जेठ ०२, २०८१, बुधबार
               

साइबर हमला: डोनाल्ड ट्रम्प र बाइडन दुवै रुस, चीन र इरानका ह्याकरको निसानामा

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

एजेन्सी । माइक्रोसफ्टका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आगामी चुनावको लागि उनका प्रतिस्पर्धी डेमोक्र्याटिक उम्मेदवार जो बाइडन दुवैको चुनावी अभियान साइबर हमलाको निसानामा परेका छन् ।

माइक्रोसफ्टले रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनधिकृत रूपमा लिने प्रयास भएको बताएको छ ।

उक्त प्रविधि कम्पनीले सन् २०१६ को राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिकको चुनावी अभियानको तथ्यांक अनधिकृत रूपमा चोर्नेमा रुसी ह्याकरहरु पनि रहेको जनाएको छ ।

होमल्याण्ड सेक्युरिटी मन्त्रालयका साइबरसम्बन्धी उच्च अधिकारी क्रिस्टोफर क्रेब्सले यसअघि गुप्तचर समुदायले भन्दै आएको कुराकै पुष्टि माइक्रोसफ्टले गरेको बताएका छन् । चुनावलाई लक्षित गर्दै विदेशी समूहरूले आफ्ना प्रयासहरू बढाएको स्पष्ट भएको माइक्रोसफ्टले जनाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिस्पर्धी डेमोक्र्याट जो बाइडन दुवैका चुनावी अभियानहरू साइबर हमलाकारीको दृष्टिमा परेको बताइएको छ ।

माइक्रोसफ्टले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘स्ट्रनटियम समूहका रुसी ह्याकरहरूले अमेरिकी दुवै राजनीतिक पार्टी रिपब्लिकन र डेमोक्र्याटहरूसँग जोडिएका दुईसय भन्दा बढी सङ्गठनहरूलाई लक्षित गरेको छ ।’

साइबर हमला गर्ने त्यही समूहले नै ब्रिटेनको पनि राजनीतिक पार्टीहरूलाई निसानामा पारेको माइक्रोसफ्टले बताएको छ । तर, ती कुन पार्टी भनेर नाम चाहिँ खुलाइएको छैन । स्ट्रनटियमलाई फ्यान्सी बियरको नामले पनि चिनिन्छ जुन रुसी सेनाको गुप्तचर निकाय जीआरयुसँग आवद्ध रहेको बताइन्छ ।

अरु के भन्यो माइक्रोसफ्टले ?
उक्त प्रविधि कम्पनीका अनुसार चिनियाँ ह्याकरहरूले बाइडनको चुनावी अभियानसँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरेका छन् भने इरानका ह्याकरहरूले भने ट्रम्पको अभियानसँग सम्बन्धित मानिसहरूलाई लक्षित गर्ने निरन्तरको प्रयास गरिरहेका छन् । माइक्रोसफ्टका अनुसार धेरैजसो साइबर हमलाहरू सफल भएका छैनन् ।

माइक्रोसफ्टका उपप्रमुख टम बर्टले भने, ूयी गतिविधिहरूले के देखाएको छ भने चुनाव हुने दिन नजिकिँदै गर्दा राजनीतिक प्रक्रियामा संलग्न भएका मानिसहरू र सङ्गठनहरूले हमलाबाट आफूलाई जोगाउनका लागि थोरै खर्च लाग्ने सुरक्षाका साधनहरुको फाइदा लिनुपर्छ ।

चिनियाँ समूहले बाइडेनको अभियानमा आवद्ध रहेका मानिसहरूको व्यक्तिगत इमेल खाताहरूमा हमला गरेको माइक्रोसफ्टले बताएको छ । त्यसबाहेक ट्रम्प प्रशासनसँग पहिला रहेका कम्तीमा एकजना प्रभावशाली व्यक्तिको पनि सूचना ह्याक भएको उसले जनाएको हो । 

अमेरिकी चुनावलाई कम आँक्दै चीन, रुस र इरान
आफ्नो एउटा सुरक्षासम्बन्धी ब्लगमा माइक्रोसफ्टले फ्यान्सी बियर नामक रुसी ह्याकरहरू र फोसफोरस नामक इरानी ह्याकरहरूले राष्ट्रपति ट्रम्पको चुनावी अभियानमा काम गर्ने कर्मचारी र राजनीतिक संगठनहरूमाथि हमला गरेको जनाएको छ ।

जिरकोनियम नामक चिनियासँग सम्बन्धित ह्याकरहरूले चाहिँ डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका अभियानसँग जोडिएका व्यक्तिहरूलाई निसानामा पारेको माइक्रोसफ्टले जनाएको हो ।

माइक्रोसफ्टका अनुसार धेरैजसो ह्याक गर्ने अर्थात अनधिकृत रूपमा सूचना लिने प्रयासहरू विफल भएका छन् । – बीबीसी


कस्तो लाग्यो ?

यो पनि