जेठ ०५, २०८१, शनिबार
               

ओबामा बाइडेनको पक्षमा खुले, ट्रम्पको नामै लिएनन्

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार बाइडेनको समर्थनमा पूर्वराष्ट्रपति बाराक ओबामा पछिल्लो केही महिनादेखि खुलेर लागि परेका छन् ।

पार्टीभित्रबाट उम्मेदवार चयन प्रक्रियाभर सार्वजनिक रुपमा केही नबोलेका ओबामाले उम्मेदवारीको होडमा बाइडेन मात्रै बाँकी रहेपछि अप्रिलमा बाइडेनलाई समर्थन गर्ने घोषणा गरे ।

त्यसयता, ओबामाले लगातार बाइडेनको पक्षमा चुनावी अभियान गरिरहेका छन् । ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलेर आलोचना गर्दै अमेरिकालाई सही मार्गका ल्याउनका लागि आउँदो चुनावमा बाइडेनलाई जिताउनुको विकल्प नरहेको बताउने गरेका छन् ।

बाइडेनले आफूलाई ओबामा–बाइडेन शासनकालको ‘उत्तराधिकारी’ का रुपमा बारम्बार प्रस्तुत गर्ने गरेका छन् । सन् २००८ देखि २०१६ सम्म ओबामा राष्ट्रपति रहँदा बाइडेन उपराष्ट्रपति थिए ।

ओबामाले बाइडेनलाई ‘इन्डोर्स’ गरे पनि सँगै कुनै पनि कार्यक्रममा सहभागी भएका थिएनन् । तर, मंगलबार सो कमी पनि पूरा भएको छ । बाइडेनको चुनावी अभियानका लागि सहयोग जुटाउनका लागि भएको ‘भर्च्युअल फण्ड रेजर’ मा ओबामा र बाइडेन मंगलबार संयुक्त रुपमा सहभागी भए ।

सो अभियानबाट बाइडेनको अभियानका लागि एक लाख ७५ हजार मानिसबाट ७६ लाख अमेरिकी डलर संकलन भएको छ । यस्तै, ठूला दाताहरुबाट थप ३४ लाख अमेरिकी डलर संकलन भएको बाइडेनको चुनावी अभियानलाई उद्धृत गर्दै द वासिङ्गटन पोस्टले जनाएको छ ।

सहयोग संकलनका लागि भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओबामाले भने, ‘तपाईँहरु सबैले सोही अत्यावश्यकता महसुस गर्नुभएको छ जुन मैले गरिरहेको छु । म यहाँ यो भन्नका लागि आएको छु कि सहयोग आउने क्रममा छ ।’ उनले यसो भनेर डोनाल्ड ट्रम्पको विकल्पको कुरा गरेका हुन् ।

ट्रम्पको नाम उल्लेख नगरी ओबामाले आक्रामक आलोचना गर्दै भने, ‘पछिल्लो केही वर्षमा ह्वाइट हाउसले तथ्य तथा विज्ञानको कुनै अर्थ नरहेको भन्नेतर्फ आफूलाई बढाएको देखिरहेका छौँ । त्यसले हजारौँको ज्यान लिएको रोगलाई फेक न्युज बनाइदिएको छ ।

न्याय विभाग राष्ट्रपतिको मात्रै ख्याल गर्ने हतियार सुसज्जितहरुको समूह मात्रै बनेको छ । त्यसले लगातार विभाजनलाई बढावा दिएको छ । र देशका केही मानिसलाई अरुभन्दा वास्तविक अमेरिकी ठानिएको छ ।’

ओबामाले यसो भनेर कोरोना भाइरसविरुद्ध ट्रम्प प्रशासनको कमजोर प्रदर्शन, रंगभेद तथा बिथोलिएको न्याय व्यवस्थामाथि आक्रोश पोखे ।ओबामाले सबैलाई अहिले गरिरहेभन्दा प्रयास अधिक गर्न र चुनावलाई गम्भीर रुपमा लिन आग्रह गरे ।

उनले जो बाइडेनको प्रशंसा गर्दै उनको जीवनले सामान्य अमेरिकी जीवनलाई बुझ्न आफूलाई सहयोग गरेको र उनले सामान्य अमेरिकीका समस्यालाई आफ्नो गरी बुझ्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि