काठमाडाैं । अमेरिकाको सिनसिनाटी शहरमा भएका गोलीकाण्डमा १८ जनालाई गोली लागेको छ । तीमध्ये चारजनाको मृत्यु भएको छ । अत्यन्तै हिंस्रक रातमा ओहायो राज्यको उक्त शहरमा शनिवार मध्यरातमा वाल्नट हिल्स टोलमा तीनजनामाथि गोलीप्रहार गरिएको थियो ।
त्यसलगत्तै आइतवार बिहान पौने १ बजे एभोनडेल क्षेत्रमा प्रहरीले २१ वर्षीय एन्टोनियो ब्लेयरलाई गोलीको घाउ लागेको अवस्थामा फेला पारेको थियो । उनलाई युनिभर्सिटी हस्पिटल लगिएको र त्यहीँ मृत्यु भएको प्रहरीले बयान जारी गरेर बतायो ।
पछि बिहान सवा २ बजेतिर ओभर–द–राइन टोलमा अनेकौंपटक गोली चल्दा १० जनालाई गोली लागेको प्रहरीको भनाइ छ । ३४ वर्षीय रोबर्ट रोजर्सको घटनास्थलमै मृत्यु भएको भने ३० वर्षीय अर्का पुरुष जाकिएज ग्रान्तातको निधन युनिभर्सिटी अफ सिनसिनाटी मेडिकल सेन्टरमा भएको थियो ।
स्थानीय सञ्चारमाध्यमहरूले दिएको खबरअनुसार, ६० देखि ९० मिनेटको आसपास ती गोलीकाण्ड भएका थिए । प्रहरी उपरीक्षक पल न्युडीगेटले ती छुट्टाछुट्टै भएको घटना बताउँदै डरलाग्दो र त्रासद भएको बताए ।