फ्लोरिडा । अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन आज हुँदैछ । यसको लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । यसैबीच वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबारको निर्वाचनबाट आफु पूनः राष्ट्रपतिमा निर्वाचित भएमा कोरोना संक्रमण रोग विज्ञ डा. एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् ।
कोरोना संक्रमण रोग न्युनिकरण, नियन्त्रण र व्यवस्थापनसम्वन्धी देशको उच्च जिम्मेवारीमा भएका फाउचीलाई उनले हटाउने चेतावनी दिएका हुन् । अमेरिका व्यापक संक्रामक रोग कोरोना भाइरसबाट अत्यन्त आक्रान्त बनेको वेला नै उहाँले हटाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिएको विभिन्न समाचारमा जनाइएको छ ।
गत वसन्त ऋतुदेखि नै फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न राष्ट्रपति ट्रम्प असफल भएको र त्यसमा डा. फाउचीको कुरालाई उनले वेवास्ता गर्ने गरेको आरोप लाग्दै आएको थियो । डा. फाउचीले अमेरिकामा संक्रमण फैलिन नदिन वा सचेतना गर्न र व्यवस्थापन गर्न आफ्नो तर्फबाट सक्दो प्रयासहरु गर्दै आएको भन्दै कतिपयले उनको प्रशंसा गर्ने गरेका छन् ।
कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म कम्तीमा दुई लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । फ्लोरिडामा आयोजना गरिएको चुनावी कार्यक्रममा सम्वोधन गर्नेक्रममा राष्ट्रपति ट्रम्पले डा. फाउचीप्रति असन्तुष्टि व्यक्त गर्दै संक्रमण र त्रास फैलिनुमा डा. फाउची पनि दोषी रहेको आरोप लगाएका छन् ।
चुनावी कार्यक्रममा आफ्ना समर्थकहरुले डा. फाउचीलाई निस्कासन गर्नुपर्ने माग उठाउँदै नारा लगाएपछि राष्ट्रपति ट्रम्पले उनलाई निस्कासन गर्ने चेतावनी दिएका हुन् । ‘यस बारेमा मलाई अरु केही भन्नु पर्दैन, केवल निर्वाचनसम्म पर्खिनुस्, निर्वाचन सकिएपछि मैले तपाईहरुको सुझावलाई कार्यान्वयन गर्नेछु,’ उनले आफ्ना हजारौँ समर्थकहरुलाई जवाफ फर्काउँदै भनेका छन् ।