बैशाख ०७, २०८१, शुक्रबार
               

नेकपामा उदाउँदा नवधनाढ्य नेताहरु, पार्टी विभाजनले सम्पत्ति छानबिन हुन सकेन

ADVERTISEMENT

पछिल्लो समय नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच एकअर्काको धन–सम्पत्तिको विषयमा टिप्पणी भइरहेको छ । 

केही दिनअघि एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा प्रचण्डले ‘केपी ओलीको बालकोटमा दुई रोपनी जग्गा र दुईवटा घर छ, तर मेरो केही छैन’ भनी अभिव्यक्ति सार्वजनिक गरेका थिए । सो क्रममा उनले भन्दै आफू सर्वहारा जनताका उत्थानका लागि लड्दै आएको र आफू स्वयं घरबारविहीन सादगी नेता रहेको आशय व्यक्त गर्दै अर्को अध्यक्ष (ओली) आलिसान महलको धनी भएको टिप्पणी गरेका थिए । 

त्यसको केही दिनपछि प्रधानमन्त्री ओलीले अर्को टेलिभिजन अन्तर्वार्तामार्फत् प्रचण्डलाई व्यंग्य गरे । ‘प्रचण्डजीको केही छैन, त्यही खुमलटारमा घरबेटीको नामाको दुई तीन–रोपनी जग्गाको बंगला त हो नि,’ अन्तर्वार्ताका क्रममा प्रधानमन्त्रीले भनेका थिए । उनको उक्त अभिव्यक्तिको आशय प्रचण्डले आफ्नो सम्पत्ति अरूको नाममा देखाउँदै आएका छन् ।

नेकपाको राजनीतिक विभाजनसँगै दुई पक्षका नेताबीच आरोपप्रत्यारोप जारी  छ । सोही सिलसिलामा दुई अध्यक्षले एकअर्काको धनसम्पतिको समेत पोल खोलाखोल गरेका हुन् ।

नेपाली जनताका नेताहरुसँंग थुप्रै गुनासा छन्, त्यो मध्यको एक हो-नेताहरु विलासी भए, थुप्रै सम्पत्ति कमाए । अझ सर्वहारा कम्युनिस्ट पार्टीका नेता भनिनेहरू झनझन् धनी हुँदै गए । उता गरीब जनताको जीवनस्तर जहाँको त्यहीँ छ । यो विषय पछिल्लो पटकको नेकपाको केन्द्रीय समिति बैठकमा समेत उठेको थियो । 

गत वर्ष पार्टी विभाजन नहुँदै बसेको केन्द्रीय समिति बैठकमा नेताहरूले अवैध तरिकाबाट अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानबिन गर्न आयोग गठनको माग गरिएको थियो । तर, पार्टीभित्रको विवाद तथा राजनीतिक विभाजनका कारण नेताहरूको सम्पत्ति छानबिन हुन सकेन ।

१६ माघ २०७६ बाट सुरु भएको बैठकमा पार्टीका नेता तथा तीनै तहका सरकारमा पुगेका जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न आयोग गठनको माग गरिए पनि लगतै विवाद बढ्यो । सोही विवादकै कारण अन्ततः पार्टी विभाजन भइसकेको छ। नेताहरु एकअर्काविरद्ध आरोपप्रत्यारोपमा छन् । आयोग बनाएर छानबिन गर्ने हिम्मत नगर्ने तीनै नेताहरु अहिले भने एकअर्काले अकुत सम्पत्ति थुपारेको भनी पोल खोलाखोल गरिरहेका छन् ।

पार्टीमा नवधनाढ्य वर्गको उदय हुनु कम्युनिस्ट आन्दोलनका लागि गम्भीर चुनौती भएकाले आफूहरूले सम्पत्ति छानबिनको विषय उठाएको युवा नेताहरु बताउँछन् । तर, कुनै पनि काम निष्कर्षमा नपुगीकनै पार्टी विभाजन हुनु दु:खद रहेको प्रचण्ड समूहका नेता लेखनाथ न्यौपाने बताउँछन् । 

न्यौपाने भन्छन्, ‘तीन तहका सरकारमा रहेका नेताहरु तथा पदबाहिर रहेका नेताहरूको सम्पत्ति छानबिन गर्ने सम्पत्ति छानबिन गर्ने शक्तिशाली आयोग बनाउनुपर्छ भन्ने निर्णय भएको थियो । साथै, अवसर न्यायोचित रूपमा वितरण हुनुपर्ने माग केन्द्रीय कमिटी बैठकमा उठेको हो । त्यो काम पूरा नहुँदा विवाद बढ्दै गयो । अनन्त: केही भएन । दुर्भाग्य धेरै नेता सामन्ती शैलीमा विलासी जीवन बिताइरहेका छन् ।’

पार्टीभित्रको वर्ग विभाजन अन्त्यका लागि नेताहरू पारदर्शी हुनुपर्ने आवाज उठे पनि कसैले पालना नगरेको भन्दै केही सादगी नेताले विरोध गरेका छन् । दस्तावेजमा भ्रष्टाचार निर्मूल गर्ने भनेर लेखिए पनि व्यवहारमा उल्टो रहेको सहरी विकास राज्यमन्त्रीसमेत रहेका ओली पक्षीय नेता रामवीर मानन्धर स्विकार्छन् । 

उनी भन्छन् , ‘पार्टीमा धेरै हुने र केही नहुने छन् । हुने र नहुनेबीच दूरी बढेको छ, सर्वहारा वर्गको पार्टी बनाउने हो भने अहिलेको जीवनशैली परिवर्तन गर्नुपर्ने हुन्छ । तर, धेरैको जीवनशैली परिवर्तन भएन, नत छानबिन नै भयो ।’

मन्त्रिपरिषद् सदस्य भएर पनि सरकारी आवास सुविधा नलिई निजी आवासमै बस्दै आएका मानन्धर भन्छन्, ‘धेरै नेतालाई आलिसान महल र महँगो गाडी चाहिन्छ, हामीजस्तो साधारण ठाउँमा बसेर सामान्य जीवनयापन गर्न धेरै नेता सक्दैनन् ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि