बाइडेनले राष्ट्रपतिको सपथ लिएकै दिन अर्थात् २० जनवरी २०२१ मा राष्ट्रपति निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गर्ने विषयमा ट्रम्पले सोचिरहेका छन् ।  

२०२४ को निर्वाचन अभियानलाई कसरी सुरु गर्न सकिन्छ भन्ने विषयमा उनले सल्लाहकारहरुसँग छलफल थालेको समाचारमा उल्लेख छ । द हिल पत्रिका र ह्यारिस एक्स पोल्सस्टरले गरेको सर्वेक्षणअनुसार झन्डै ४७ प्रतिशत अमेरिकीहरुले २०२४ को ट्रम्पको उम्मेदवारीलाई समर्थन गर्ने देखिएको छ ।

अमेरिकी नागरिकहरुले नोभेम्बर ३ मा मतदान गरेका थिए, जसअनुसार जो बाइडेनका पक्षमा राष्ट्रपति चयनका लागि २ सय ७० भन्दा धेरै इलेक्टोरल मत सुनिश्चित भइसकेको छ । बाइडेनले आफुलाई विजयी घोषणा गरिसकेका छन् र धेरै देशबाट उनलाई बधाइ सन्देश आइसकेको छ ।

अमेरिकामा इलेक्टोरल कलेजले राष्ट्रपति चयन गर्छ । इलेक्टोरल कलेजको बैठक १४ डिसेम्बरमा बस्नेछ र यसले नै नयाँ राष्ट्रपतिका लागि मतदान गर्नेछ ।  त्यसपछि ६ जनवरी २०२१ नयाँ संसद्को सपथ हुनेछ, यसको पहिलो काममध्ये मतगणना पनि एक हुनेछ । त्यसपछि उपराष्ट्रपति माइक पेन्सले विजेता घोषणा गर्नेछन् । २० जनवरीमा नव निर्वाचित राष्ट्रपतिले सपथ लिनेछन् ।


कस्तो लाग्यो ?

यो पनि