जेठ ०६, २०८१, आइतबार
               

अमेरिका निर्वाचन: पहिलो समलिङ्गी राष्ट्रपति बन्न चाहेका नेताको यस्तो निर्णय

एजेन्सी
फागुन १९, २०७६

ADVERTISEMENT

बिबिसी । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका इन्डीयाना राज्यका भूतपूर्व मेयर पिट बूट्‍एज्एजले आफ्नो अभियान परित्याग गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रमुख राजनीतिक दलबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्न खोज्ने उनी प्रथम समलिङ्गी भएको बताइन्छ।

डेमोक्र्याटिक पार्टीका ती ३८ वर्षीय नेताले आफ्नो निर्वाचन अभियान सुरु गरेका थिए। तर केही सातायता त्यसले गति गुमाएको थियो।

उनी खुला रूपमा पुरुष समलिङ्गी भनेर चिनिएका व्यक्ति हुन्।

डेमोक्र्याटिक पार्टीभित्र राष्ट्रपतिको उम्मेदवार छान्न मतदान हुनुभन्दा दुई दिनअघि बूट्‍एज्एज प्रतिस्पर्धाबाट अलग्गिएका हुन्।

प्रारम्भिक निर्वाचन

मङ्गलवार त्यहाँका १४ वटा राज्यमा उक्त पार्टीबाट राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने छिनोफानो गर्न प्राईमरी अर्थात् प्रारम्भिक निर्वाचन हुँदैछ।

यो मतदानबाट वामपन्थी झुकाव भएका नेता बर्नी स्यान्डर्सले दलभित्र अग्रता कायम गर्ने र राष्ट्रपतीय निर्वाचनका लागि औपचारिक मनोनयनमा पर्ने देखिएको छ।

डेमोक्र्याटिक पार्टीका उम्मेदवारको प्रतिस्पर्धा रिपब्लिकन नेता तथा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुनेछ।

पिट बूट्‍एज्एज आईअवा राज्यमा फेब्रुअरी ३ मा भएको प्राईमरीमा आश्चर्यजनक रूपमा झिनो मतान्तरले विजयी भएका थिए।

तर उनले सफलतालाई दोहोर्‍याउन सकेनन् र उम्मेदवारहरूको अग्रपङ्क्तिमा रहन सकेनन्।

औपचारिक घोषणा हुन बाँकी

बूट्‍एज्एज पछि हटेपछि अब डेमोक्र्याटिक पार्टीमा राष्ट्रपति उम्मेदवारको प्रतिस्पर्धामा छ नेता बाँकी भएका छन्।

शनिवार साउथ क्यारलाईनामा उनी चौथो स्थानमा सीमित भएका थिए।

उनले अफ्रिकी मूलका अमेरिकी मतदाताको समर्थन पाउन पनि सङ्घर्ष गर्नुपर्‍यो।

तर बूट्‍एज्एजले निर्वाचन अभियान परित्याग गरेको विषयमा उनको समूहले औपचारिक घोषणा गरेको छैन।

मङ्गलवारको प्रारम्भिक निर्वाचन बाँकी आकाङ्क्षीका लागि निकै महत्त्वपूर्ण हुनेछ।

मङ्गलवार मतदान हुने १४ वटा राज्यमध्ये दुईवटा धेरै मतदाता रहेका राज्य क्यालिफोर्निया र टेक्सस पनि छन्।


कस्तो लाग्यो ?

यो पनि