चैत १६, २०८०, शुक्रबार
               

सन्दर्भ - मदनआश्रित स्मृति दिवस : दासढुङ्गामा मदनको मानमर्दन

ADVERTISEMENT

चितवनको दासढुङ्गामा रहेका मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितका सालिकले पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई स्मरण गराइरहेका छन्, २८ बर्षअघिको आजकै दिन २०५० साल जेठ ३ गते । अर्थात् नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको रहस्यमय जिप दुर्घटनामा निधन भएको दिन ।

दासढुङ्गा काण्ड भनेर चिनिने सो घटना भएको २८ वर्ष पुग्यो । चितवनतर्फ जाने वा फर्कने जो कोही यात्रु मदन आश्रितको ज्यान गएको घटनास्थल दासढुङ्गा पुगेपछि झस्कन्छन् । सडक छेवैमा जब मदन आश्रितको सालिक देख्छन्, अनि उनीहरूको मानसपटलमा आउँछ जेठ ३ को कहालीलाग्दो दुर्घटना । 

उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन । त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न कोही तयार छैनन् । सो घटनालाई  धेरैले नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रुपमा लिन्छ । हरेक वर्ष जेठ ३ गते तत्कालीन एमाले आबद्ध स्थानीय नेता–कार्यकर्ता पनि दासढुङ्गा पुग्ने गर्दछन् । नेताद्वयको सालिकमा फूलमाला चढाउँछन् । मुठ्ठी कसेर लालसलाम गर्छन् र फर्किन्छन् । त्यसपछि सो स्थानमा जाने कोही हुँदैन । कसैले वास्ता गर्दैन । कसैले संरक्षण गरेको पनि छैन । नदी किनारको छेउमा लगेर थन्काइदिएको जस्तो देखिन्छ ।  

सो स्थानको रेखदेख तथा मर्मत सम्भारको लागि न कुनै केन्द्रीय नेता पुग्छन्, न त कार्यकर्ताले नै चासो राख्छन् । उनीहरूको रोजाई र प्राथमिकतामा दासढुङ्गा कहिल्यै पर्दैन । 

मदनभण्डारीले राजनीति सिकाएका र सँगै काम गरेका नेताहरू अहिले सत्ता र शक्तिमा छन् । उनकै विचार बोकेर हिँड्ने सहयोद्धा केपी शर्मा ओली अहिले प्रधानमन्त्री छन् । उनले आफ्नो जिल्ला झापामा अढाई अर्व रुपैयाँभन्दा बढी लगाएर भ्यु टावर बनाउने योजना लगेका छन् । तर जसको बिचार बोकेर हेडिका छन्, उसैको सालिकको संरक्षणमा थोरै पनि रकम छुटाएनन् । अघिल्लो कार्यकालमै प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा नेपालकै ठुलो भन्दै बुद्ध मूर्ति निर्माणको शिलान्यास गरेका थिए ।  

बीस बिगाहा जमिन अधिग्रहणको तयारी छ । अर्बाै रुपैयाँ लगानीमा धरहरा निर्माणको काम जारी छ । भूकम्पले ढलेको धरहराको मुख्य स्तम्भ भने पुर्ननिर्माण गरी उद्घाटन भैसकेको छ ।  तर नेपाली राजनीतिका सर्वाधिक चर्चित नेताको रहस्यमय ढङ्गबाट अवसान भएको ठाउँ दासढुङ्गा क्षेत्रको नै न विकास भएको छ । सालिक राखिएको क्षेत्र सानो पार्कको संरक्षणमा समेत सुको पैसा खर्च गरिएको छैन । एमालेले मदन भण्डारीको नाम भजाउँदै चुनाव प्रचार गर्दै आएको छ । मदन आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने सङ्कल्प गर्दै मदन ब्रान्ड बिकाएरै उसले चुनाव जितेर पटकपटक सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । 

अहिलेसम्म एमालेका नेताहरुले ६ पटक सत्ता सम्हालेको छन् । सत्तामा पुगे पनि अर्वौ रकम अनियमितता, आफूखुसी योजना बाँडफाँड गर्दै आए पनि आफ्नो पार्टीको विचारको प्रवर्द्धक  मदन भण्डारीको सम्मानमा थोरै काम भए पनि काम गर्न कन्जुस्याइँ गरेको छ । तत्कालीन महासचिव मदन भण्डारीको दासढुङ्गा दुर्घटनामा निधन भएपछि उनको नामको राजनीति एमालेमा निकै फस्टायो । उनकै नाममा खुलेको फाउन्डेसनको बलमा प्रधानमन्त्री ओलीले राजनीतिक शक्ति आर्जन गरेको बताइन्छ ।
मदनकै नाममा पार्टीमा गुट चलाउने, सङ्घसंस्था खोल्ने धेरै छन् । तर, मदन–आश्रितको रहस्यमय मृत्यु भएको दासढुङ्गा तथा मदन भण्डारीको सालिक भने सधैँ उपेक्षामा परेको छ । 

बामदेवले उद्घाटन गरेको भन्दै भत्काउने प्रयास

तत्कालीन एमाले विभाजनपछि २०५४ मा नेकपा माले गठन भयो । घटनास्थल दासढुङ्गामा नेकपा मालेले स्वर्गीय नेताद्वय भण्डारी र आश्रितका सालिकसहितको केही संरचना बनायो । सो सालिकको नेकपा मालेका तत्कालीन महासचिव हालका एमाले नेता वामदेव गौतमले उद्घाटन गरेका थिए । २०५८ जेठ ३ गते मदन आश्रित स्मृति दिवसकै दिन उद्घाटन गरिएको थियो । 

सुरुवाती समयमा सो पार्क तथा सालिकको हेरचाह गरिएको थियो । पार्कभित्र चराचुरुङ्गीको चिरबिर आवाज आउँथे । पृथ्वी राजमार्गमा यात्रा गर्ने युवायुवतीदेखि पाकापुस्तासम्मले हावा खाँदै मदन आश्रितको सालिक मुनी विश्राम गर्थे । यात्रा गर्दागर्दै थाकेकाहरू थकान मार्थे । कुनै समय मदन आश्रित पार्क र यसरी नै बखान गर्न लायक थियो । सुन्दै मनमोहक र लोभलाग्दो यो पार्क हेरविचारको अभावमा फोहोर र उजाड बन्दै गएको छ । पार्क कुरूप बनेसँगै पृथ्वी राजमार्गमा यात्रा गर्नेहरू त्यहाँ छिर्न छाडेका छन् । स्थानीय समेत पस्दैनन् ।  

पार्कभित्र रहेका बिरुवाहरू संरक्षणको अभावमा सकेका छन् । घाँसहरू बलाएका छन् । बनाइएका संरचनाहरू भत्किएका छन् । पार्क दुर्गन्धित र डम्पिङ साइट बनेका छन् । पार्कमा रहेको खानेपानीको धारामा खिया लागेको मात्र होइन मक्किइसकेको छ । दुर्घटना स्थलमै पार्क बनाइएको हुँदा पार्क त्रिशूली नदी किनार माथि छ । पार्कको फलामे बारसमेत खिया लागेर भाँचिने अवस्थामा छ । जसले गर्दा दुर्घटनाको जोखिम छ । 

पार्कको चारतिरका पर्खाल र बार मक्किएका छन् । कतै भत्किएका छन् । मदन भण्डारी र जीवराज आश्रितको सालिक मुनी टाँसिएको प्लेट कसैले उप्काउने प्रयास गरेको देखिन्छ । सालिकको विभिन्न भागमा समेत भत्काउने प्रयास गरिएको छ ।

नेकपा मालेका तत्कालीन महासचिव रहेका एमाले नेता बामदेव गौतमले उद्घाटन गरेको लेखिएकाले उनी विरोधीहरूले उप्काउने प्रयास स्वरूप सालिकको स्वरूप भत्काएको हुनसक्ने स्थानीय बताउँछन् । 

पार्क भित्रकै सानो मन्दिर समेत भत्किसकेको छ । स्थानीय भन्छन् ‘भ्रमको खेती भयो, काम भएन’ नेपाली राजनीतिका सर्वाधिक चर्चित तथा लोकप्रिय नेताको रहस्यमय ढङ्गबाट अवसान भएको दासढुङ्गा क्षेत्रको पूर्वाधार निर्माण तथा सालिकको संरक्षणमा सरकार तथा सरोकारवालाहरूले चासो नदिँदा आफूहरू दुखी रहेको स्थानीय बताउँछन् । 

मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त असल छ भनेर दिनहुँ फलाक्ने तर उनको स्मृतिमा बनेको सालिकको संरक्षण नगर्नुले उनीहरूले शब्द आडम्बरमा भ्रमको खेती गरेका स्थानीय बताउँछन् ।

 स्थानीय शिव प्रसाद तामाङ भन्छन् ‘दासढुङ्गा मदन भण्डारीको सालिक तथा पार्कको संरक्षण तथा विस्तारको बारेमा सबैले कुराका लागि कुरा गरे, तर काम भएन । दुख लागेको छ ।’ 

मदन भण्डारीको जिप खसेको स्थान


मदन भण्डारीको अपमान भयो  : सीपी मैनाली 

मदन भण्डारी र जीवराज आश्रितको सालिक संरक्षणमा उपेक्षा गरेर सत्तारुढ दल नेकपाले जसको विचार बोकेर हिँडेको उसैको अपमान गरेको नेकपा मालेका महासचिव सिपी मैनालीको तर्क छ । तत्कालीन समयमा एकै पार्टीमा रहेर काम गरेकाले पार्टी विभाजनपछि पनि उनको स्र्मतिमा मदन भण्डारीको सालिक आफूहरूले बनाएको बताउँदै संरक्षण गर्ने जिम्मा सरकार र नेकपाको समेत भएको बताउँछन् । 

सिपी मैनाली, महासचिव, नेकपा माले

 

 

 उनी भन्छन्  ‘मदन भण्डारीसँग धेरै सैद्धान्तिक मतभिन्नता पहिल्यैदेखि थिए, अहिले पनि छन् । तर पनि उहाँ तत्कालीन हाम्रो पार्टीको महासचिव हुनुहुन्थ्यो, राष्ट्रवादी, जनप्रिय नेता हुनुहुन्थ्यो । त्यो हैसियतमा उहाँको समानमा हामीले उहाँको सालिक र पार्क  बनाएका थियौ  । तर मदन भण्डारी हाम्रो मात्र नभएर सिङ्गो मुलुककै विचारको संवाहक हुनुहुन्छ। त्यो सालिक र पार्कको संरक्षण गर्ने मूल दायित्व सरकारको हो । नेकपा पार्टीले पनि त्यसको जिम्मा लिनुपर्छ । मदन भण्डारीको नाम बेचेर जनताको सेन्टिमेन्ट क्याच गर्ने, सत्ता र शक्तिको रजाइँ गर्ने , तर जसको विचार बोकेर हिँडेको छ उसैलाई अपमान गरेको देखिएको छ ।’ 


 

कहाँ छ, मदन भण्डारी प्रतिष्ठान ?

नेकपामा थुप्रै नेता कार्यकर्ता मदन भण्डारीको विचारका अनुयायी छन् । ०५० जेठ ३ गते दासढुङ्गा दुर्घटनामा भण्डारी र एमालेका तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएयता मदन–आश्रितको सम्झना र सम्मानमा नागरिक र पार्टीकै तहमा धेरै काम भएका छन् । नेकपा एमालेले संस्थागत निर्णयबाटै मदन–आश्रित स्मृति प्रतिष्ठान सञ्चालन गरेको छ भने मदन भण्डारी फाउन्डेसनको शाखा देशभर पार्टीको समानान्तर कमिटीझैँ गरी विस्तार भएका छन् ।  

एमालेले पार्टी मातहतमै रहने गरी सुरु गरेको मदन–आश्रित प्रतिष्ठानले मदनसित सम्बन्धित गतिविधि गर्दै आएको छ । पुस्तक प्रकाशन, सालिक संरक्षण, जन्म जयन्ती तथा स्मृति सभालगायत गर्दै आएको छ । मदन भण्डारी फाउन्डेसनका अनुसार देशका सबै जिल्लामा भण्डारीको नामसँग जोडिएको कुनै न कुनै संस्था र संरचना छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानलेको शाखा चितवनमा पनि छ । 

भण्डारीकै नाममा खुलेको सो प्रतिष्ठानलाई शिक्षालय, बाटोघाटो, प्रतीक्षालयका नाममा सरकारका तर्फबाट पनि बर्सेनि करोडौँ रकम विनियोजन हुँदै आएको छ ।  तर उपेक्षामा रहेको मदन भण्डारी पार्क र सालिकको संरक्षणमा भने प्रतिष्ठानको ध्यान गएको देखिँदैन । 
 

 यसअघि १७ कात्तिक २०७७ मा प्रकाशित यो सामग्री मदनआश्रित स्मृति दिवसको सन्दर्भमा पुन प्रकाशन गरिएको हो ।

 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि