जेठ ०५, २०८१, शनिबार
               

ट्रम्पमाथि महाअभियोग लगाउने प्रसस्त आधार

एजेन्सी
मंसिर १८, २०७६

ADVERTISEMENT

वासिंगटनः पदको दुरुपयोग गर्दै गैरकानूनी काम गरेको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउनका लागि पर्याप्त प्रमाण र आधार रहेको महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानको नेतृत्व गरिरहेको संसदीय समितिले सार्वजनिक गरेको छ ।

महाअभियोग लगाउने सम्बन्धी अनुसन्धान गरिरहेको अमेरिकी तल्लो सदनको समितिले तयार पारेको प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय स्वार्थभन्दा बढी आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थलाई महत्व दिएको उल्लेख छ ।
राष्ट्रपति ट्रम्पले आउँदो वर्ष सन् २०२० मा हुने राष्ट्रपति चुनावमा फेरी निर्वाचित हुनका लागि आफ्नो पक्षमा सहयोग गर्नका लागि युक्रेनलाई महिनौँदेखि आग्रह गरेको सो प्रतिवेदनमा उल्लेख छ ।

ट्रम्पले आफ्नो व्यक्तिगत स्वार्थका लागि विदेशी शक्तिलाई अमेरिकाको आन्तरिक राजनीतिमा अवैध तवरले प्रभावित पार्न आग्रह गरेको प्रतिवेदनमा उल्लेख गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले भने आफूले कुनै पनि किसिमले गैरकानूनी गतिविधि नगरेको दावी गर्दै आएका छन् । अनुसन्धान सम्बन्धी ड्राफ्ट प्रतिवेदन सार्वजनिक हुनु अघि राष्ट्रपति ट्रम्पले डेमोक्राटिक पार्टीको नेतृत्वमा भइरहेको अनुसन्धानको आलोचना गरेका थिए । उनले अनुसन्धानलाई ‘अति अराष्ट्रवादी’ को शंज्ञा दिएका छन् ।

रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेका ट्रम्प सन् २०१६ मा डेमोक्राटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै राष्ट्रपति बनेका थिए ।

प्रतिवेदन सार्वजनिक भएपछि ह्वाइट हाउसका प्रवक्ताले प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले कुनै गलत गरेको भन्ने देखाउने प्रमाण नरहेको र त्यसले उनीहरुको कुण्ठा मात्रै झल्काउने बताएका छन् । ट्रम्पमाथि शक्तिको दुरुपयोग, न्याय प्रक्रियामा अवरोध र सदनलाई बेवास्ता वा निन्दा गरेको सहितका आरोपमा महाअभियोगको लगाउने तयारी छ । राष्ट्रपति ट्रम्पले निहित स्वार्थ या शर्त राखेर युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको आरोप छ । त्यसकै लागि अनुसन्धान भइरहेको हो । राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।

जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्राटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनलाई प्रमुख दाबेदार मध्ये एक ठानिएको छ ।


कस्तो लाग्यो ?

यो पनि