लेबनानमा साद हरीरी फेरि प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनी यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका छन् । निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरमा राजीनामा दिएपछि हरीरीले फेरि प्रधानमन्त्री बन्ने मौका पाएका हुन् ।
संसदमा ६५ जनाले हरीरीको पक्षमा मतदान गरेका थिए । ५३ जनाले मतदानमा भाग लिएका थिएनन् भने दुई जना अनुपस्थित थिए ।
यसअघि सन् २०१६ देखि हरीरीकै नेतृत्वमा सरकार बनेको थियो । सरकारका विरुद्ध व्यापक आन्दोलन भएपछि हरिरिले सन् २०१९ मा अक्टोबर १८ मा राजीनामा दिएका थिए । मुलुकलाई आर्थिक संकटमा पुर्याएको आरोपमा त्यसबेला उनको नेतृत्वको सरकारविरूद्ध प्रदर्शन भएको थियो ।
गत जनवरी २०२० मा हसन डियबको नेतृत्वमा नयाँ सरकार बनेको थियो । तर, उनी धेरै समय टिक्न सकेनन् । गत अगस्टमा राजधानी बेरुतमा ठूलो बम विस्फोटनको घटना भएर दुई सयभन्दा बढीको मृत्यु र हजारौँ घाइते भएपछि उनले राजीनामा दिएका थिए ।
लेबनानको राष्ट्रपतिको कार्यालयले हरीरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र उनलाई मन्त्रीपरिषद् गठन गर्न आह्वान गरिएको जनाएको छ ।