जेठ ०५, २०८१, शनिबार
               

गान्धीबाट प्रभावित थिए मार्टिन लुथर किङ

नेपाल फ्ल्यास
फागुन १०, २०७६

ADVERTISEMENT

संसारमा धेरै रहस्यमय हत्या प्रकरणहरु छन् । तर, विश्वको महाशक्ती मानिएको अमेरिकाले ४२ वर्षसम्म पनि आफ्ना मार्टिन लुथर किङ हत्या पत्ता लगाउन नसक्नुलाइ बिडम्बना मानिन्छ । अमेरिका त्यही देश हो, जसले पाकिस्तानमा लुकेका बिन लादेन र ईराकमा बंकरभित्र छिरेका सद्दाम हुसैनलाई पत्ता लगायो । तर, आफ्नै देशका लोकप्रिय नेताको हत्यारा अझै पत्ता लगाउन सकेको छैन । 

त्यसो त, मृत्युको ४२ वर्षसम्म पनि जीवित प्रतिमूर्तिका रुपमा मार्टिन लुथकिङको लिगेसी कायम छ ।  अमेरिकाका थुप्रै राज्यमा तत्कालीन विद्यमान काला र गोराबीचको विभाजन र त्यसले जगाएको बदलाभावलाई मेटाउन एमएलकेले खेलेको भूमिकालाई विश्वले कहिल्यै भुल्नेछैन । सत्याग्रही एमएलकेबाट संसारका धेरै प्रभावित भए ।

खासमा एमएलके महात्मा गान्धीको सत्याग्रह अभियानबाट प्रभावित थिए । उनले  १९५९ मा अमेरिकामा आन्दोलन उत्सर्गमा रहेका बेला भारत भ्रमण गरेर गान्धी परिवारलाई भेटेका थिए । यसअघि आक्रामक देखिएका मार्टिन लुथर किङ गान्धीबाट प्रभावित भएपछि शान्तिपूर्ण आन्दोलनमा होमिएका हुन् । 

यसरी सुरु भएको थियो आन्दोलन 

सन् १९५५ मा रोजा पार्कले मोन्टगोमेरीमा एक गोरा व्यक्तिलाई आफू बसेको सिट छाड्न अस्वीकार गरिन् । गोराको सिटमा जबर्जस्ती बसेको भन्दै उनलाई तत्काल प्रहरीले पक्राउ गर्‍यो । त्यसयता कालाहरुले एमएलकेकै अगुवाईमा आन्दोलन छेडे ।

उनीहरुले बस नै बहिष्कार गर्न थाले । बसमा पनि काला र गोराका लागि छुट्टाछुट्टै सिटको व्यवस्था हुन्थ्यो । अस्पताल, विद्यालय र सिनेमा हलमा समेत त्यस्तै व्यवस्था थियो । जसको विरोधमा कालाहरुले एमएलकेकै अगुवाईमा तीन सय ८१ दिनसम्म अहिंसावादी आन्दोलन छेडे । 

एमएलकेमाथि पटक–पटक आक्रमण र धम्कीको प्रयास भएको थियो, जसलाई सहज रुपमा स्विकार्दै उनले काला जातिको पक्षमा लडाइँ जारी राखे । त्यहीबीचमा एट्लान्टातर्फ सन् १९६० मा पुगेको थियो, लुथर किङको परिवार । उनीले त्यहाँ एक चर्चमा आफ्ना बाबुसँगै सहायक पास्टरको काम गर्न थाले । तर, नयाँ पदले उनलाई संघर्षमा लाग्‍नबाट रोकेन । उनीहरुले नयाँ आन्दोलन चाले ।

मार्चपाससहितका शान्तिपूर्ण बस बहिष्कारको आन्दोलन जारी रह्यो । सर्वाधिक रंगभेद हुने सहरमा उनीहरुले आन्दोलन जारी राखे । उनले सन् १९६३ मा वासिंग्टनमा कालाहरुलाई समान रोजगारी र स्वतन्त्रका लागि पनि आवाज उठाए । यही समय उनले दिएको ' आई ह्याम अ ड्रिम' नामक भाषण समानताको पक्षमा संसारकै सबैभन्दा ओजनदार आवाज मानिन्छ । उनको अविराम संघर्षले अन्नत अमेरिकी सरकारलाई झुकायो । सन् १९६४ मा समान अधिकारसहितको नयाँ ऐन पारित भयो ।

सन् १९६४ मै एमएलके नोबल शान्ति पुरस्कारबाट सम्मानित भए, जतिबेला उनी ३५ वर्षका थिए । त्यसको एक वर्षपछि अमेरिकाले मतदानसम्बन्धी ऐन ल्यायो ।

एमएलके लोकप्रियताको शिखरमै रहेका बेला उनीमाथि अप्रिल ४, १९६८ मा मेम्फिसस्थित होटलको बार्दलीमा गोली प्रहार भएको थियो ।  सुरुमा जेम्स अर्ल रेमाथि उनको हत्याको आरोप लााग्यो । तर, सन् १९९३ मा होटलका मालिक लोयड जोवर्सले आफुसहित अन्य धेरै माफिया र तत्कालीन  सरकारसमेत एमएलकेको हत्यामा संलग्‍न रहेको खुलासा गरे । उनले मेम्फिस पुलिसका अफिसरलाई नै किङको हत्याका लागि आफूले भाडामा लिएको दाबी समेत गरे । जेम्स अर्ल बलीको बोकोमात्रै बनेको उनको दाबी थियो । 

हत्याको छानविनका लागि धेरै कमिटीहरु बनाइएपनि  सत्य अझै रहस्यमै छ । मार्टिन लुथर किङको योगदानको कदर गर्दै सरकारले सन् १९८६ यता हरेक वर्ष ' मार्टिन लुथर किङ डे' मनाउने गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि