जेठ ०७, २०८१, सोमबार
               

मनमोहन सिंह अस्पताल भर्ना

एजेन्सी
बैशाख २९, २०७७

ADVERTISEMENT

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । 

स्वास्थ्यमा असहजता महसुस भएपछि ८७ वर्षीय उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा भर्ना गरिएको बताइएको छ ।

छाती दुखेर असहज महसुस भएपछि उनलाई भर्ना गरिएको अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई ऐम्स अस्पतालको मुटुरोगसम्बन्धी समस्या देखिएकोले उक्त अस्पतालको मुटु रोग विभागमा राखेर उपचार सुरु गरिएको छ ।

पूर्वप्रधानमन्त्री सिंहको प्रारम्भिक जाँचका क्रममा स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । 

पूर्वप्रधानमन्त्री सिंहको शारीरिक अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यसअघि पनि डा. सिंहको मुटुको वाइपास सर्जरी गरिएको थियो । सन् २००९ मा उनको मुटुको वाइपास सर्जरी भएको सो अस्पतालले जानकारी दिएको छ ।

यसपटक छाती दुखेपछि उनलाई आइतबार राति अस्पताल ल्याइएको र अहिले स्वास्थ्य अवस्था सामान्य नै रहेको सो अस्पतालले सोमबार बिहान प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

भारतका एकजना प्रख्यात अर्थशास्त्री मानिनुहुने डा. सिंह हाल राजस्थानबाट भारतीय संसदको माथिल्लो सदनका लागि सांसद हुन् । उनले सन् २००४ देखि सन् २०१४ सम्म लगातार दुई पटकसम्म भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

यसैबीच उनको स्वास्थ्यसम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले चासो व्यक्त गरेका छन् । उनले पूर्वप्रधानमन्त्री डा. सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि