एजेन्सी । सात वर्ष तीन महिना चार दिनपछि त्यो बिहान (घाम) झुल्कियो । जुन बिहान देखेर निर्भया साँच्चिकै मुस्कुराइन् । शुक्रबार बिहान निर्भया बलात्कार तथा हत्याकाण्डका चार जना दोषीलाई अपराधको सजाय फाँसी दिइयो ।
सन् २०१२ डिसेम्बर १६ । भारतको राजधानी नयाँ दिल्लीको सडकमा राति गुडिरहेको बसभित्र निर्भयामाथि ठूलो बज्रपात भयो ।
६ जना व्यक्तिले निर्भयाको सामूहिक बलात्कार गरे ।
यी ६ व्यक्तिमध्ये राम सिहंकले जेलभित्रै आत्महत्या गरे, उनी बस चालक थिए । एक नाबालिक थिए जसले तीन वर्षको जेल सजाय काटेर २०१५ डिसेम्बर २० मा रिहा भइसके ।
बाँकी चार जना मुकेश सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षय ठाकुरले अपराधको सजाय सात वर्ष ३ महिना चार दिनपछि पाए ।
चारै दोषीलाई तिहाड जेल नम्बर–३ मा मार्च २० को बिहान साढे ५ बजे फासीमा झुण्ड्याइयो ।
फाँसी दिनका लागि जल्लाद पवन १७ तारिखमै तिहाड जेल पुगिसकेका थिए ।
फाँसी अघि...
१. दोषीलाई शुक्रबार बिहान साढे पाँच बजे फाँसी दिनु तीन घण्टाअघि दोषीलाई (जेलभित्र सुतिरहेको स्थानबाट) उठाइयो ।
२. उनीहरुलाई नुहाउन लगाइयो । उनीहरुलाई सफा र नयाँ लुगा लगाउन दिइयो । विनयले भने नयाँ लुगा लगाउन मानेनन् ।
३. उनीहरुलाई केही खाने कुरा खान दिइयो । तर, कसैले पनि केही खाएनन् ।
४. फाँसीको एक घण्टाअघि जेल सुपरिन्टेन्डेन्ट, मेडिकल अफिसर र डिस्ट्रिक्स मजिस्ट्रेटले दोषीसँग भेट गरे ।
५. डेप्युटी सुपरिटेन्डेन्टले दोषीलाई जेल नम्बर–३ मा पुर्याए ।
६. दोषीहरुलाई डेथ वारेन्ट पढेर सुनाइयो ।
७. दोषीलाई पासोको मुनी उभ्याइयो । जल्लाद आए । दोषीको खुट्टा कसेर बाँधे । जल्लादले नै उनीहरुको गर्धनमा पासो हालिदिए ।
८. सुपरिटेन्डेन्टले इशारा दिएपछि जल्लादले लिभर ताने । चारै दोषी फाँसीमा झुण्डिए ।
९. स्वास्थ्य अधिकारी (चिकित्सक) ले दोषीको मृत्यु भएको पुष्टि गरे र शव निकालियो ।
क-कसले देखे ?
जेल सुपरिटेन्डेन्ट, डेप्युटी सुपरिटेन्डेन्ट, मेडिकल अफिसर । उनीबाहेक डिएम र एडिएम पनि त्यहाँ बसे जसले वारेन्टमा हस्ताक्षर गरे । उनीहरुबाहेक कन्स्टेबल, हेड कन्स्टेबल वा वार्डन पनि त्यहाँ थिए ।
जबसम्म यी दोषीको मृत्युदण्डको प्रक्रिया पूरा भएन तबसम्म जेलका अन्य कैदी आ–आफ्ना सेलभित्रै बन्द रहे ।