युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले आफ्नो पदबाट राजीनामा दिएकाे समाचार छ । उनीमाथि युद्ध अपराध गरेको आरोप लाग्दै आएको थियो । त्यसैले उनले आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग पनि उठ्दै आएको थियो ।
हालैमात्र उनका विरुद्धमा हेगमा रहेको युद्धअपराध अदालतमा मुद्धा दायर भएको थियो । त्यसपछि उनले राजीनामा दिएका हुन् । सन् १९९० मा सर्बियासँगको द्धन्द्धका क्रममा उनी शक्तिमा रहेका बेला युद्ध अपराध गरेको आरोप छ ।
आफू अन्तर्राष्ट्रिय युद्धअपराध अदालतमा उपस्थित हुनुपर्ने भएकोले आफ्नो पदबाट राजीनामा दिएको उनले बताएका छन् । राजीनामा पत्रमा आफूले कोसोभोको राष्ट्रिय प्रतिष्ठामा आँच आउन नदिनका लागि र अन्तर्राष्ट्रिय रुपमा आफ्नो देशको स्वाभिमान कायम राख्नका लागि आफूले राजीनामा दिएको तर आफूले कुनै गल्ती नगरेको उनले सो राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
सन् १९९० मा सर्बियासँगको द्धन्द्धका क्रममा उनी कोसोभोको विद्रोही समूहको राजनीतिक विभाग प्रमुखका रुपमा काम गरेका थिए । उनको आदेशमा ती विद्रोहीहरुले सर्बियाका नागरिकमाथि हिंसा गरेको र धेरै मानिसको हत्या गरेको आरोप लगाइएको छ ।