बैशाख २२, २०८१, शनिबार
               

अदालतले सुनायो पाकिस्तानका पूर्वराष्ट्रपति जनरल मुशर्रफलाई मृत्युदण्डको सजाय

एजेन्सी
पुस ०१, २०७६

ADVERTISEMENT

लाहौरः पाकिस्तानको लाहौर उच्च अदालतको विशेष इजलासले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ।
देश द्रोहको अभियोगमा अदालतले उनलाई मंगलबार मृत्युदण्डको सजाय सुनाएको हो।

मुशर्रफ अहिले पाकिस्तानमा छैनन् । उनले अहिले दुबईमा उपचार गरिरहेका छन् । केही दिनअघि उनले एक भिडियो सन्देश जारी गरेर आफ्नो स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै आफ्नो अवस्था बारे जानकारी लिन अनुसन्धान आयोगसँग आग्रह गरेका थिए ।

संविधानको अपहेलना र गम्भीर देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘यो आरोप पूर्ण रुपले निराधार हो । देशद्रोहको कुरा छोडौँ, मैले यो देशको निकै सेवा गरेको छु, युद्ध लडेको छु । र १० वर्षसम्म देशको सेवा गरेँ ।’

लाहौर उच्चअदालतका तीन न्यायाधीशको बेन्चले बहुमतका आधारमा उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
भिडियोमा उनले संविधानको अपहेलना सम्बन्धी मुद्दामा आफ्नो सुनुवाई नभएको बताएका थिए ।

उनले भनेका थिए, ‘मेरा वकिल सलमान सफदरलाई समेत अदालतले सुनेको छैन । मेरो विचारमा यो ज्यादती हो र मलाई न्याय भएको छैन ।’

इस्लामावादको विशेष अदालतले सन् २०१४ मार्च ३१ मा देशद्रोहको एक मुद्दामा पाकिस्तानका पूर्व सैनिक राष्ट्रपति जनरल परवेज मुशर्रफलाई अभियुक्त बनाएको थियो ।

पाकिस्तानको इतिहासमा उनी पहिलो व्यक्ति हुन्, जसमाथि संविधानको अपहेलना गरेको मुद्दा लाग्यो ।

सन् २०१३ मा भएको चुनावमा जित निकालेपछि पाकिस्तान मुस्लिम लिग (नवाज)) सत्तामा आयो । सत्तामा आएपछि पूर्व सैनिक राष्ट्रपति परवेज मुशर्रफ विरुद्ध संविधानको अपहेलना सम्बन्धी मुद्दा नवाज सरिफ सरकारले दायर गरेको हो ।

मुशर्रफविरुद्ध गम्भीर देश द्रोहको मुद्दामा सुनुवाई गर्ने विशेष अदालतका प्रमुख चार पटक फेरिएका थिए । मुशर्रफ एकपटक मात्रै विशेष अदालत पुगेका थिए ।

सन् २०१६ मा स्वास्थ्यको कारण देखाउँदै विदेश गए । तत्कालीन सत्ताधारी पार्टी मुस्लिम लिग (नून) ले एक्जिट कन्ट्रोल लिस्टबाट उनको नाम हटाएको थियो । त्यसपछि उनलाई देश छोडेर जाने अनुमति दिइएको हो ।

जनरल परवेज मुशर्रफले सन् १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको सत्ता आफ्नो हातमा लिएका थिए।
२००१ को जुनमा जनरल मुशर्रफले सैन्य प्रमुख रहेकै बेला आफैलाई राष्ट्रपति घोषित गरेका थिए।

२००२ को अप्रिलमा विवादास्पद जनमतसंग्रह गराएर मुशर्रफ थप पाँच वर्षका लागि राष्ट्रपति बनेका थिए।

२००७ को अक्टोबर–नोभेम्बरमा मुशर्रफले फेरि राष्ट्रपति चुनाव जिते । तर सो चुनावको नतिजा विरुद्ध सर्वोच्च अदालतमा चुनौति दिइयो ।

त्यसपछि उनले देशमा आपतकाल लागु गरे र मुख्य न्यायाधीश इफ्तिखार चौधरी करीलाई हटाएर नयाँ व्यक्तिलाई नियुक्त गरे र ती न्यायाधीशले सो चुनावलाई वैध करार गरे ।

सन् २००८ को अगस्टमा मुशर्रफले राष्ट्रपतिबाट राजीनामा दिए । दुुई विपक्षी दलले आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने सहमति गरेपछि उनले राजीनामा दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि