मंसिर ०७, २०८१, शुक्रबार
               

सन् २१०० सम्ममा पृथ्वीको जनसङ्ख्या 'आश्चर्यजनक रूपमा' कम, नेपालमा जनसङ्ख्या आधा घट्न सक्ने अनुमान

एजेन्सी
साउन ०२, २०७७

ADVERTISEMENT

ब्रिटेनको एक प्रतिष्ठित जर्नल ल्यान्सेटमा विश्वव्यापी अध्ययन गरेर प्रकाशित एक लेखमा विज्ञहरूले अधिकांश देशहरूमा यो शताब्दीको अन्त्यसम्ममा जनसङ्ख्या निकै घट्ने प्रक्षेपण गरिएको छ । ‘द ल्यान्सेट जर्नल’मा प्रकाशित अध्ययनले सन् २१०० मा जन्मदर १.७ भन्दा कम हुने जनाएको छ .

अध्ययनकर्ताहरूले विश्व बालबालिकाको घट्दो जन्मदरसँग जुझ्न तयार नरहेको बताउँदै त्यसले समाजमा 'निकै आश्चर्यजनक' असरहरू पार्ने बताएका छन् । घट्दो जन्मदरको अर्थ लगभग सबैजसो देशमा यो शताब्दीको अन्त्यमा जनसङ्ख्या घट्नु हो । स्पेन र जापान सहित २३ देशमा सन् २१०० मा अहिलेको भन्दा आधा जनसङ्ख्या हुने अनुमान गरिएको छ । ८० वर्षसम्म बाँच्ने मानिसहरू धेरै हुँदा ती देशमा बुढ्यौली जनसङ्ख्या समेत नाटकीय रूपमा उच्च हुनेछ ।

कारण
प्रजनन दर अर्थात् एक महिलाले जन्माउने बालबालिकाको औसत सङ्ख्या घट्दो छ । यदि त्यो अङ्क २.१ बाट घट्यो भने जनसङ्ख्याको आकार समेत घट्न थाल्छ । सन् १९५० मा एक महिलाले औसत ४.७ सन्तान जन्माउने गरेकी थिइन् । यूनिभर्सिटी अफ वाशिङ्टनको इन्स्टीच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभालुएसनको एक अध्ययनका अनुसार विश्वभरिको औसत जन्मदर सन् २०१७ मा २.४ थियो । द ल्यान्सेट जर्नलमा प्रकाशित उक्त अध्ययनले सन् २१०० मा जन्मदर १.७ भन्दा कम हुने जनाएको छ ।

प्रजनन
सो अध्ययनले यस ग्रहमा सन् २०६४ मा सबैभन्दा ठूलो जनसङ्ख्या पुगेर ९.७ अर्ब मानिस बस्नेछन् । तर शताब्दीको अन्त्यमा भने पृथ्वीको जनसङ्ख्या ८.८ अर्ब हुनेछ । एक अध्ययनकर्ता प्राध्यापक क्रिस्टोफर मरीले बीबीसीलाई भने: "यो निकै ठूलो कुरा हो; धेरैजसो विश्व प्राकृतिक जनसङ्ख्या घट्ने अवस्थामा छ । यो कति ठूलो कुरा हो भन्ने आत्मसात् गर्न निकै कठिन छ; यो असामान्य कुरा हो । हामीले समाजलाई पुर्नसंरचना गर्नुपर्छ ।"

जन्मदर किन घटिरहेको छ?
जन्मदरको कुरा भए पनि यसको शुक्राणुसँग कुनै सरोकार छैन । धेरै महिलाहरू शिक्षा र काममा जोडिँदा यस्तो प्रभाव देखिएको हो । परिवार नियोजनका साधनसम्म बढेको पहुँच र निर्णय प्रक्रियामा महिलाहरू सहभागी भएर उनीहरूले कम सन्तान जन्माउन चाहनुसँग यो जोडिएको छ । थुप्रै अवस्थामा घट्दो जन्मदर एउटा सफलताको कथा हो ।

उच्च प्रभावित देशहरू
जापानको जनसङ्ख्या सन् २०१७ मा सबैभन्दा उच्च १२ करोड ८० लाख पुगेकोमा त्यसपछि घट्दै शताब्दीको अन्त्यसम्म पाँच करोड ३० लाखभन्दा कम हुने अपेक्षा गरिएको छ । त्यस्तै, इटलीको जनसङ्ख्या नाटकीय रूपमा कम हुने देखिएको छ । त्यहाँ सन् २०१७ र सन् २१०० बीचमा छ करोड १० लाखबाट दुई करोड ८० लाखमा जनसङ्ख्या पुग्नेछ । आधाभन्दा बढी जनसङ्ख्या घट्ने ठानिएका देशमा स्पेन, पोर्चुगल, थाइल्याण्ड र दक्षिण कोरिया छन् ।

नेपालको हकमा हाल तीन करोड रहेको जनसङ्ख्या सन् २०४३ मा तीन करोड पैँतालीस लाख पुग्ने र त्यसपछि घट्दै गएर सन् २१०० मा पुग्दा त्यसको लगभग आधामा झर्ने प्रक्षेपण गरिएको छ । खासगरी, विश्वभरि शिक्षामा भएको प्रगति अनि महिलाहरूको सशक्तिकरणजस्ता विभिन्न कारणले कुल प्रजनन दर अर्थात् एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाको सङ्ख्या निरन्तर घटिरहेकोले यस्तो अवस्था आइपर्न लागेको सो प्रतिवेदनमा उल्लेख छ । हाल नेपालमा कुल प्रजनन दर २.२४ प्रतिशत रहेकोमा त्यो अब घट्दै जाने र सन् २१०० सम्म पुग्दा १.२० प्रतिशत पुग्ने प्रक्षेपणमा उल्लेख छ ।

नेपालको औसत उमेर बढ्दो
हालसम्म नेपाललाई एउटा युवा देशको रूपमा मानिन्छ । यहाँका अधिकांश मानिसहरू युवा उमेरका रहेको हुँदा त्यसले श्रम तथा रोजगारीमा सकारात्मक असर परिरहेको ठानिन्छ । राष्ट्रिय तथ्याङ्क विभागको आँकडा अनुसार नेपालमा अहिले औसत उमेर लगभग २५ वर्षको हाराहारीमा छ ।अहिले नेपालमा ६५ वर्षभन्दा धेरै उमेरका मानिस कुल जनसङ्ख्याको पाँच प्रतिशत हाराहारीमा मात्र छन् । हाल विश्वव्यापी फैलिएको कोरोनाभाइरसको महामारीको सन्दर्भमा पनि धेरै मानिस युवा उमेरका भएकाले त्यसको असर यहाँ कम परिरहेको कतिपयको बुझाइ छ ।योजनाविद्हरू यस्तै मौकामा देशले विकासमा फड्को मारिहाल्नुपर्ने ठान्छन् । तर, यो मौका लामो समय नरहने देखिँदै छ ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेल भन्छन्, "आयोगले केही वर्ष अगाडि गरेको अध्ययनमा के पाइयो भने अबको छ वर्षपछि नै हामीकहाँ ६५ वर्षभन्दा माथिका मानिसहरूको सङ्ख्या ७ प्रतिशत पुग्छ - त्यो भनेको बुढ्यौलीतर्फ लाग्दै गरेको मुलुक हो।" अनि अबको ३३ वर्षपछि त्यो प्रतिशत १४ पुग्छ र हामी बुढ्यौली लागेको वा वृद्ध मुलुक हुनेछौँ," उनले भने ।

त्यसको असर के?
जनसङ्ख्याविद् प्राध्यापक डा. मृगेन्द्रलाल सिंह यस्तो परिवर्तनको व्यापक नीतिगत असर पर्ने हुनाले बेलैमा सचेत हुनुपर्ने बताउँछन् । "जनसङ्ख्या यसरी घट्नु राम्रो कुरा होइन। राम्ररी सोचविचार गरेर नीति बनाउनुपर्छ," उनले भने । डा. पोखरेल पनि त्यसमा सहमत छन् । उनी थप्छन्, "हामी त विकास देख्न नपाइकनै वृद्ध हुने मुलुक बन्ने पो खतरा छ ।" उनले उदाहरण दिँदै भने, "सन् २०१५ मा औसतमा ११ जनाले काम गरेर एकजना वृद्धलाई पाल्नुपरेको थियो । सन् २०५० पुग्दा साढे पाँच जनाले काम गरेर एकजनालाई पाल्नुपर्नेछ।"

राष्ट्रिय योजना आयोगका अर्का पूर्वउपाध्यक्ष डा. शङ्कर शर्मा पनि जनसङ्ख्याको बदलिँदो स्वरूपबारे अहिले देखि नै जानकार भएर सचेत ढङ्गले योजना बनाउनुपर्ने आवश्यकता ठान्छन् ।"जनसङ्ख्याबाट हुने फाइदा अर्थात् धेरै युवा जनसङ्ख्या हुनेको फाइदा लिन अब हामीलाई २०-२५ वर्ष मात्र बाँकी छ। त्यसपछि हामीले समयानुकुल हुने गरेर थोरै मानिसबाट धेरै उत्पादन हुनसक्ने क्षेत्रमा ध्यान दिनुपर्छ।"

उनले सिङ्गापुरको उदाहरण दिँदै कसरी उक्त देशले जनसङ्ख्या कम हुने आकलन गर्दै उच्च प्रविधि तथा उच्च मूल्यका उद्योगव्यापारमा ध्यान केन्द्रित गर्‍यो भन्नेबाट नेपालले सिक्नुपर्ने बताए । अर्थात् आगामी वर्षहरूमा नेपालले पनि उत्पादकत्व बढाउने, उच्च प्रविधि अँगाल्ने तथा स्रोतसाधनको उच्चतम प्रयोगको विधि र तरिका पछ्याउने विकल्प रोज्नुपर्ने योजनाविद्हरूले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि