जेठ ०८, २०८१, मंगलबार
               

चीनले सीमाका सैनिकलाई प्रशिक्षण दिन मार्सल आर्टका प्रशिक्षक पठायो

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

चीनले तिब्बती पठारमा आफ्ना सैनिकलाई तालिम दिनका लागि मार्सल आर्टका २० प्रशिक्षकलाई पठाएको छ । सैनिकलाई मार्सल आर्टको तालिम दिनका लागि प्रशिक्षक पठाउनुको आधिकारिक कारण भने चीनले खुलाएको छैन । तर, भारतीय सैनिकसँग भएको भिडन्तपछि चीनले लिएको यो निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सो भिडन्तमा भारतीय सैनिकका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएको थियो । चीनतर्फ पनि हताहती भएको अनुमान गरिएको छ, तर चीनले अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी दिएको छैन ।

सन् १९९६ मा भएको सम्झौताअनुसार एलएसी क्षेत्रमा सुरक्षाका लागि खटिने दुवै तर्फका सैनिकले बन्दुक वा बिस्फोटक पदार्थ बोक्न पाउँदैनन् । तर, भारतले हालकै भिडन्तपछि अवस्था हेरेर हतियार प्रयोग गर्न पाउने गरी सेनालाई निर्देशन दिएको छ ।

आर्मीलाई तालिम दिन मार्सल आर्टका प्रशिक्षक पठाइने सम्बन्धी खबर चीनको आधिकारिक सञ्चारमाध्यमले जुन २० मा प्रकाशित गरेको हङकङका सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको सरकारी टेलिभिजन सिसिटिभीका अनुसार इनबो फाइट क्लबका २० प्रशिक्षकहरु तिब्बतको राजधानी ल्हासामा बस्ने बसेको जनाइएको छ । तर, चिनियाँ सञ्चारमाध्यमले ती प्रशिक्षकले भारतसँगको सीमामा रहेका सैनिकलाई प्रशिक्षण दिएको वा दिइरहेको भन्ने कुरा पुष्टि गरेका छैनन् ।

परमाणु हतियारयुक्त भारत र चीनले हालै भएको सीमा भिडन्तका लागि एकअर्कामाथि दोष लगाउँदै आएका छन् ।

४५ वर्षपछि भारत–चीन सीमामा सैनिकको ज्यान जाने गरी भएको भिडन्तपछि उत्कर्षमा पुगेको तनाव सैन्य तथा कूटनीतिक वार्ता मार्फत समाधान गर्नका लागि तत्पर रहेको दुवै पक्षले बताउँदै आएका छन् । त्यसका लागि वार्ताहरु पनि भइरहेका छन् । तर, आरोप–प्रत्यारोपको शृङ्खला भने जारी छ ।


कस्तो लाग्यो ?

यो पनि