भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अव लकडाउन नलम्बिने भएको छ ।
दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानीमा फेरि लकडाउन लागु पर्ने पक्ष र योजनामा आफू नरहेको सोमबार बताएका हुन् ।
“आम नागरिकलाई लकडाउनले मर्कामा पारेको छ, दिल्लीमा फेरि लकडाउन लम्याउने मेरो योजना छैन,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
यसअघि केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा बसेको सर्वदलिय बैठकमा पनि यही बारेमा छलफल भएको थियो । केन्द्रीय राजधानी समेत रहेकाले केन्द्रीय सरकारले समेत चासो राखेर छलफल गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
बैठकमा मुख्यमन्त्री केजरीवालको पार्टी आम आद्मी पार्टी (आप)का सांसद संजय सिंह पनि सहभागी भएका थिए । बैठकमा विरामीहरूका लागि शैया संख्या बढाउने बारेमा पनि छलफल भएको थियो ।
भारतीय जनता पार्टी (भाजपा), भारतीय राष्ट्रिय काँग्रेस, आम आद्मी पार्टीका प्रतिनिधि र सरकारी उच्च अधिकारीहरु पनि बैठकमा सहभागी भएका थिए । बैठकमा लकडाउनलाई लम्याउने कि नलम्याउने, फैलिँदै गरेको कोरोनाभाइरसको सङ्क्रमणलाई कसरी न्युनिकरण गर्ने, अभाव वा समस्याहरु के के छन्लगायतका विषयमा पनि छलफल भएको थियो ।