मंसिर ०७, २०८१, शुक्रबार
               

उद्योगी-व्यवसायीमा चुनावी रौनक, चन्द्र ढकाललाई किशोर प्रधानको चुनौती

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

काठमाडौँ । निजी क्षेत्रको व्यवसायिक संगठन नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी कार्यकालका लागि २८–२९ चैतमा निर्वाचन घोषणा भएलगत्तै व्यवसायीहरू उम्मेदवारी घोषणा गरेर मैदानमा उत्रिन थालेका छन् ।

गत वर्षदेखि नै विधान संशोधनको विषय उठाएर आगामी चैतमा हुने निर्वाचनको माहौल तताएका व्यवसायीले गत कात्तिकमा तत्काल विधान संशोधन नगर्ने निर्णय गरेका थिए । महासङ्घको मौजुदा विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ । जसकारण वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुने पक्का भएको छ । तर, आगामी निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष को हुने भन्ने दौड अहिले नै सुरु भएको छ ।

वरिष्ठ उपाध्यक्षको दौडमा सबैभन्दा पहिले व्यवसायी चन्द्र ढकालले दाबी प्रस्तुत गरेका थिए । वर्तमान कार्यसमितिको एसोसिएट उपाध्यक्ष उनले ११ पुसमा गृह जिल्ला बागलुङ पुगेर वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । उनको घोषणालाई बागलुङ उद्योग वाणिज्य सङ्घले समर्थन गर्ने निर्णय गरेको थियो ।

चण्डीराज ढकालको साथ लिएर चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षको सिँढी चढ्न खोजेपछि ठुलो व्यवसायी समूह चन्द्र ढकालको विपक्षमा लागेको हो । चन्द्र ढकालको विपक्षमा लागेका व्यवसायीहरू महासङ्घमा चण्डीराज युगको अन्त्य गर्न चाहन्छन् ।

ढकालको घोषणापछि महासङ्घको चुनावी माहौल औपचारिक रूपमा सुरु भएको थियो । ढकालले सुरु गरेको चुनावी माहौललाई विराटनगरका उद्योगी किशोर प्रधानले १ फागुनमा काउन्टर दिएका थिए । विराटनगरमा पूर्वका उद्योगी र महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारका, कुशकुमार जोशीलगायतलाई भेला गराएर उनले वरिष्ठ उपाध्यक्षमा भिड्ने घोषणा गरेका थिए ।

चन्द्र ढकाललाई साथीभाइको चोट

महासङ्घको निर्वाचनमा प्रत्येक पटक दुई वटा प्यानलबीच प्रतिस्पर्धा हुने गरेको छ । यस पटक पनि चन्द्र ढकाल र किशोर प्रधानको प्यानलबीच चुनावी रस्साकस्सी सुरु भएको छ । यस पटक व्यवसायी चन्द्र ढकालको विपक्षमा देशका ठुला व्यवसायी घराना उभिएका छन् ।

अघिल्लो चुनावमा ढकाललाई एसोसिएट उपाध्यक्षमा निर्विरोध जिताउन लागिपरेको हस्ती पशुपति मुरारका, अञ्जन श्रेष्ठ, सौरभ ज्योति, कुशकुमार जोशीलगायत अहिले ढकालका विपक्षमा उभिएका छन् । सबैभन्दा ठुलो चट्टान शेखर गोल्छा बनेका छन् । किनभने गोल्छा २९ चैतपछि तीन वर्षका लागि महासङ्घको अध्यक्ष तय भइसकेका छन् । यस्तो अवस्थामा गोल्छा नै विपक्षमा उभिँदा ढकालले निर्वाचन जिते पनि काम गर्न गाह्रो हुनेछ ।

चन्द्र ढकालसँग ठुला र स्थापित व्यवसायी रुष्ट हुनुको एउटै कारण चण्डीराज ढकाल हुन् । महासङ्घलाई ‘दुहुनो गाई’ बनाएर आर्थिक लाभ लिँदै आएका चण्डीराज ढकालको विपक्षमा व्यवसायीको ठुलो समूह छ । तर, यही बेला चन्द्र ढकालजस्ता क्षमतावान् व्यवसायीले चण्डीराजको साथ खोज्दै चुनावमा उत्रिएपछि उनका हितैषी व्यवसायीहरू पनि टाढिएका हुन् ।

चण्डीराज ढकालले जिल्लाका व्यवसायीसँग अति घनिष्ठ सम्बन्ध बनाएका छन् । उनले ७५ प्रतिशत जिल्ला अध्यक्षलाई जहाँ भोट हाल्न लगायो, त्यहीँ हाल्न बाध्य बनाउने गरेको महासङ्घमा चर्चा छ । जिल्लाको यही भोट आफूतिर तान्न चन्द्र ढकालले सबै साथीभाइलाई बिर्सिएर चण्डीराज ढकाल रोजेको विश्लेषण गरिएको छ । किनभने काठमाडौँमा स्थापित व्यवसायी चन्द्र ढकालको जिल्लाका व्यवसायीसँग भने घनिष्ठ सम्बन्ध छैन । तर, उनका प्रत्याशी किशोर प्रधानले पछिल्लो दुई वर्षयता जिल्लाका हरेक कार्यक्रममा सहभागी भएर सम्बन्ध प्रगाढ बनाउने प्रयत्न गरिरहेका छन् ।

किशोर प्रधान वैकल्पिक छनोट मात्र

चण्डीराज ढकालको साथ लिएर चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षको सिँढी चढ्न खोजेपछि ठुलो व्यवसायी समूह चन्द्र ढकालको विपक्षमा लागेको हो । चन्द्र ढकालको विपक्षमा लागेका व्यवसायीहरू महासङ्घमा चण्डीराज युगको अन्त्य गर्न चाहन्छन् । तर, चन्द्र ढकालजस्तो क्षमतावान् उद्योगी हारोस् भन्ने चाहना पनि उनीहरूले बोकेका छैनन् । त्यसैले चण्डीराजलाई महासङ्घबाट बढार्नका लागि एक हुल व्यवसायी किशोर प्रधानको पक्षमा उभिएका हुन् । किशोरको पक्षमा उभिएका धेरै व्यवसायी भित्री रूपमा भने सन्तुष्ट छैनन् ।

महासङ्घको निर्वाचनलाई नजिकबाट नियालिरहेका एक व्यवसायी भन्छन्, ‘किशोरले वरिष्ठ उपाध्यक्षको चुनाव जितोस् भनेर पशुपति मुरारकाहरूको टिम लागेको होइन । चण्डीराजलाई महासङ्घमा छिर्नबाट रोक्नका लागि मात्र अगाडि देखिएका हुन् । सबैको चाहना चन्द्र ढकाल नै महासङ्घमा आउनुपर्छ भन्ने छ ।’

महासङ्घका लागि किशोर प्रधान गतिला उम्मेदवार नभएको उनकै समूहमा रहेको उद्योगीको धारणा छ । किशोर सप्तरीको राजविराज पुर्ख्यौली थलो भएका व्यवसायी हुन् । उनको बाबु, बाजे मोरङको विराटनगर सरेपछि त्यहाँ उनले सानो–तिनो उद्योग चलाए । किशोरको सिमेन्ट र रडबाट बन्ने बिजुलीको कङ्क्रिट पोल बनाउने उद्योग सिरहाको लहान छेउमा छ । सोही उद्योगबाट उनले कङ्क्रिटकै ‘ह्‍युम पाइप’समेत उत्पादन गर्दै आएका छन् । यही उद्योग देखाएर उनी ‘बिजुलीको पोल एसोसिएसन’को स्थापना कालदेखि नै अध्यक्ष छन् ।

पछिल्लो समय विद्युत् प्राधिकरणले कङ्क्रिटको पोल भाँच्चिने र दुर्घटना बढ्ने जोखिम भएपछि बिस्तारै  विस्थापित गर्न थालेको छ । सडक विभागले पनि नयाँ–पुराना सडकमा ह्‍युम पाइप बिछ्याउन छाडेपछि किशोरको उद्योग धरासयी बन्दै गएको छ । विराटनगरमा उनले सानो क्षमताको औषधि उद्योग पनि चलाएका थिए तर छोटो समयमै बन्द भयो । यसरी उद्योग व्यवसाय नै नभएका किशोरलाई महासङ्घमा ल्याउन रुचि नभए पनि पशुपति मुरारकाको टिम बाध्य भएर अघि बढेको स्रोतको भनाइ छ । ‘चण्डीराजको विपक्षमा उभिन किशोर प्रधान मात्र तयार देखिएपछि उनैलाई समर्थन गर्न पशुपति मुरारकाको टिम लागेको हो । यो उनीहरूको बाध्यता पनि हो’ स्रोतको भनाइ छ ।

दुई प्यानल भिड्दै

महासङ्घको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारद्वय चन्द्र ढकाल र किशोर प्रधानले प्यानल बनाएर चुनावी लडाई लड्नेछन् । किशोर प्रधानले करिब–करिब टिम बनाइसकेका छन् । उनको प्यानलमा तीन उपाध्यक्षमध्ये एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ देखिएका छन् ।

अघिल्लो निर्वाचनमा ढकाललाई निर्विरोध एसोसिएट उपाध्यक्ष हुन सौरभ ज्योतिले उम्मेदवारी नदिएर सघाएका थिए । त्यसैले यो पटक ढकाललाई आफ्नो प्यानलमा एसोसिएट उम्मेदवार खडा नगरेर सौरभलाई ‘गुन’ तिर्नुपर्ने बाध्यता छ । यद्यपि, ढकालका समर्थकले एसोसिएटमा उम्मेदवार खडा गरेर बलियो प्यानल बनाउन सुझाव दिइरहेका छन् ।

एसोसिएट उपाध्यक्षका उम्मेदवार ज्योति बलियो प्रत्याशी हुन । उनको समूहसँग मात्र १ सय ५० भन्दा बढी एसोसिएट भोट छ । ज्योति ग्रुपका निर्देशक सौरभको समूहले अटोमोबाइल, जलविद्युत, स्टिल, सिमेन्टलगायत व्यवसायका तीन वटै क्षेत्र (उद्योग, व्यापार र सेवा) मा लगानी गरेको छ । बस्तुगत उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ नेपालमा हुण्डाई कारको अधिकृत आयातकर्ता लक्ष्मी ग्रुपका निर्देशन हुन् । उनको समूहले सुजल डेरी, हुण्डाई र एसएमएल इसुजु गाडी, प्लास्टिक उद्योग, जलविद्युत, साल्ट ट्रेडिङ कर्पोरेसनलगायतमा लगानी गरेको छ । यो समूहले चाँडै सिमेन्ट उद्योग पनि सञ्चालनमा ल्याउन लागेको छ । त्यस्तै अर्का प्रत्याशी दिनेश श्रेष्ठ अग्रणी स्टेशनरी व्यवसायी हुन् । उनले इलेक्ट्रिक कार र स्कुटरको समेत कारोबार गर्दै आएका छन् । खाद्यान्न क्षेत्रमा पनि उनको लगानी छ । दिनेश श्रेष्ठ अघिल्लो कार्यकाल पनि उपाध्यक्ष थिए । अहिले महासङ्घको प्रदेश ३ कार्यसमिति अध्यक्ष र काठमाडौँ जिल्ला उद्योग वाणिज्य सङ्घको अध्यक्ष छन् ।

चन्द्र ढकालले भने औपचारिक रूपमा प्यानल घोषणा गरिसकेका छैनन् । उनी भावी अध्यक्ष शेखर गोल्छासँग अन्तिम छलफल गरेर अगाडि बढ्न चाहेका छन् । यद्यपि, आन्तरिक रूपमा उनले टोली भने तयार गरिसकेका छन् । उनको प्यानलमा बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ उठ्ने पक्का भएको छ । जिल्ला नगरमा भने बागलुङका गुणनिधि तिवारी उठ्न चाहिरहेका छन् । एसोसिएट उपाध्यक्षमा उम्मेदवार तय भइसकेको छैन ।

अघिल्लो निर्वाचनमा ढकाललाई निर्विरोध एसोसिएट उपाध्यक्ष हुन सौरभ ज्योतिले उम्मेदवारी नदिएर सघाएका थिए । त्यसैले यो पटक ढकाललाई आफ्नो प्यानलमा एसोसिएट उम्मेदवार खडा नगरेर सौरभलाई ‘गुन’ तिर्नुपर्ने बाध्यता छ । यद्यपि, ढकालका समर्थकले एसोसिएटमा उम्मेदवार खडा गरेर बलियो प्यानल बनाउन सुझाव दिइरहेका छन् ।

ढकालको प्यानलमा एसोसिएट उम्मेदवार हुन आयात निर्यात व्यवसायका अग्रणी अखिल चापागाईँ लबिङ गरिरहेका छन् । टर्कीका लागि अवैतनिक महावाणिज्यदूतसमेत रहेका चापागाईँ अघिल्लो चुनावमा भने कार्यसमिति सदस्यमा पराजित भएका थिए । त्यसैगरी सुनचाँदी व्यवसायी ज्योत्सना श्रेष्ठ (मेरीगोल्ड ज्वेलर्स) लाई पनि ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्ष उठाउन दबाब बढेको छ । रत्न तथा आभूषण सङ्घको अध्यक्षसमेत रहेकी ज्योत्सनालाई एसोसिएट उपाध्यक्ष बनाए सबै किसिमको सहयोग गर्ने सन्देश साहिल अग्रवालले चन्द्र ढकाललाई पठाइसकेका छन् । साहिल अग्रवाल जगदम्बा ग्रुपका निर्देशक हुन् । यो समूहले सिमेन्ट, डन्डी, क्लिंकर, जस्तापाता, अटोमोबाइललगायत ठुला पूर्वाधार क्षेत्रमा लगानी गरेको छ ।

साहिल अग्रवाल र ज्योत्सनाको श्रीमान् सुरेश श्रेष्ठ नजिकका साथी हुन् । त्यसैले ज्योत्सनालाई चन्द्र ढकालको प्यानलमा एसोसिएट उपाध्यक्ष बनाउन साहिलले सघाउने बचन दिएका छन् । वर्तमान कार्यसमिति सदस्य ज्योत्सनाले एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दिए सौरभ ज्योतिलाई निक्कै गाह्रो पर्ने देखिन्छ । किनभने एसोसिएटतर्फ चन्द्र ढकाल, साहिल अग्रवाल, अखिल चापागाईँ र ज्योत्सना श्रेष्ठको समूहले मात्र करिब ४ सय भोट ओगटेर राखेको छ । झन्डै आधा मत परिवारभित्रै भएको उम्मेदवार खडा हुँदा ज्योतिको अगाडि ठुलो पर्खाल उभिएझैँ हुनेछ ।

ढकालको प्यानलबाट  बस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिने तय भएका उमेशलाल श्रेष्ठ नेपालको कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठका छोरा हुन् । उनी औषधि उद्योगीका रूपमा परिचित छन् । उमेशलालको पक्षमा सत्तारुढ नेकपा सजिलै उभिन सक्नेछ । यस्तो अवस्थामा किशोर प्रधानतर्फ ढल्किएका अञ्जन श्रेष्ठलाई चुनाव जित्न निक्कै गाह्रो हुनेछ । उमेशलाल श्रेष्ठ वर्तमान कार्यसमितिमा पनि बस्तुगततर्फका उपाध्यक्ष नै हुन् ।

यस्तो छ चुनावको अङ्क गणित

महासङ्घको विधान अनुसार आगामी निर्वाचनबाट ढकाल र प्रधानमध्ये जो विजयी हुन्छ, उही आगामी तीन वर्षपछि स्वतः महासङ्घको अध्यक्ष हुनेछ । त्यसैले वरिष्ठ उपाध्यक्षमा सबैभन्दा पेचिलो प्रतिस्पर्धा हुने गर्छ । महासङ्घको चुनावमा देशभरका उद्योगी, व्यवसायीले भोट हाल्न पाउँदैनन् । भोट हाल्ने निश्चित मापदण्ड छ । ७७ जिल्लामा महासङ्घको १ सय १३ वटा जिल्ला उद्योग वाणिज्य सङ्घ छन् । ती सङ्घका अध्यक्षले मात्र महासङ्घको केन्द्रीय निर्वाचन प्रणालीमा मताधिकार प्रयोग गर्न पाउँछन् । जिल्ला उद्योग वाणिज्य महासङ्घको मतभार ५० प्रतिशत राखिएको छ ।
त्यस्तै अलग–अलग व्यवसायिक क्षेत्रको छाता सङ्गठनहरू (उदाहरणका लागि नेपाल एलपी ग्यास उद्योग सङ्घ, चिनी उद्योग सङ्घ, डेरी उद्योग सङ्घलगायत) पनि महासङ्घको सदस्यका रूपमा आबद्ध छन् । जसलाई बस्तुगत सङ्घ भनेर चिनिन्छ । महासङ्घमा यस्ता बस्तुगत सङ्घ १ सय ३ वटा आबद्ध छन् । यसमध्ये १ सय १ वटा बस्तुगत सङ्घसँग महासङ्घको केन्द्रीय निर्वाचन प्रणालीमा मताधिकार छ । यस्ता बस्तुगत  सङ्घका अध्यक्षले चुनावमा भोट हाल्ने प्रावधान छ । १ सय १ बस्तुगत सङ्घका अध्यक्षले हालेको भोटलाई ३० प्रतिशत मतभार मान्ने गरिएको छ  ।

त्यसैगरी विभिन्न व्यवसायिक घरानाले सञ्चालन गर्दै आएका निजी कम्पनी (उदाहरणका लागि हंसराज एन्ड हुलासचन्द्र कम्पनी, आइएमई अटोमोटिभ्स, जगदम्बा स्टिल इण्डस्ट्रिजलगायत)हरू महासङ्घको एसोसिएट सदस्यका रूपमा आबद्ध छन् । यस्ता एसोसिएट सदस्यको सङ्ख्या ९ सय ६४ रहेको छ । एउटै व्यक्ति वा व्यवसायिक घरानाको नाममा जति कम्पनी दर्ता छन्, ती सबैलाई एसोसिएट सदस्यका रूपमा महासङ्घले स्वीकार गरेको छ । यस्तो एसोसिएट सदस्यको भोटलाई २० प्रतिशत मात्र मतभार मान्ने गरिएको छ ।

यसरी जिल्ला उद्योग वाणिज्य महासङ्घको भोटलाई ५० प्रतिशत, बस्तुगत सङ्घका अध्यक्षले दिएको भोटलाई ३० प्रतिशत र निजी कम्पनीका  सञ्चालकले दिएको भोटलाई २० प्रतिशतको मतभार गणना गरी चुनावी नतिजा निकाल्दै आइएको छ ।

महासङ्घको बस्तुगततर्फ १४ जना कार्यसमिति सदस्यमा निर्वाचित हुने प्रावधान छ । दुई प्यानलबाट २८ उम्मेदवार हुनेछन् । त्यसैगरी एसोसिएटतर्फ १८ जना कार्यसमिति सदस्यमा निर्वाचित हुने प्रावधान छ । यसमा दुई प्यानलबाट करिब ३० जना उम्मेदवार हुने देखिएको छ । केही उम्मेदवार दुवै प्यानलको समर्थनमा उठ्ने छन् । जिल्लास्तरका व्यवसायीबाट ६५ जना कार्यसमिति सदस्यका रूपमा आउनेछन् । प्रत्येक प्रदेशबाट १–१ जना गरी यसपटकदेखि थप ७ जना कार्यसमिति सदस्य समेत आउनेछन् ।

यो पनि