बैशाख १७, २०८१, सोमबार
               

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अयोध्यामा राममन्दिरको शिलान्यास गर्ने

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

अयोध्यामा भव्य राम मन्दिर निर्माण गर्न बुधवार शिलान्यास हुने भएको छ । 

अगस्ट ५ तारिख बुधवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेश राज्यको अयोध्यामा राम मन्दिरको आधारशिला स्थापना गर्ने भएका हुन् । 

राममन्दिरको आधारशिला राख्ने शुभमुहूर्त बुधबार दिउँसो १२ बजेर १५ मिनेट १५ सेकेन्डमा  जुराइएको बताइएको छ। सो समयाविधमा चाँदीले निर्मित पाँचवटा इँटा ३२ सेकेन्डभित्र मन्दिरको जगमा राखिसक्नुपर्ने बताइएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सङ्क्रमणको त्रासकै माझ सो मन्दिरको उद्घाटनको तयारी गरेका छन् । 

भारतमा अहिले कोरोनाभाइरस सङ्क्रमणको महामारी तीव्र गतिमा फैलिरहेको छ।

केन्द्रीय गृहमन्त्री तथा प्रधानमन्त्री मोदीका निकट सहयोगी अमित शाह स्वयं सङ्क्रमित भएर अस्पताल भर्ना भएका छन्।

सत्ताधारी भारतीय जनता पार्टीका कैयौँ वरिष्ठ अधिकारी, एक पुजारी तथा कैयौँ प्रहरी पनि सङ्क्रमित भएका छन्। तर मन्दिरको शिलान्यास गर्ने योजना पूर्ववत् कार्यान्वयन हुने बताइएको छ।

रामको जन्मभूमि मानिएको उक्त ठाउँमा राम मन्दिरको निर्माण हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीको एक प्रमुख निर्वाचन वाचा रहँदै आएको छ।

सन् १९९२ मा उक्त स्थलमा रहेको प्राचीन बाबरी मस्जिद भत्काइएपछि हिन्दू-मुस्लिम दङ्गा हुँदा हजारौँ मानिसको ज्यान गएको थियो। त्यसयता भारतीय जनता पार्टी तीनचोटि सत्तामा पुगिसकेको छ।

गत वर्ष नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित स्थलमा राम मन्दिर बनाउन बाटो खोल्ने फैसला गरेपछि त्यहाँ भव्य मन्दिर निर्माणका योजनाले थप गति लिएको थियो।

अयोध्यालाई हिन्दूहरू मर्यादा पुरुषोत्तम रामको जन्मभूमि ठान्छन्। अदालतले बाबरी मस्जिदको गुम्बज भएको स्थान हिन्दू पक्षलाई दिइने फैसला सुनाएको थियो ।

सन् १९९२ मा मस्जिद भत्काइएको एक दशकपछि यसअघि सन् २००२ मा उक्त विवाद इलाहाबाद उच्च अदालतमा दर्ता भएको थियो।

त्यसको आठ वर्षपछि सेप्टेम्बर २०१० मा त्यसबारे एउटा फैसला आएको थियो जसअनुसार विवादित २.७७ एकड जमिनलाई बराबर तीन भागमा बाँडेर मुस्लिम समुदाय, हिन्दू समुदाय र हिन्दू सन्न्यासीहरूको एउटा सम्प्रदाय निर्मोही अखडालाई दिनुपर्ने आदेश दिइएको थियो ।

तर, हिन्दू र मुस्लिम दुवै समूहले त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेपछि सन् २०११ मा त्यो आदेशलाई खारेज गरिएको थियो।

विवादको मूल कारण

उक्त स्थानमा सन् १५२८ मा मुगल सम्राट बाबरको आदेशमा बनेको मानिने एउटा मस्जिद थियो जसको नाम बाबरी मस्जिद रह्यो।

सन् १९९२ मा हिन्दूहरूको भिडले सो मस्जिद भत्काइदिएको थियो।

त्यतिखेर भारतीय जनता पार्टीका तत्कालीन वरिष्ठ नेता लालकृष्ण आडवाणीलगायतले राम रथयात्राको आयोजन गरेका थिए।

त्यसपछि भएको साम्प्रदायिक दङ्गामा कम्तीमा दुई हजार मानिसको मृत्यु भएको थियो।

बाबरी मस्जिद मुस्लिम आक्रमणकारीद्वारा नष्ट गरिएको हिन्दू मन्दिरको भग्नावशेषमा बनाइएको हो भन्ने धेरै हिन्दूहरूको विश्वास छ।

भारतीय जनता पार्टी तथा उसको निकट रहेको राष्ट्रिय स्वयंसेवक सङ्घले सो स्थानमा राम मन्दिर बनाउने पटकपटक उद्घोष गर्दै आएका थिए।

गत वर्षको सर्वोच्चको फैसलापश्चात् त्यहाँ भव्य राम मन्दिर निर्माणको नक्सा बनाउन थालिएको थियो।

 कहिले के भयो?
सन् १५२८: अयोध्यामा हिन्दूहरूले भगवान् रामको जन्मस्थान रहेको भनेको स्थानमा मस्जिदको निर्माण।

सन् १८५३: सो स्थानमा पहिलो पटक धार्मिक हिंसा भएका विवरण।

सन् १८५९: औपनिवेशकालीन ब्रिटिश शासकहरूद्वारा तारबार निर्माण। भित्री स्थलमा मुस्लिमलाई प्रार्थना अनि बाहिरी भेगमा हिन्दूलाई पूजा गर्न स्वीकृति दिनेगरी व्यवस्थापन।

सन् १९४९: मस्जिदभित्र भगवान् रामका मूर्तिहरू देखा पर्छन्। हिन्दूहरूले ती मूर्ति राखिदिएको आशङ्काका माझ मुस्लिमद्वारा विरोध। दुवै पक्षद्वारा अदालतमा मुद्दा। सरकारले उक्त स्थान विवादित भन्दै ढोका बन्द गरिदिन्छ।

सन् १९८४: विश्व हिन्दू परिषद्को अगुवाइमा हिन्दूहरूले भगवान् रामको जन्मस्थानलाई 'मुक्त' गर्न भन्दै समिति गठन। भारतीय जनता पार्टीका तत्कालीन नेता लालकृष्ण आडवाणीद्वारा अभियानलाई नेतृत्व प्रदान।

सन् १९८६: जिल्ला न्यायाधीशद्वारा विवादित मस्जिदको ढोका खोलेर हिन्दूहरूलाई पूजा गर्न अनुमति प्रदान। मुस्लिमहरूद्वारा विरोधका निम्ति बाबरी मस्जिद एक्शन कमिटी गठन।

सन् १९८९: विश्व हिन्दू परिषद्को अभियान तीव्र। विवादित मस्जिदसँगैको भूमिमा राम मन्दिरको जग निर्माण।

सन् १९९०: परिषद्का कार्यकर्ताद्वारा मस्जिदमा आंशिक क्षति। विवादको वार्ताद्वारा हल गर्ने तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरको प्रयास अर्को वर्ष विफल।

सन् १९९१: उत्तर प्रदेश राज्यमा भारतीय जनता पार्टीको सरकार गठन।

सन् १९९२: विश्व हिन्दू परिषद्, शिवसेना तथा भारतीय जनता पार्टीका समर्थकहरूद्वारा मस्जिद ध्वस्त। लगत्तै देशभरि फैलिएको हिन्दू-मुस्लिम दङ्गामा दुई हजारभन्दा धेरै मानिसको मृत्यु।

सन् १९९८: प्रधानमन्त्री अटल बिहारी वाजपेयीको नेतृत्वमा भारतीय जनता पार्टीको गठबन्धन सरकार निर्माण।

सन् २००२ फेब्रुअरी: १५ मार्चको समयसीमाभित्र मन्दिर निर्माण थाल्ने विश्व हिन्दू परिषद्को चेतावनी। सयौँ स्वयंसेवक अयोध्यामा भेला। अयोध्याबाट फर्किरहेका हिन्दू अभियानकर्मी चढेको रेलमा गोधरामा आगजनी हुँदा कम्तीमा ५८ जनाको मृत्यु।

सन् २००२ मार्च: रेलमा भएको आक्रमणपछि पश्चिमी राज्य गुजरातमा भएका दङ्गामा अधिकांश मुस्लिम सहित एकदेखि दुई हजार मानिसको मृत्यु ।

सन् २००२ एप्रिल: सो धार्मिक स्थल कसको स्वामित्वमा छ भन्ने जान्न तीन उच्च अदालतका न्यायाधीशहरूद्वारा सुनुवाइ थालनी।

सन् २००३ ज्यानुअरी: अदालतको आदेशमा पुरातत्त्वविद्हरूद्वारा विवादित स्थलमा भगवान् रामको मन्दिर रहे नरहेकोबारे सर्वेक्षण थालनी।

सन् २००३ अगस्ट: पुरातात्त्विक सर्वेक्षणमा त्यहाँ मस्जिदमुनि मन्दिर रहेको प्रमाण भेटिएको जानकारी। मुस्लिमहरूद्वारा त्यसको विरोध। हिन्दू अभियानकर्मी रामचन्द्रदास परमहंसको अन्तिम संस्कारका बेला बोल्दै वाजपेयीद्वारा उनको सपना साकार पार्दै अयोध्यामा राम मन्दिर निर्माण गर्ने वाचा। तर पहिले अदालत तथा वार्ताबाटै समस्याको समाधान निस्कने आशा प्रकट।

सन् २००३ सेप्टेम्बर: बाबरी मस्जिद ध्वस्त पार्न उक्साएको आरोपमा सात हिन्दू नेताविरुद्ध मुद्दा चलाउन एक अदालतको आदेश। तर त्यतिखेरका उपप्रधानमन्त्री आडवाणीविरुद्ध कुनै अभियोग लगाइएन।

सन् २००४ अक्टोबर: आडवाणीले आफ्नो पार्टीभित्र अयोध्यामा मन्दिर बनाउने अविचलित सङ्कल्प रहेको र त्यहाँ मन्दिर निर्माण अवश्यम्भावी रहेको भनाइ।

सन् २०१०: इलाहावाद उच्च अदालतद्वारा विवादित जमिनलाई बराबर तीन भागमा बाँडेर मुस्लिम समुदाय, हिन्दू समुदाय र हिन्दू सन्न्यासीहरूको एउटा सम्प्रदाय निर्मोही अखडालाई दिनुपर्ने आदेश।

सन् २०११: सर्वोच्च अदालतद्वारा उच्च अदालतको फैसला स्थगन।

सन् २०१४: प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको पूर्ण बहुमत सहित सत्तारोहण।

सन् २०१९: मोदीको नेतृत्वमा भारतीय जनता पार्टी पुन: विजयी।

सन् २०१९ नोभेम्बर: भारतको सर्वोच्च अदालतद्वारा विवादित स्थलमा राम मन्दिर निर्माण गर्न बाटो खुला।

सन् २०२० अगस्ट ५: विवादित स्थलमा भव्य राम मन्दिर निर्माणको आधारशीला राख्ने साइत तय।

बीबीसी

यो पनि