चीनमा कोरोनाभाइरस संक्रमण फैलनबाट रोक्ने प्रयास अन्तर्गत बन्द रहेका सिनेमाघर (फिल्म हल) हरू फेरि खुला गर्न लागिएको छ ।
चिनियाँ चलचित्र प्रशासनले सोमवारदेखि 'कम जोखिम भएका' स्थानहरूमा सिनेमाघर खोल्न सकिने बताएको छ ।
चीनका अधिकांश स्थानलाई कम जोखिम भएका क्षेत्रका रूपमा वर्गीकरण गरिएका कारण यो नयाँ निर्णयको अर्थ देशभरिका लगभग सबै सिनेमाघर खुल्ने अनुमान छ ।
ज्यानुअरीमा सुरु भएको लकडाउनले चीनका सिनेमाघरहरू नराम्ररी प्रभावित भएका र केही स्थायी रूपमा बन्द भइसकेका छन् ।
खुल्ने सिनेमाघरहरूले कुल क्षमताको ३० प्रतिशतमात्रै दर्शक राख्नुपर्ने र पहिले देखाउने गरेकोभन्दा आधा सङ्ख्यामा मात्रै चलचित्र देखाउन पाइने कडा नियम पालना गर्नु पर्नेछ ।
दर्शकहरूको शरिरको तापक्रम नापिने छ र दर्शक र सिनेमाघरका कर्मचारी सबैले जुनसुकै बेलापनि अनिवार्यरूपमा मास्क लगाउनु पर्नेछ ।
चलचित्रको टिकट अनलाइन किन्नुपर्ने र फरक समूहका दर्शकहरू कम्तीमा एक मिटर दूरी कायम गरेर बस्नुपर्ने नियमहरू लगाइएको छ ।
नयाँ सुरक्षा नियमहरूमा सिनेमाघरमा खानेकुरा र पेय पदार्थ बेच्न नपाइने पनि रहेको छ ।
विश्वको दोस्रो ठूलो बजार
पछिल्लो कोरोनाभाइरस संक्रमणको पहिलो केन्द्रविन्दु रहेको चीन चलचित्रको लागि विश्वको दोस्रो ठूलो बजार हो ।
सन् २०१९ मा त्यहाँ चलचित्रको बजार नौ अर्ब डलरभन्दा बढी रहेको थियो ।
तर यो वर्ष धेरै चिनियाँ र अङ्ग्रेजी चलचित्रहरूको प्रदर्शन रद्द भएकोले त्यो बजार नराम्ररी खस्किने अपेक्षा गरिएको छ ।
जुलाई महिनाको सुरुमा चीनको सबैभन्दा धेरै सिनेमाघरहरूको स्वामित्व रहेको कम्पनी वान्डा फिल्मले यो वर्षको छ महिना घाटा हुने जनाएको थियो ।
चीनभरि ६०० भन्दा बढी सिनेमाघर रहेको सो कम्पनीले १.६ अर्ब युआन घाटा बेहोर्नु पर्ने अनुमान गरेको जनाएको छ ।
-बीबीसी