अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ सोमबार भारत आएका छन् । भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ पत्नीसहित भारतको केन्द्रीय राजधानी नयाँदिल्ली आएका हुन् ।
भारत बसाइका क्रममा उनको विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबद्र्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुने बताइएको छ ।
छलफलमा भारतीय पक्षबाट विदेश मन्त्री एस जयशंकर र रक्षा मन्त्री राजनाथ सिंह रहनु हुने अधिकारीहरुले जनाएका छन् । मंगलबार हुने भारत र अमेरिकाबीचको यो बैठक तेस्रो उच्चस्तरीय बैठक हुने बताइएको छ ।
भारत प्रस्थान गर्नु अघि अमेरिकी विदेश मन्त्री पोम्पेओले ट्वीट गर्दै भनेका थिए, 'म भारत, श्रीलंका, माल्दिभ्स र इन्डोनेसियाको भ्रमणमा जाँदै छु । स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका मुलुकहरुबीच अझ स्वतन्त्र, सुदृढ र समृद्ध मुलुकको निर्माणमा साझा धारणा बनाउनु मेरो भ्रमणको मुख्य उद्देश्य हो ।'
यसअघि दुई मुलुकबीच सेप्टेम्बर २०१८ मा नयाँदिल्लीमा र सन् २०१९ मा वासिङट्न डिसीमा यस्तै मन्त्रीस्तरीय बैठकहरु भएका थिए ।