जेठ ०४, २०८१, शुक्रबार
               

ट्रम्पले घटाइदिए आफ्ना पूर्व सल्लाहकारको जेल सजाय

एजेन्सी
असार २७, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना एकजना पूर्व सल्लाहकार रोजर स्टोनको जेल सजायलाई घटाइदिएका छन् ।

वाशिङ्टन डीसी कोर्ट अफ अपिल्सले स्टोनको ४० महिने हिरासत सुरु हुने समय पछि सार्न अस्वीकार गरेलगत्तै ट्रम्पको यस्तो घोषणा बाहिर आएको हो ।

अमेरिकी कङ्ग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोगमा स्टोनलाई दोषी ठहर्‍याइएको छ ।

सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएर सजाय पाउने स्टोन ट्रम्पका छैटौँ सल्लाहकार हुन् ।

६७ वर्षीय स्टोनले आगामी मङ्गलबार जोर्जियाको एउटा सङ्घीय जेलमा उपस्थित हुनुपर्ने थियो ।

ह्वाइट हाउसको भनाइ

ह्वाइट हाउसले एउटा वक्तव्यमा भनेको छ, 'रोजर स्टोन रुसी छलकपटको सिकार भएका पीडित हुन्। ट्रम्पको राष्ट्रपतीय कार्यकाललाई कमजोर पार्न वर्षौँदेखि वामपन्थी र त्यसका सहयोगी सञ्चारमाध्यमहरूले निरन्तरको मुद्दा बनाए ।'

ह्वाइट हाउसले राष्ट्रपति निर्वाचनमा रुसको संलग्नताबारे छानबिन गर्ने मुख्य छानबिनकर्ता रोबर्ट मुलर मातहतका अभियोजनकर्ताहरूले ट्रम्पको चुनावी अभियानमा रुसको संलग्नता पुष्टि गर्न नसकेपछि त्यसको निराशा स्टोनमाथि पोखेको बताएको छ ।

ह्वाइट हाउसले स्टोन पहिले नै धेरै पीडित भइसकेको पनि जनाएको छ ।

ह्वाइट हाउसले भनेको छ, 'उनलाई एकदमै गलत ढङ्गले व्यवहार गरियो। यो मुद्दामा अरु धेरैलाई पनि त्यस्तै गरियो। रोजर स्टोन अब एक स्वतन्त्र व्यक्ति हुन्।'

स्टोनले एपीलाई जनाए अनुसार सजाय कम गर्नेबारे ट्रम्पले उनलाई शुक्रवार फोन गरेका थिए। उनले उक्त निर्णयको खुसीयाली मनइरहेको बताए।

तर अमेरिकी कङ्ग्रेसको तल्लो सदनको गुप्तचर समितिका अध्यक्षले चाहिँ ट्रम्पको उक्त निर्णयले अमेरिकामा दुईखाले न्यायप्रणाली रहेको 'एउटा उनका अपराधी साथीहरूका लागि र अर्को सबैका लागि' भन्ने स्पष्ट पारेको भन्दै आलोचना गरेका छन्।

विपक्षी डेमोक्र्याटिक पार्टिका नेताहरूले पनि ट्रम्पको उक्त कदमको आलोचना गरेका छन्।

को हुन् रोजर स्टोन ?

स्टोनले सन् १९७०देखि रिपब्बलिकनहरूसँग काम गर्दै आएका छन्। उनले आफ्नो पिठ्यूँमा रिचर्ड निक्सनको ट्याटू खोपेका छन्।

सन् १९९० को दशकमा उनले ट्रम्पको क्यासिनो व्यवसायका लागि लबीकर्ताको रूपमा काम गरेका थिए र सन् २००० मा ट्रम्पको असफल ह्वाइट हाउस दौडमा सघाएका थिए।

नेटफ्लिक्स डक्युमेन्ट्री 'गेट मी रोजर स्टोन'का अनुसार यी रणनीतिकारले ट्रम्पलाई पुन: राष्ट्रपतीय दौडमा फर्कन प्रोत्साहन गरेका थिए।


कस्तो लाग्यो ?

यो पनि