जेठ ०८, २०८१, मंगलबार
               

प्रमुख सहयोगीको पनि साथ गुमाउँदै ट्रम्प

एजेन्सी
मंसिर ०८, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा समर्थकले नोभेम्बर ३ मा भएको चुनावमा बेहोरेको हार स्वीकार गर्न सुझाव दिएका छन् ।

न्यूजर्सीका पूर्व गर्भनर तथा ट्रम्पका सर्मथक क्रिस क्रिष्टीले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनाव जितेको र उनीसँग बेहोरेको हार स्वीकार गर्न ट्रम्पलाई सुझाव दिएका हुन् ।

राष्ट्रपति ट्रम्पको कानूनी समूहले नतिजा उल्ट्याउनका लागि गरेका प्रमाण बिहीन प्रयासहरु ‘राष्ट्रिय लज्जा’ रहेको क्रिसले बताएका छन् ।

चुनावमा पराजित भए पनि ट्रम्पले हार स्वीकार गरेका छैनन् ।

उनले कुनै पनि ठोस प्रमाण बिना धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् । धेरै रिपब्लिकनहरुले ट्रम्पको आरोपको समर्थन गरेका छन् ।

तर धोरै प्रमुख रिपब्लिकनहरुले त्यसको विरोध गरि ट्रम्पलाई हार स्वीकार गर्न र शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणको प्रक्रियामा लाग्न सुझाव दिएका छन् । यसरी ट्रम्पको विपक्षमा उभिने रिपब्लिकनहरुको संख्या बढ्दै गएको छ ।

अमेरिकामा नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई एक कार्यकालमा सीमित गर्ने गरि पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन विजयी भएका छन् ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिनेमा बाइडेनले ३०६ मत पाउने निश्चित भएको छ । ट्रम्पको पक्षमा २३२ इलेक्टोरल कलेज मत परेको छ ।

चार वर्ष पहिले पपुलर मत (कुल मत) मा हिलारी क्लिन्टन भन्दा झण्डै ३० लाख मतले पछि परेर पनि ट्रम्पले ३०६ इलेक्टोरल कलेज मत पाएका थिए र आफ्नो जितलाई उनले ‘ल्याण्डस्लाइड’ का रुपमा परिभाषित गरेका थिए । बाइडेन कुल मतमा ६० लाख भन्दा बढिको अग्रता लिएका छन् ।

अहिलेसम्म ट्रम्पको कानूनी टिमले दायर गरेका कम्तिमा ३० मुद्दा खारेज वा विपक्षमा फैसला भएको छ । ती सबै मुद्दाको फैसलामा प्रमाण नभएको न्यायाधीशहरुले उल्लेख गरेका छन् ।

शनिबार पेन्सिलभेनियामा हुलाक मार्फत खसालिएका दशौँ लाख मत अवैध गर्ने प्रयासमा ट्रम्पलाई गम्भीर धक्का लाग्यो । न्यायाधीशले ट्रम्पको मुद्दा खारेज गरे । तर उनको टिमले त्यसलाई पुनरावेदन गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि