बैशाख २३, २०८१, आइतबार
               

केजरीवालले बढारे दिल्ली

एजेन्सी
माघ २९, २०७६

ADVERTISEMENT

काठमाडौं । भारतको राजधानी दिल्ली विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप)ले अत्यधिक बहुमतसाथ जित हासिल गरेको छ ।

७० सिटका लागि भएको निर्वाचनमा आपले ६२ सिट जितेको हो । यो ८८.५७ प्रतिशत हो ।

भाजपा ८ सिटमा सीमित भएको छ । चुनावमा दिल्लीमा १५ वर्ष लगातार शासन गरेको भारतीय कंग्रेस शून्य देखिएको छ ।

केजरीवालले मत परिणामले भारतमा नयाँ राजनीतिलाई जन्म दिएको बताए । उनले भने, ‘दिल्लीका जनताले निर्वाचनमा जसले स्कुल बनाउँछ, क्लिनिक बनाउँछ, २४ घण्टा बिजुली सस्तोमा दिन्छ, त्यसलाई भोट दिने सन्देश दिएका छन् ।’

केजरीवालले कामका आधारमा राजनीति गरेको उल्लेख गर्दै आगामी पाँच वर्ष दिल्लीका दुई करोड जनतासँग मिलेर काम गर्ने शक्ति हनुमानजीले प्रदान गरून् भन्दै मतदातालाई धन्यवाद दिएका छन् ।

उनले भने, ‘दिल्लीका जनताले तेस्रोपटक पनि आफ्ना छोरालाई जिताएका छन् । यो जित ती सम्पूर्ण परिवारको जित हो, जसले मलाई आफ्नो छोरा मानेर जबरदस्त समर्थन गर्नुभयो ।’

भाजपालाई विधानसभा चुनावले धक्का दिएको छ । सुषमा स्वराज नेतृत्वको सरकारले सन् १९९८ मा चुनाव हारेयता भाजपाले दिल्लीमा नेतृत्व गर्न पाएको छैन ।

दिल्लीमा भाजपाको रणनीति सफल हुन सकेन । पछिल्लो समयको नागरिकता संशोधन कानुन (सीएए)का कारण निर्वाचनमा भाजपालाई धक्का दिएको विश्लेषण भइरहेको छ ।

सीएएको विरोधमा दिल्लीको साहिन वागमा भइरहेको विरोध प्रदर्शनको मुद्दा पनि भाजपाका लागि प्रत्युत्पादक साबित भयो ।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको आक्रामक प्रचार अभियान र हिन्दुत्वको राजनीति प्रभावहीन देखिएको भनेर भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि