बैशाख १९, २०८१, बुधबार
               

थप शक्तिशाली बन्दै आइओता आँधी

नेपाल फ्ल्यास
मंसिर ०२, २०७७

ADVERTISEMENT

मध्य अमेरिकातर्फ सोझिएको आइओता आँधी थप शक्तिशाली बन्दै गएको छ । दुई हप्ता भन्दा कम समयअघि सो क्षेत्रमा एता आँधीले जनजीवन प्रभावित पारेको थियो ।

आइओता आँधी अहिले २६० किलोमिटर प्रतिघण्टा गतिको वायुसहित मध्य अमेरिकी क्षेत्रमा साझिएको छ ।

स्थानीय समय अनुसार सोमबार बेलुका आइओता आँधी निकारागुवाको ग्रामीण पूर्वी तटीय क्षेत्रमा ठोक्किएको छ ।

छिमेकी देश होण्डुरसका राष्ट्रपति ख्वान ओरलाण्डो हेर्नान्डेजले आफ्नो नजिक ‘बम’ आउँदै गरेको जस्तो भइरहेको बताएका छन् ।

एट्लान्टिक महासागर क्षेत्रमा यो वर्षको सबैभन्दा शक्तिशाली आँधी हो आइओता । आइओता अहिले क्याटगोरी फाइभको आँधी छ । यो क्षेत्रमा यसअघि सन् १९९२ मा यो तहको आँधी आएको थियो ।

होण्डुरसका राष्ट्रपति हेर्नान्डेज र ग्वाटेमालाका राष्ट्रपति अलेहान्ड्रो गिएमाट्टेइले जलवायु परिवर्तनका कारण विश्वमा सबैभन्दा बढि प्रभावित हुने क्षेत्रमा मध्य अमेरिका रहेको उल्लेख गरेका छन् ।

उनीहरुले दुई हप्ता पहिले एता आँधीले गरेको क्षतिलाई उल्लेख गर्दै जलवायु परिवर्तनविरुद्धको अभियानलाई सघन र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।

एता आँधीका कारण मध्य अमेरिकी क्षेत्रका हजारौँ किसानले लगाएको बाली नष्ट भएको थियो र अझै पनि केही क्षेत्र जलमग्न छन् ।

मध्य अमेरिका पुग्नु पूर्व आइओता आँधी क्यारबियन क्षेत्रमा रहेको कोलम्बियन आइल्याण्ड प्रोविडेन्सिया हुँदै गुज्रेको थियो । त्यहाँ आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको थियो ।

कोलम्बियाका राष्ट्रपति इभान डुक्युएले आइल्याण्डमा आँधीका कारण थाहा भए भन्दा ठूलो क्षति भएको हुन सक्ने बताएका छन् । आँधीपछि सञ्चार सम्बन्ध स्थापित गर्न कठिन भएकाले क्षतिको यकिन विवरण थाहा नभएको उनले बताएका हुन् ।

आइओता आँधीका कारण भीषण वर्षा हुने मौसमविदले बताएको बिबिसीले उल्लेख गरेको छ। मध्य अमेरिकी क्षेत्रमा बाढी आउने तथा नदीमा पानीको बहाव उच्च हुने भएकाले मानिसको ज्यान समेत जान सक्ने भन्दै सतर्क रहन मौसमविदले आग्रह गरेका छन् ।

आइओताआँधीका कारण चर्चित पर्यटकीय गन्तव्य समेत रहेको क्यारबियन क्षेत्र स्थित कोलम्बियन आइल्याण्ड कारतगेनामा बाढी आएको छ ।


कस्तो लाग्यो ?

यो पनि