काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत उनी बुधबार निर्धारित कार्यतालिका भन्दा केही समयअघि नै काठमाडौं आइपुगेका हुन् ।
विमानस्थलमा नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका छन् । विशेष सुरक्षा व्यवस्थाका साथ उनलाई सोल्टी होटलमा लगिने कार्यक्रम छ ।
नरवणेको गाडीको अगाडि-पछाडि जंगीअड्डाको सैनिक प्रहरी गणको टोलीले स्कर्टिङ गर्नेछ । सुरक्षा चुनौतीका कारण पछाडि नेपाल प्रहरीको एउटा टोली पनि रहनेछन् ।
उनको भ्रमणको पूर्वसन्ध्यामा चेकजाँचमा कडाइ गरिएको थियो भने अहिले उपत्यकामा व्यापक रुपमा सादा पोसाकमा प्रहरी टोली परिचालित छन् ।