बैशाख २२, २०८१, शनिबार
               

ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव तल्लाे सदनबाट पारित

एजेन्सी
पुस ०३, २०७६

ADVERTISEMENT

वासिंगटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि तल्लो सदनमा औपचारिक रुपमा महाअभियोग लागेको छ । बिहिबार अमेरिकी संसदको तल्लो सदनमा राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा बहुमत सांसदले मतदान गरेको हुन् ।

ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग लागेको हो । उनविरूध्दको महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको थियो । महाभियोग लगाउन २१६ मत भए पुग्ने थियो ।

तीन सांसदले यसमा मतदान गरेनन् भने डेमोक्र्याटिक नेतृ तथा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडमा रहेकी तुलसी गाबरले पक्ष वा विपक्षमा मतदान गरिनन् । दुई डेमोक्र्याट र सम्पूर्ण रिपब्लिकनले विपक्षमा मतदान गरे । पक्षमा मतदान गर्नेमा २२९ डेमोक्र्याट र एक स्वतन्त्र सांसद थिए ।

अमेरिकाको तल्लो सदनमा महाअभियोग लाग्ने उनी तेस्रो राष्ट्रपति पनि बनेका छन् ।

सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिए लगत्तै शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको घोषणा गरिन् । यस्तै सदनको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको छ ।

यो अभियोगको पक्षमा २२९ तथा विपक्षमा १९८ मत परेको हो । यसमा तीन डेमोक्र्याटले विपक्षमा मत दिएका हुन् । तीन सांसदले मत दिएनन् भने तुलसी गाबरले यसमा पनि पक्ष वा विपक्षमा मत दिइनन् । सभामुख पेलोसीले मतदान सकिए लगत्तै दोस्रो अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको घोषणा गरिन् ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्तावमा नेपाली समय अनुसार बुधबार बेलुका सुरु भएको छलफल बिहीबार बिहान सम्पन्न भएको हो । छलफल सकिएपछि मतदान भएको हो ।

तल्लो सदनका विभिन्न संसदीय समितिमा रहेका सदस्यहरुले पालैपालो महाअभियोग प्रस्तावका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । डेमोक्र्याटिक सांसदहरुले महाभियोग प्रस्ताव अत्यावश्यक र संवैधानिक व्यवस्थाका लागि अति आवश्यक रहेको बताए । तर रिपब्लिकन पार्टीका सांसदहरुले राजनीतिक उद्देश्यले महाअभियोग प्रस्ताव ल्याइएको र राष्ट्रपति ट्रम्पमाथिका अभियोगमा स्पष्ट प्रमाण नरहेको आरोप लगाएका छन् ।

संसदमा महाअभियोग प्रस्तावमाथि छलफल सुरु हुनु पूर्व रिपब्लिकनले महाअभियोग प्रस्ताव रोक्नका लागि ल्याएको प्रस्ताव अस्वीकृत भएको थियो ।

सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ । राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ । राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।

जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनलाई प्रमुख दाबेदार मध्ये एक ठानिएको छ।


कस्तो लाग्यो ?

यो पनि