नाइकीसहितका ठूला कम्पनीहरूले चीनका उइगर मुस्लिमहरूलाई बलजफती काममा लगाएर गरिएको उत्पादनका आपूर्तिकर्तासँग सम्बन्ध तोड्न दबाव झेलिरहेका छन् ।
मुस्लिम अल्पसङ्ख्यकमाथि चीनद्वारा गरिएको दमनलाई 'प्रोत्साहन गरेको र त्यसबाट फाइदा लिइरहेको' आरोप लगाउँदै अधिकारकर्मीहरूले एउटा अभियान पनि थालेका छन् ।
संयुक्त राज्य अमेरिकाले पनि सिन्जियाङमा व्यापार गरिरहेका कम्पनीहरूलाई चेतावनी दिँदै आर्थिक दबाव बढाइरहेको छ ।
नाइकी र अरू ब्रान्डहरूले त्यो विषयलाई पछ्याइरहेको बताएका छन् ।
आफ्ना आपूर्तिकर्ताहरूसँग मिलेर उइगर र अरू आदिवासी अल्पसङ्ख्यकहरूको रोजगारसँग सम्बन्धित सम्भावित जोखिमहरूको पहिचान तथा समीक्षा गर्न लागिपरेको नाइकीले जनाएको छ ।
उसले धेरै उइगरहरू बस्ने र अधिकांश उद्योगले श्रमिक प्रयोग गर्ने सिन्जियाङ क्षेत्रबाट सोझै सामानहरू नल्याउने गरेको पनि बताएको छ ।
एपलको अनुसन्धान
एपल कम्पनीले पनि सो विषयमाथि अनुसन्धान गरेको जनाएको छ ।
'हामीले हाम्रो उत्पादनको काममा बलजफती श्रम गराइएको कुनै प्रमाण फेला पारेका छैनौँ र यो विषयलाई हेरिरहने हाम्रो योजना छ', कम्पनीले भनेको छ ।
राजनीतिज्ञ तथा अधिकारकर्मीहरू चिनियाँ सरकारले गर्ने मानवाधिकार हननको विषयमा जोडिन नचाहे कम्पनीहरूले कम्तीमा आफ्नो क्षेत्रमा थप कदम चाल्नुपर्ने बताउँछन् ।
'ब्रान्ड र खुद्रा विक्रेताहरू पहिल्यै निक्लिसक्नुपर्थ्यो तर उनीहरूले त्यसो गरेका छैनन् । त्यही भएर मानिसहरू भनाइभन्दा गराइ ठूलो हो भन्छन्', एन्टी-स्लेभरी इन्टर्न्याश्नलका च्लोई क्र्यान्स्टन भन्छन् ।
दबाव समूहमा संलग्न १८० भन्दा बढी सङ्गठनमध्ये एन्टी-स्लेभरी इन्टर्न्याश्नल पनि एक हो ।
'यो एउटा आपूर्तिकर्तासँग सम्बन्ध अन्त्य गर्ने कुरा मात्रै होइन यो त बृहत् कदम चाल्ने कुरा हो ।'
सिन्जियाङमा के भइरहेको छ ?
अस्ट्रेलियन स्ट्रटीजिक पोलिसी इन्स्टिट्यूट (एएसपीआई) र अमेरिकी कांग्रेस लगायतका संस्थाका अनुसार हजारौँ उइगरहरूलाई चीनभरि विभिन्न कारखानाहरूमा काम गर्न पुर्याइएको छ ।
एएसपीआईको प्रतिवेदनमा 'जबरजस्ती श्रममा लगाइएको' भनिएको छ ।
नाइकी, एपल र ग्यापसहित ८० भन्दा बढी चर्चित ब्रान्डका कारखानाबारे त्यसमा उल्लेख गरिएको छ ।
चीनले १० लाखभन्दा बढी उइगरहरूलाई विभिन्न शिविरहरूमा राखेको विश्वास छ ।
त्यसलाई उसले जागिरका लागि प्रशिक्षण तथा शिक्षा दिने कामको रूपमा चित्रण गर्ने गरेको छ ।
उइगर ह्यूमन राइट्स प्रोजेक्टका निर्देशक उमर कनातका अनुसार सिन्जियाङबाट कम्पनीहरू अन्यत्र सार्ने गरी चिनियाँ सरकारको नीति परिवर्तन गराउन सहज नभएको बताउँछन् ।
बीबीसीसँग उनले भने, 'चिनियाँ सरकारले गरिरहेका कुराप्रति अहिलेसम्म भर्त्सना भइरहेको छ, तर अरू कुनै कदम चालिएको छैन ।'
'साँच्चिकै केही असर नपरुन्जेल चिनियाँ सरकारले केही गर्नेवाला छैन । त्यसैले कम्पनीहरूलाई निसाना बनाउँदा त्यसले धेरै थोक गराउन सक्छ ।'
सरकारहरूले के गरिरहेका छन् ?
मानवाधिरको विषयलाई लिएर अमेरिकाले आर्थिक दबाव बढाइरहँदा आवश्यक कदम चाल्ने माग उठेको छ ।
गत महिना अमेरिकाले सिन्जियाङ क्षेत्र हेर्ने अधिकारीहरूमाथि प्रतिबन्ध लगायो र कम्पनीहरूलाई त्यहाँ व्यवसाय गरेकोमा चेतावनी जारी गर्यो ।
अमेरिकी कांग्रेसका सदस्यहरूले सिन्जियाङबाट हुने आयातमाथि पूर्ण प्रतिबन्ध लगाउने कानुनबारे विमर्श गरिरहेका छन् ।
अमेरिकी र युरोपेली राजनीतिज्ञहरूले पनि कानुन ल्याउने चेतावनी दिएका छन् ।
त्यो कानुन आएपछि सो विषयमाथि अनुगमनका लागि कम्पनीहरू बाध्य हुनेछन् ।
कम्पनीहरू के भन्छन् ?
अधिकारकर्मीहरूको अभियान कपडाहरूको ब्रान्डमा केन्द्रित छ किनकि सिन्जियाङले अधिकांश कपास त्यहीँ उत्पादन गर्छ ।
त्यसले विश्वभरि गरिने आपूर्तिको करिब २० प्रतिशत ओगट्छ । कपडा कम्पनीहरूले त्यो विषयलाई गम्भीरतापूर्वक लिइरहेको बताएका छन् ।
नाइकीले आफ्ना आपूर्तिकर्तामध्ये ताइक्वाङ ग्रूपसँग त्यो विषय उठाएपछि त्यसले आफ्नो एउटा कारखानामा सिन्जियाङबाट श्रमिक लिन बन्द गरेको जनाएको छ ।
ग्यापले पनि जबरजस्ती काममा लगाउने कार्यमाथि आफ्नो नीतिले रोक लगाएको बताउँदै सिन्जियाङबाट सिधै कपडा नल्याउने गरेको जनाएको छ ।
एडिडास र लाकोस्टद्वारा अस्वीकार
एडिडासले सिन्जियाङबाट कहिल्यै आफ्नो सामग्री उत्पादन नगराएको र एएसपीआईको प्रतिवेदनमा भनिएको एउटा आपूर्तिकर्ताको कुरा गलत भएको जनाएको छ ।
'कार्यस्थलसम्बन्धी एडिडासका मापदण्डले सबै किसिमका जबरजस्ती श्रम र कैदी श्रमिकलाई खटाउनमा रोक लगाएका छन् र यो कुरा कम्पनीका सबै आपूर्तिकर्ताको हकमा लागु हुन्छ', उसले भनेको छ ।
जबरजस्ती श्रम गराएको पाइएमा साझेदारी अन्त्य हुने पनि उसले जनाएको छ ।
लामो समयदेखिको एउटा आपूर्तिकर्ता ओ-फिल्मबारे कैयौँ पटक अचानक निरीक्षण गरिए पनि कुनै प्रमाण नभेटिएको एपल कम्पनीले जनाएको छ ।
निर्यात कालोसूचीमा
हङ्कङस्थित कमिज बनाउने एउटा कम्पनी एस्क्यूएल ग्रूपले भनेको छ, 'कतै पनि हाम्रो कम्पनीमा जबरजस्ती श्रम भएको छैन, गराइँदैछैन र गरिनेछैन ।'
उक्त ग्रूपले लाकोस्ट ब्रान्डका लागि उत्पादन गर्ने बताइन्छ ।
केही साताअघि आफ्नो निर्यातलाई कालोसूचीमा राख्ने अमेरिकी निर्णयबाट निकै अपमानित भएको उसको भनाइ छ ।
'हामी सम्बन्धित अधिकारीहरूसँग मिलेर समस्या सुल्झाउन लागिपरेका छौँ र गत २५ वर्षदेखि सिन्जियाङलाई पुर्याएको योगदानप्रति गर्व गर्दै हामी सो क्षेत्रप्रति प्रतिबद्ध छौँ ।'