मंसिर ०७, २०८१, शुक्रबार
               

अमेरिकामा थप एक अश्वेतको मृत्यु, प्रहरी प्रमुखले दिए राजीनामा

एजेन्सी
जेठ ३२, २०७७

ADVERTISEMENT

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एटलान्टा शहरमा एक गोरा प्रहरीले अश्वेत नागरिकलाई पक्राउ गर्नेक्रममा गोली चलाउँदा एक जनाको मृत्यु भएपछि नगर प्रहरी प्रमुखले राजीनामा दिएका छन् । 

प्रहरीको क्रुर एवं जातीय दूव्र्यवहारका कारण अमेरिकाभर विरोध भइरहेको अवस्थामा पुनः नयाँ घटना सार्वजनिक भएको छ ।

स्थानीय संचार माध्यमका अनुसार राजमार्ग अवरोध गरेर प्रदर्शन गरिरहेकै अवस्थामा एउटा रेस्टुराँको बाटो छेक्न पुगेका २७ वर्षीय रेसार्ड ब्रुक्सको शनिबार प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

उक्त घटना लगत्तै एटलान्टाका मेयर केशा लान्स बटम्सले स्थानीय प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिएको घोषणा गरेका थिए । 

मृत्यु भएका ब्रुक्सले स्थानीय वेन्डी नामको रेस्टुराँमा आउने मानिसको बाटो कारले छेकेर अवरोध गरेको उजूरी गरेपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । 

प्रहरीसँग घम्साघम्सी भएपछि भाग्न खोजेका ब्रुक्समाथि प्रहरीले गोली चलाएको थियो । उनलाई उपचारका लागि तत्कालै अस्पताल भर्ना गरिए पनि उनको मृत्यु भएको थियो । 

उक्त घटनामा संलग्न प्रहरी अधिकारी ग्यारेट रोल्फलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ । 

प्रहरीको नियन्त्रणमा रहेका अफ्रिकी–अमेरिकी मुलका जर्ज फ्लोएडको गत मे २५ मा मृत्यु भएपछि अमेरिकाभर जातीय विभेदको अन्त्यको माग गर्दै देशव्यापी विरोध प्रदर्शन जारी छ । 

अमेरिकी शहरहरुका साथै बेलायतको लन्डन, फ्रान्सको पेरिस, क्यानाडाका शहरहरुमा समेत विरोध प्रदर्शनहरु भइरहेका छन् । 

बेलायतमा प्रदर्शनमा सहभागी एक हजारभन्दा बढी पक्राउ परेको स्थानीय प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि