जेठ ०८, २०८१, मंगलबार
               

यात्राका लागि इयूले स्वीकृति दिएको १४ सुरक्षित देश

एजेन्सी
असार १६, २०७७

ADVERTISEMENT

युरोपियन युनियन भित्रका देशमा कोरोना भाइरसको महामारीका कारण लागेको विदेशी यात्रु (इयू बाहेकका देश) माथिको प्रतिबन्ध जुलाई १ देखि फुकुवा हुँदैछ ।

इयुले यात्राका लागि स्वीकृति पाउने १४ सुरक्षित देशको सूची सार्वजनिक गरेको छ । महामारी विश्वका विभिन्न क्षेत्रमा अहिले पनि तीव्र गतिमा फैलिरहेको छ । युरोपमै पनि अवस्था नियन्त्रणमा आइसकेको छैन, तर संक्रमण नियन्त्रणमा आउने क्रममा भने देखिएको छ ।

इयूले यात्राका लागि सुरक्षित भनि तय गरेका १४ देशको सूचीमा महामारीबाट सबैभन्दा बढी प्रभावित भएका अमेरिका, ब्राजिल र महामारीको उद्गमथलो चीन भने छैनन् ।

१४ देशको सूचीमा अस्ट्रेलिया, क्यानडा, जापान, मोरक्को र दक्षिण कोरिया भने अटाएका छन्।

इयूका अधिकारीहरुले जुलाईमा यात्रा खुला गर्दा भ्रमणका लागि स्वीकृति दिइने सुरक्षित देशहरुको अन्तिम सूची सोमबारको बैठकबाट तय गरेका हुन् ।

यात्राको स्वीकृति पाउने देशको सूचिमा चीनलाई पनि राख्न इयू तयार थियो, तर त्यसका लागि युरोपेली यात्रुलाई पनि चीन भ्रमणको स्वीकृति दिइनु पर्ने शर्तमा चीन सहमत भएन । सोही कारण चीन १४ देशको सूचीमा अटाएन ।

इयु भित्रका यात्रुका लागि यसअघि नै सीमा खुला गरिएको थियो । बेलायतका नागरिकलाई पनि आउँदो डिसेम्बर ३१ सम्म इयूका नागरिकसरह व्यवहार हुने छ ।

युरोप भ्रमणका लागि सुरक्षित देशको सूचीमा अल्जेरिया, अस्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मन्टेनेग्रो, मोरक्को, न्यूजिल्याण्ड, रुवाण्डा, सर्बिया, दक्षिण कोरिया, थाइल्याण्ड, ट्युनिसिया र उरुग्वे रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि