बैशाख २३, २०८१, आइतबार
               

शक्तिशाली बन्दै बहिनी किम, 'क्रूर' शासकका रूपमा उदाउँदै

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

अमेरिकी उपराष्ट्रपति माइक पेन्स सन् २०१८ मा दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक्सको उद्घाटन समारोहमा सहभागी हुँदा उनलाई हेरेर मुस्कुराइ रहेकी एक युवतीलाई नदेखे झैँ गरे । पेन्सभन्दा केही फिट पर बसेकी ती युवतीले उत्तर कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गरेकी थिइन् ।

‘म तानाशाहकी बहिनीलाई बेवास्ता नै गर्न सक्दिन तर, नजरअन्दाज त गर्न सक्छु नि,’ उत्तरी कोरियाका सर्वशक्तिमान् नेता किम जोङ उनकी बहिनी किम यो जोङका बारेमा त्यस बेला पेन्सले भनेका थिए, ‘कुनै मञ्चमा त्यो परिवारका सदस्यप्रति ध्यान दिनु अमेरिकाका लागि राम्रो हुन्छ जस्तो मलाई लागेन ।’

ती दिनमा अरूले पनि किम यो जोङलाई बेवास्ता नै गर्थे । त्यसको विपरीत, अमेरिकी गुप्तचर तथा उत्तर कोरियालाई नजिकबाट बुझ्न खोज्नेहरू भने उनका विषयमा ज्यादै नै उत्सुक बन्दै गइरहेका थिए । उनका बारेमा थप जानकारी हात पार्न चाहन्थे । ट्रम्प प्रशासनसँग उत्तर कोरियाको कूटनीतिक सम्बन्ध बिग्रँदै जाँदा किम यो जोङ भने राजनीतिकरुपमा बलियो बन्दै गइरहेकी थिइन् । उत्तर कोरियाका अधिकांश निर्णयमा उनको सल्लाह लिन थालिएको थियो ।

३२ वर्षिया किम पछिल्ला केही दिनमा उत्तर कोरियाली शासनमा ‘क्रूर सिपाही’ का रूपमा उदाउँदै गएकी छन् । किनकि दक्षिण कोरियासँग दुरी कायम गर्ने तथा दुई मुलुकको सीमामा रहेको उत्तर–दक्षिण सम्पर्क कार्यालय बन्द गराउन उनकै हात रहेको बताइन्छ ।

उनको दाइको निधन भएको खण्डमा भने उनकै हातमा सो मुलुकको शासनको बागडोर जाने दाबी गरिन थालिएको छ । त्यसका लागि उनी काबिल रहेको बताइन्छ । तर, अहिले भने उनलाई धेरैले किम जोङ उनका आधिकारिक प्रवक्ताकै रूपमा चिन्ने गर्छन् ।

३६ वर्षीय उत्तरी कोरियाली शासक किम जोङ उन स्वास्थ्यका कारण गत अप्रिल महिनादेखि सार्वजनिक रूपमा देखा पर्न छाड्नु तथा उनी मरिसकेको हल्ला सुरु भएसँगै किम यो जोङले सो मुलुकका बारेमा धेरै निर्णय गरेकी छन् । विश्व कै सबैभन्दा गोप्य मुलुकका विषयमा आएका सबै समाचारहरू पत्याउन कठिन छन् । त्यही कारण उनी पनि सो मुलुकको मर्यादाक्रममा कहाँ छिन् भनेर किटानी गर्ने अवस्था पनि छैन ।

उनको दाइको निधन भएको खण्डमा भने उनकै हातमा सो मुलुकको शासनको बागडोर जाने दाबी गरिन थालिएको छ । त्यसका लागि उनी काबिल रहेको बताइन्छ । तर, अहिले भने उनलाई धेरैले किम जोङ उनका आधिकारिक प्रवक्ताकै रूपमा चिन्ने गर्छन् । पुरुषवादी कन्फुसियस संस्कृति मान्ने सो मुलुकमा राजनीतिमा महिलाको उपस्थितिलाई बन्देज झैँ गरिए पनि उनकै सल्लाहमा पछिल्ला समय निकै महत्त्वपूर्ण कामहरू गरिएका छन् ।

‘के रगतको सम्बन्धले नै सबै विषय निर्धारण गर्छ ? परम्पराको उपेक्षा पनि ? मलाई लाग्छ, यही हुन्छ,’ उत्तर कोरियाका सम्बन्धमा सिआइएकी पूर्व वरिष्ठ विज्ञ तथा हाल सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजकी विज्ञ सुइ मी भन्छिन्, ‘अब यो विषय छर्लङ्ग हुँदै छ कि उनको सार्वजनिक ओहदा पनि शक्तिशाली बन्दै छ ।’

जर्ज डब्ल्यु बुसका उत्तर कोरिया सम्बन्धी वरिष्ठ सल्लाहकार भिक्टर चा भन्छन्,‘विगतलाई हेरेर अहिलेको तुलना गर्ने हो भने पार्टीमा पनि उनको तह बढ्दै छ तथा उनको नाम इज्जतका साथ लिन थालिएको छ, यो जोङ वास्तव मै शक्तिशाली बनेकी छन् । उनको दाइ पछि दोस्रो नम्बरमा ।’

सिआइएमा वरिष्ठ अधिकारी तथा नेसलन इन्टिलेजेन्सको डाइरेक्टरको कार्यालयमा समेत संलग्न रहिसकेका ब्रुकलिन इन्स्टिच्युटका जुन पार्कका अनुसार सारा मुलुक नै अहिले उनको सैन्य ओहदालाई पाखा लगाउँदै छ । त्योसँगै सेना सञ्चालन गर्नेसम्मको शक्तिशाली व्यक्तित्वका रूपमा अगाडि ल्याउने कोसिस भइरहेको छ । किम जोङ उन सत्तामा आउनुभन्दा अगाडि पनि उनको व्यक्तित्वलाई यसरी नै लोकप्रिय बनाइएको थियो ।

‘त्यो व्यवस्थामा धेरै कुरा अनुमानभन्दा बाहिरका हुने गर्छन्,’ पाक भन्छन्, ‘तर, दक्षिण कोरियासँगको मामिलामा उनको कुरा नै बढी हाबी हुने गरेको छ ।’

ताजा उदाहरणका रूपमा गत साता मात्र दुई मुलुकबिच शान्तिको बहालीको प्रस्ताव गर्ने दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनलाई यो जोङले ‘मानसिक रोगी’ को संज्ञा दिएकी थिइन् । ‘उ बाहिरबाट हेर्दा सामान्य मानिस हो तर, वास्तवमा उ पागल हो,’ उनले भनेकी थिइन्, ‘त्यसैले अब हामीले शब्दहरूको बम तयार पार्नुपर्छ भन्ने पक्षमा छु, जुन हाम्रा सारा जनताको कानमा गुन्जिनु पर्छ ।’

अहिलेसम्म पनि मानिसहरूलाई उनका बारेमा धेरै जानकारी छैन । विज्ञहरूका अनुसार किम यो जोङ विवाहित हुन् तर कोसँग बिहे गरेकी हुन् भन्ने कसैलाई थाहा छैन । केही व्यक्तिका अनुसार उत्तर कोरियाका वरिष्ठ अधिकारीका छोरा जोइ सुङसँग भएको छ त, त्यो कुरा पनि यकिन साथ भन्न कसैले सक्दैन । एक दशकदेखि विभिन्न भेलामा यो जोङसँग भेट गरिरहने स्टिम्सन केन्द्रमा उनका सहपाठी माइकल म्याडन यो जोङ बच्चाकी आमा समेत रहेको विश्वास गर्छन् ।
म्याडनका अनुसार उनी पनि दाजु पढेकै स्विट्जल्यान्डको प्राथमिक विद्यालयमा पढेकी हुन्, त्यसपछि उनले सन् २००८ वा २००९ मा किम इल सुङ विश्वविद्यालयमा अध्ययन गरेकी थिइन् ।

‘म उनका सहपाठीहरूसँग निकै कुरा गर्छु तथा उनीहरू माझ यो जोङ निकै लोकप्रिय पनि थिइन्,’ उनले भने, ‘सहपाठी र शिक्षकहरूलाई उनी को हुन् भन्ने थाहा थियो तर, उनीसँग फरक व्यवहार नगर्न कडा निर्देशन पनि थियो ।’
सन् २००२ मा रुसको भ्रमणमा रहेको बेला उनका पिता किम जोङ द्वितीयले समेत आफ्नी कान्छी छोरीलाई राजनीतिमा चाख रहेको तथा उनले राजनीतिमा जीवन समर्पण गर्ने चाहना देखाएकी बताएका थिए । साथै उनले आफ्नी छोरी एक दिन सफल राजनीतिज्ञ बन्ने ठोकुवासमेत गरेका थिए ।

विश्लेषकहरूको बुझाइमा उनले आफू र दाइको सार्वजनिक छवि निर्माणमा सहयोगीका रूपमा निकै समय काम पनि गरिन् । सन् २०१८ को प्योङचाङ गृष्मकालीन ओलम्पिक्सबाट उनले अन्तर्राष्ट्रिय मञ्चमा पर्दापण गरेर राजनीतिमा आफ्नो चाख सार्वजनिक गरेकी थिइन् ।

अहिले उनको शैली बदलिएको छ । पहिले उनी विदेशी मुलुकलाई उत्तेजित पार्ने कार्यभन्दा पनि आफ्नो दाइको छविलाई उच्च बनाउने कार्यमा नै तल्लीन थिइन् ।

सन् १९५३ मा कोरियाली युद्धको समाप्ति यता दक्षिण कोरियाको भ्रमण गर्ने कुनै पनि उत्तर कोरियाली शासकका परिवारको उनी पहिलो सदस्य समेत बनेकी थिइन् । साथै दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनलाई उत्तर कोरिया भ्रमणको निमन्त्रणा दिएर उनले विश्वको ध्यान आफूतिर तानेकी पनि थिइन् ।

२०१० देखि २०१७ सम्म उत्तर कोरियासम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका वरिष्ठ सल्लाहकारका रूपमा कार्यरत युएस इन्स्टिच्युट फर पिसका फ्रान्क अमका अनुसार त्यो कार्य उनको छविलाई उच्च बनाउँदै लैजाने योजनाअन्तर्गत नै गरिएको थियो ।

साथै यो जोङले आफ्ना दाजु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भएका दुई वटै शिखर वार्तामा सहभागिता समेत जनाएकी थिइन् । गत साता मात्र पहिलो शिखर वार्ताको दोस्रो वार्षिकोत्सव मनाउने क्रममा दक्षिण कोरियाली कार्यकर्ताले फूलका गुच्छा, बाइबलका किताबलाई हट एअर बेलुनमा राखेर उत्तर कोरियातर्फ उडाएपछि उनी निकै आक्रामक बनेकी थिइन् ।

‘त्यस्ता मनुष्यहरूले आफू र हामीबिचको सीमालाई निकै मूल्यवान् ठानेका छन् तर, आणविक मुद्दा अगाडि आउँदा हाम्रो सर्वोच्च नेतालाई हेप्ने शैलीमा बोलिन्छ,’ यो जोङले भनेकी थिइन् । सिंगापुरमा किम जोङ उनले ट्रम्पलाई भेटेको २ वर्ष पुगेका दिन गत १२ जुनमा उत्तर कोरियाले अमेरिका र उसका नजिकमा मित्रसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको सार्वजनिक गर्दै सन् २०१८ को त्यो घटना ‘डरलाग्दो सपना झैँ हराउँदै जाने’ बताएको थियो । त्यसकै भोलिपल्ट दक्षिण र उत्तर कोरियाले सुंयुक्तरुपमा गठन गरेको सम्पर्क कार्यालयलाई शक्तिशाली बम पड्काएर विस्फोट गरिएको थियो ।

‘मलाई लाग्छ, पछिल्ला घटनाहरूले किम यो जोङ कति शक्तिशाली बनिसकैकी छन् भन्ने प्रस्ट पार्छ तथा उत्तर कोरियामा अब को–को शक्तिशाली छन् भने भन्न कठिन हुने छैन,’ विल्सन सेन्टरका सामाजिक नीतिका विज्ञ तथा सिउलमा एकिकृत मन्त्रालयका पूर्व उपप्रवक्ता सोझिन पार्क भन्छन् ।

अहिले उनको शैली बदलिएको छ । पहिले उनी विदेशी मुलुकलाई उत्तेजित पार्ने कार्यभन्दा पनि आफ्नो दाइको छविलाई उच्च बनाउने कार्यमा नै तल्लीन थिइन् । ‘अब उनी उत्तेजित भएर बोल्न थालेकी छन् तथा दक्षिण कोरियाका विषयमा उनले बोलेका कुरालाई त्यो मुलुकको आधिकारिक कुरा मान्नु पर्छ, जुन पूर्णरुपमा निर्देशित भएर तयार पारिएको हुन्छ,’ पार्क भन्छन् ।

उत्तर कोरियाली सैन्य कारवाहीलाई निर्देशित गर्न सक्ने उनको क्षमताले यो जोङ उत्तर कोरियाली जनता तथा शासनमा कति बलियो पकड राख्छिन् भन्ने प्रस्ट भइसकेको छ ।

उत्तर कोरियामा किम यो जोङको उदयसँग उनलाई त्यो मुलुकको भावी शासकका रूपमा हेरिन थालिएको छ । उनका दाइको निधनको हल्ला र उनका काम कारबाहीले यो मतलाई झनै बलियो पनि बनाइरहेको छ ।

एनबिसी न्युजबाट

यो पनि