जेठ ०४, २०७८, मंगलबार
               

द स्काइ ब्यान्डका गायक कबिन्द्रको साङ्गितिक करियर

ADVERTISEMENT

‘डाँडैमा मेला लागेछ

कान्छीले बोलाइरहेछ,

नजाऊँ भने उसले पर्खिबसेछ ।’

पचासको दशकमा अत्यन्तै चर्चा पाएको ‘स्काई ब्यान्ड’ को गीत हो यो । गीतका लिड भोकलिस्ट हुन्, गायक– कविन्द्र श्रेष्ठ । स्काई ब्यान्डको अत्यन्त चर्चामा आएको ‘डाँडैमा मेला लागेछ, कान्छीले बोलाइरहेछ’ लगायतका गीत हुन्  । ती गीत पचासको दशकमा मात्र होइन, अहिलेसम्म पनि त्यतिकै सुनिँदै आइएको छ । 

अहिलेको पछिल्लो पुस्ता तीनै गीतहरू सुनेर हुर्किएका हुन् । तर पनि अझै मेला, महोत्सव तथा विभिन्न संगितिक कार्यक्रमलगायतमा ती कालजयी लोकपपहरू घन्किन छाडेका छैनन् । स्काई ब्यान्डका लिड भोकलिष्ट कविन्द्रको व्यस्तता तीन दशकपछि पनि उत्तिकै छ । 

बुबा व्यापारी । हुन त छोरोले पनि व्यापारै गरोस् भन्ने बुबाको चाहना थियो । तर, कविन्द्रलाई भने सानैदेखि सङ्गीतको हावाले छोइसकेको थियो । सुरुमा प्यासेन्टको रुपमा प्रवेश गरेको साङ्गीतिक जीवन पेसामा परिणत भयो । कविन्द्र भन्छन्, ‘मेरो सपना बुबाको चाहनाभन्दा फरक थियो । म पप गायक बन्न चाहन्थे । र, म आफ्नो सपनामा अडिग रहेँ ।’ 

किशोरावस्थामै उनले आफैँले गिटार बजाउन सिके । उनले नारायण गोपाल, भक्तराज आचार्यलगायत गायनलाई पछ्याउँथे । उनी भन्छन्  ‘रेडियोमा नारायण गोपाल, भक्तराज आचार्यका गीत खूब बज्थे, उहाँहरूलाई फलो गर्दै अगाडि बढेँ ।’ 

कविन्द्र बागलुङमा जन्मिएका हुन् । त्यही स्कुल पढे । त्यतिखेरको बागलुङ ग्रामीण परिवेश थियो । रेडियो नेपालमा गीत सङ्गीत बज्थे । कमैको घरमा थिए, क्यासेट प्लेयर । बागलुङ बजारमा साङ्गीतिक माहौल थिएन । अहिलेजस्तो मेला महोत्सवको चलन पनि थिएन । रेडियो नेपालमा गीत बज्दा उनी पनि सँगै गाउँथे ।

‘बजिरहेको गीत मैले गाएको भए पनि हुने’ भन्दै उनी मनमनै सोच्दथे । अब त उनी आफैलाई गीत गाउन मन लाग्यो । युवावस्थाको त्यो जोसलाई कविन्द्रले मर्न दिएनन् । दौंतरीहरू भेला गरेर ब्यान्ड बनाउने सोच आयो । उनलाई साथ दिन आए साथीहरू दुर्गाकाजी शाक्य, दिनेश राजभण्डारी, जितेन्द्र राजभण्डारी, रेस्टा राजभण्डारी, पुकार श्रेष्ठ र शैलेन्द्र प्रधानाङ्ग । उनीहरूसँग मिलेर कविन्द्रले ब्यान्ड बनाए ।

ब्यान्ड बनाएपछि स्थानीय स्तरमा स्टेज कार्यक्रम गर्न सुरु भयो । त्यति बेलासम्म कविन्द्रले कुनै पनि रेकर्ड गराएका थिएनन् । ब्यान्ड त खोले तर उनीहरूको आफ्नै कुनै गीत थिएन । स्टेज कार्यक्रममा सबै गीत अरुकै गाउनुपर्थ्यो ।  

स्टेज कार्यक्रममा सहभागी हुँदाहुँदै कविन्द्रलाई आफैँले गीत रेकर्ड गराउने रहर जाग्यो । परिवारको आर्थिक अवस्था राम्रो भएकाले कुनै समास्या भएन । परिवारको सहयोग र स्टेजबाट कमाएको पैसा जोहो गरे । अनि कविन्द्र हान्निए काठमाडौं । त्यो २०४९ सालको कुरा थियो । ‘जब मैले तिमीलाई देखेँ’ गीत रेकर्ड गराए । त्यो नै उनको पहिलो गीत थियो । 

बागलुङमा उनको ब्यान्ड थियो । करिअर र पढाइका लागि काठमाडौंमा बस्नुपर्ने भयो । तर, उनले ब्यान्डलाई सेलाउन दिएनन् । सुरुवाती दिनमा कहिले गृह जिल्ला त कहिले काठमाडौँ गर्थे उनी । सङ्गीतलाई अगाडि बढाउँदै उनले पिपल्स कलेजमा मानविकी विषयमा स्नातक गरे । आफैँले गीत रेकर्ड गराएपछि उनी थप व्यस्त भए । विभिन्न स्टेज सो गरेर पैसा सङ्कलन गर्थे, कविन्द्र । 

अर्को एल्बम तीन वर्षपछि ५२ मा निकाले । डाँडैमा मेला लागेछ, मायाको आधार, बागलुङ बजारलगायतका गीतहरू एल्बम थियो । एल्बम तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको हातबाट विमोचन गरिएको थियो । त्यति बेला कविन्द्र २० वर्षमा मात्र थिए । उनले अघिल्लो पहिलो एल्बम १७ बर्षमै निकालेका थिए । स्काई ब्यान्डको नामबाट निकालिएको दोस्रो एल्बम ‘मायाको आधार’ नाम दिइयो । जुन कविन्द्रको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो । ‘मायाको आधार’ र ‘बागलुङ बजार’ गीतबाट कविन्द्रको टिमले ठुलो अपेक्षा राखेका थिए । तर ‘डाँडैमा मेला लागेछ’ बोलको गीतले भने तहल्का पिट्यो । गीत सुपर–डुपर हिट भयो । 

रेडियो नेपालबाट तारान्तरा त्यही गीत बज्थ्यो । फोनईन कार्यक्रम मार्फत श्रोताहरूले त्यही गीतको फर्माइस गर्थे । रेडियोका कार्यक्रममा पठाइने चिठी पत्र मार्फत श्रोताहरू त्यही गीत सुन्न र अरूलाई सुनाउन चाहन्छु भन्दै पत्र पठाउँथे । अहिलेको भाषामा भन्ने हो भने गीत भाइरल भयो ।

‘जताततै डाँडैमा मेला लागेछ’ गीतको चर्चा हुन्थ्यो । देशै भरी विभिन्न स्थानमा हुने कन्सर्टहरूबाट कविन्द्रलाई बोलावट हुन थाल्यो । त्यही गीतले उनलाई नाम, दाम मात्र दिएन, साङ्गीतिक क्षेत्रमा स्थापित समेत गरायो । 

गायक कविन्द्रका अनुसार ‘मायाको अधार’ एल्बमले म्यूजिक नेपाल कम्पनीकोको इतिहासमै सर्वाधिक बिक्रीको रेकर्ड राखेको छ । त्यति बेला ६ लाख कपीभन्दा बढी बिक्री भएको थियो त्यो अडियो क्यासेट । आफ्नै खर्चमा एल्बम निकाल्दै आएका कविन्द्रको त्यसपछिका सबै एल्बम विभिन्न म्युजिक कम्पनीले अग्रिम रुपमा किनिदिन थाले । ‘डाँडैमा मेला लागेछ’ गीत स्काई ब्यान्डको हिट नम्बर थियो ।

‘त्यति बेलाको समयमा छ लाखभन्दा बढी कपी क्यासेट बिक्री भएको थियो,’ उनी भन्छन्, ‘क्यासेट बिक्री–वितरणको आधारमा २०५३ सालमा यही गीतबाट ‘एल्बम अफ दी इयर’ को अवार्ड पाएँ ।’ 

देश विदेशबाट कविन्द्रलाई कार्यक्रमका निम्ता आउन थालिसकेको थियो । उनले दुई वर्षपछि २०५४ मा अर्को गीत निकाले । ‘रिमझिम रिमझिम पानी पर्याे’ बोलको गीत कलेक्सन एल्बममा थियो । त्यो गीत पनि हिट भयो ।

त्यसको दुई वर्षपछि उनले सिङ्गो एल्बम निकाले । २०५६ मा निकालेको एल्बमका ‘हावा सरर,’ ‘सलाई कोरेर’ ‘ड्रिम गर्ल’लगायतका गीत पनि खुबै चले । त्यति बेला नेपालमा एफ्एम्को प्रसारण समेत सुरु भइसकेको थियो । सय मेगाहर्जमा विभिन्न एफएम रेडियोहरू प्रसारण हुन्थे । कान्तिपुर एफएम छुट्टै फ्रक्वन्सीमार्फत बज्यो । रेडियो नेपाल त छँदै नै थियो । गीत सङ्गीत प्रसारणका धेरै माध्यम भएपछि स्रष्टाहरूको सङ्गीतहरूले थप स्थान पाउन थाले । सँगै रेडियो र एफएमहरूबाट कविन्द्रका गीतहरू गुन्जन्थे । कविन्द्रलाई पनि एफएम रेडियोमा अन्तरवार्ता दिन भ्याईनभ्याइ थियो ।

‘एफएमको सुरुवाती चरणमा समेत मेरा गीतहरू धेरै बज्थे’ कविन्द्र समरण गर्छन् ‘भाग्यले समेत साथ दिएकाले होला, सानै उमेरमा धेरै गीतहरू चले, मलाई धेरैले चिने ।’

२०५८ मा फेरि कविन्द्रले चौथो एल्बम ‘चौबन्दी’ ल्याए । रेसम, डाडाँपारिलगायतका गीतहरू पनि श्रोताले रुचाए ।

सङ्गीतमा औधी रुचि भएरै उनी सङ्गीतमा थिए । एकपछि अर्को गीत हिट हुँदै थिए । तर पनि जीवन सोचेजस्तो हुँदो रहेनछ । पारिवारिक व्यवहारका कारण विडम्बना उनको साङ्गीतिक यात्रामा ब्रेक लाग्यो । ‘घरपरिवार र व्यवसाय हेर्नुप¥यो,’ कविन्द्र भन्छन्, ‘त्यसैले केही समय सङ्गीत यात्रा रोक्नुप¥यो । ब्यान्डका साथी पनि आ–आफ्नै काममा व्यस्त भए ।’ 

डेढ दशकपछि कमब्याक

डेढ दशक व्यावसायिक जीवनको उकुसमुकुसपछि उनी फेरि कविन्द्र गीतको दुनियाँमा फर्किए । १५ वर्षपछि २०७४ मा उनी श्रोता दर्शकको लागि ‘माया मलाई’ बोलको गीत कोसेली लिएर आए । १५ वर्षमा कालिगण्डकीमा निक्कै पानी बगिसकेको थियो । त्यसै गरी नेपाली साङ्गीतिक क्षेत्रले पनि ठुलो फड्को मारिसकेको थियो । क्यासेट, रेडियोदेखि एमफमको जमानामा रोकिएको कविन्द्रको यात्रा युटुव उदाएपछि दोस्रो ईनिङ सुरु भयो ।

२०७७ मा उनले लकडाउनकै बिचमा अर्को गीत निकाले । उनको पहिलो गीत ‘जब मैले तिमिलाई देखे’ रिमेक गरे । उनले यही साल तिहारमा अर्को गीत पनि ल्याए । ‘मखमली तिहार’ बोलको गीत धेरैले रुचाए ।

कविन्द्र भन्छन् ‘सङ्गीतबाट टाढा रहे पनि यसको नशाले मलाई कहिल्यै छाडेन, गीतले सधैँ मलाई आफूतिर तानिरह्यो, यसैले म यही छु ।’ उनले हालसम्म उनले ७० भन्दा धेरै गीत गाइसकेका छन् । अझै केही गीत उनले ल्याउने तयारी गरेका छन् । चार वटा स्वदेश गान रेकडिङको क्रममा रहेको उनी बताउँछन् । यससँगै गीतकार दिनेश अधिकारीको शब्द रचनाको दुई वटा गीतको समेत उनले तयारी गरिरहेका छन् ।

तीन दशकदेखि सङ्गीतमा लागिरहँदा उनले श्रोता दर्शकले लोक पपसंगीतलाई दिएको मायालाई उपलब्धि मानेका छन् । साङ्गीतिक जीवनमालाई जसरी जिउन चाहेको त्यसरी नै बाँच्न पाएको उनी अनुभव सुनाउँछन् । ‘जे कुराको अठोट गरेको थिएँ, पूरा गर्न सफल भएँ । अझै धेरै गर्नु छ, अब केही गीतहरू आउँदै छन्,’ उनी भन्छन् । 

सङ्गीत र पर्यटन

गीतमा विभिन्न ठाउँको प्रसङ्ग जोड्छन् कविन्द्र । यसले पर्यटन प्रवर्द्धनमा पनि सघाएको उनको अनुभव छ । बागलुङ जिल्ला र त्यहाँको बजार पर्यटकीय छ भनेर थाहा नपाएका मान्छेहरूले उनकै गीत सुनेर थाहा पाए । त्यसले आन्तरिक पर्यटन प्रवर्द्धन गरेको उनले विगतमा प्रत्यक्ष देख्न पाए । उनले ‘बागलुङ बजार’ गीत निकालेका थिए । 

स्टेज कार्यक्रममा समेत कविन्द्रले बागलुङ बजार गीत गाउँथे । तर, अपेक्षा अनुरूपमा सो गीत नचले पनि धेरैले बागलुङ बजारको विषयमा थाहा भयो । आफ्नो संस्कृतिलाई झल्काउँदा, लेक–बेँसीको कुरा गर्दा प्रचारप्रसार भएर पर्यटकीय विकासमा टेवा पुगेको देख्दा कविन्द्र खुसी मान्छन् । लाग्छ, कुनै पनि कुरा सङ्गीतमार्फत फैलाउँदा प्रभावकारी हुने रै’छ । 

उनी भन्छन्, ‘म त हिमाल, पहाड, तराई सबै भेगको जनजीवनको कुरा टिप्ने कलाकार हुँ । नेपालीहरूको गायक हुँ । यसैले आफ्नो गाउँ ठाउँको विषयमा बढी गीत गाउँछु ।’

लोकबाजामा उत्तिकै रुचि

गायक कविन्द्रलाई देशको कुनै पनि ठाउँमा संस्कृति मन पर्छ । नयाँ ठाउँमा जाँदा त्यो देशको लोक संस्कृति बुझ्न खोज्छन्, लोक सङ्गीत सुन्छन् । लोक बाजाहरूको अध्ययन गर्छन् । नयाँ सङ्गीत सिर्जना गरिँदा लोक संस्कृति कसरी जगेर्ना गर्ने भनेर सोच्ने गर्छन् ।

‘विदेशका कार्यक्रममा जाँदा नेपाली श्रोताहरूले नेपाली सुगन्ध आउने मौलिक गीत नै बढी खोज्ने रै’छन् । त्यही देखेपछि हाम्रो सम्पत्ति र चिनारी भनेको त लोक सङ्गीत नै रै’छ भनेर म त्यसमै लागिरहेको छु,’ उनले भने ।

‘लोक–पप सङ्गीत श्रोताले किन रुचाउँछन् त ?’ भन्ने प्रश्नमा गायक कविन्द्र भन्छन् ‘नेपाली घर–आँगनकै कुरा गीतमा बुनेर त्यसमा लोक तथा आधुनिक बाजाको संयोजनपछि लोक–पप गीत हुन्छ, लोकले गाउने भाका भएकाले यसलाई धेरैले मन पराउँछन् ।’ 

शब्द र कम्पोजिसनमा विशेष ख्याल गर्दा गीत राम्रो बन्ने उनको अनुभव छ । आफ्ना चलेका धेरै गीतलाई नै सिकाइका रुपमा लिएको कविन्द्र बताउँछन् ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि