जेठ ०५, २०८१, शनिबार
               

मकाउ क्यासिनोका बादशाहको निधन, जो १७ छोराछोरीका बुबा थिए

एजेन्सी
जेठ १३, २०७७

ADVERTISEMENT

हङकङ । चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा निधन भएको छ । उनी ९८ वर्षका थिए ।

यी अर्बपति क्यासिनो लगानीकर्ता स्टान्लेको मकाउका क्यासिनोमा झण्डै चार दशक एकछत्र साम्राज्य थियो । 

उनले मकाउलाई क्यासिनोमा एसियाकै उत्कृष्ट गन्तव्य बनाउन प्रमुख भूमिका निर्वाह गरेका थिए ।

उनी पूर्व पोर्चुगाली उपनिवेश मकाउकै सर्वाधिक धनी व्यक्ति थिए । उनको चीन र हङकङमा समेत ठूलै प्रभाव थियो, तर अमेरिकी अधिकारीहरुका अनुसार स्टान्लेको सम्बन्ध र सम्पर्क संगठित अपराधी समूहसँग पनि रहेको थियो ।

अग्ला, निकै आकर्षक र चिनियाँ तथा युरोपेली शैली सम्मिश्रण भएका स्टान्लेका चार जना पत्नीबाट १७ जना छोराछोरी जन्मेका थिए । 

तर स्टान्ले आफैंले भने क्यासिनो नखेलेको विश्वास गरिन्छ । 

एसोसिएटेड प्रेसले सन् २००१ मा लिएको अन्तर्वार्तामा स्टान्लेले भनेका थिए, “म जुवा खेल्दिनँ । मलाई त्यति धैर्य नै हुँदैन । यस्ता खेलबाट पैसा कमाउने आशा पनि गर्नु हुँदैन । यो घरभित्र खेलिने खेल हो, र यो घरभित्रै सीमित हुन्छ ।”

स्टान्लेले क्यासिनोजस्ता मनोरञ्जन उद्योगदेखि हेलिकप्टर सेवा, होटल, डिपार्टमेन्ट स्टोर, मकाउको विमानस्थल र घोडादौड कोर्समा लगानी गरेका थिए ।

उनको सन् २००९ मा मस्तिष्कको शल्यक्रिया गरिएको थियो, र त्यसपछिका दिनहरुमा उनी अक्सर ह्वीलचेयरमा सार्वजनिक समारोहमा देखिने गर्दथे । 

पछिल्ला दिनहरुमा उनी आफ्ना सन्तानलाई सम्पत्तिको बाँडफाँडका विषयमा तनाबमा थिए । 


कस्तो लाग्यो ?

यो पनि