बैशाख १५, २०८१, शनिबार
               

प्रहरी हाकिमको फण्डा : ‘मेस सुधार’ चर्चा कि यथार्थ !

नेपाल फ्ल्यास
फागुन १४, २०७६

ADVERTISEMENT

काठमाडौँ । नेपाल प्रहरीमा कामभन्दा बढी चर्चा कमाउने होड चलेको छ । काम एकातिर, चर्चा अर्कोतिर हुन थालेको छ । नियम कानुन एकातिर तर काम अर्कोतिर हुन थालेको छ । नयाँ हाकिम आएपछि प्रहरी कार्यालयमा नयाँ नयाँ फण्डा सुरु हुन्छ । प्रहरीका केही हाकिमहरूले संस्थागत काम गर्नुभन्दा फण्डा गरेर चर्चा कमाउनुलाई सफलता ठानेका छन् । 

आफू कसरी चर्चामा आउने भन्ने ‘हिरोइज्म’ले गाँज्न थालेको छ । त्यस्तो हिरोइज्म प्रत्युत्पादक पनि बन्दै गएको छ । इमान्दारिता साथ काम गर्नेभन्दा छोटो समयमा चर्चा बटुल्न काम गर्नेहरूको सङ्ख्या दिनदिनै बढ्न थालेको छ । धेरैलाई नवराज सिलवाल, रमेश खरेल, सर्वेन्द्र खनाल, राजेन्द्रबहादुर सिंह, कुमार कोइराला बन्ने भोक जागेको छ । उनीहरू आफ्नो पालामा युनिट कमान्डमा अब्बल थिए । तर कोही पछि सङ्गठन कमान्डमा असफल भएका उदाहरण पनि छन् । 

यस्तै चर्चामा विश्वास गर्दै नयाँ नयाँ फण्डा गर्ने हालका डिआइजी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेल पनि एक हुन् । सिनियरलाई उछिनेर डिआइजीमा बढुवा भएका उनी पछिल्लो समय आफूभन्दा एक ब्याचीलाई पनि उछिनेर एआइजी हुने र आइजिपीसमेत बन्ने दौडमा छन् । एक्लै डिआइजी बढुवा हुन सङ्गठनले खटाएको ठाउँमा समेत नगई अटेर गरेर शक्ति केन्द्रको आडमा डिआइजी बढुवा भएका पोखरेल डिआइजी भएपछि प्रवक्ता पनि भएका थिए । त्यसपछि रानीपोखरी कार्यालयमा प्रमुख भए । उनी प्रमुख भएको दुई महिना पनि नबित्दै प्रहरीको मेस सुधारमा लागे ।

झट्ट हेर्दा काम राम्रो हो । मेस सुधार पनि गर्नुपर्ने अवस्था छ । तर प्रहरीकै बजेटबाट मेस सुधार गरिएको भए त्यहाँ कसैले प्रश्न उठाउने ठाउँ थिएन । मेस बनाउने पैसा कहाँबाट आयो ? त्यो विषय अपारदर्शी छ । उनको अभियान अहिले हाकिम र जवानले मेसमा एउटै खाना खानुपर्ने भन्ने छ । यो कार्यक्रम प्रहरीभित्रै विवादित बनेको छ । कुनै पनि देशमा सिपाही र हाकिमको एउटै मेस हुँदैन । यसले चेन अफ कमान्डमै असर पार्न सक्ने चिन्ता प्रहरी अधिकारीको छ । हाकिमको अगाडि बसेर खाना खान सिपाहीलाई समेत अफ्ठेरो हुने भएको छ । ‘सिपाहीको छुट्टै मेस हुँदा साथीहरूबीच रमाइलो गफ गर्दै खानपिन हुन्थ्यो । अब हाकिमलाई स्यालुट ठोक्दै खाना खानुपर्ने अवस्थामा भयो । मेस राम्रो बनाउने अभियान नराम्रो होइन । तर पद्धति मिलाउन सकिएन भने प्रत्युत्पादक हुनसक्छ’, एक अधिकृतले भने ।

चार वर्षदेखि सिपाही र हाकिमले बराबर रासन भत्ता पाउँछन् । नगदमै राशन भत्ता पाउने भएकाले आफ्नो गच्छेअनुसार राशन खरिद गरेर खाने गरिन्छ उनीहरूले नै मेस चलाउने गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले मेस राम्रो बनाउन भनेर कुनै पनि बजेट छुट्ट्याएको छैन । बजेट नछुट्ट्याएका कारण वृत्त र प्रभागका हाकिमहरूलाई बजेट व्यवस्थापन गर्नुपर्ने समस्या आइपरेको छ । ‘बजेट छैन डिआइजी साबले जसरी पनि व्यवस्थापन गर भन्नुहुन्छ, घरिघरि त सरुवा मागेर हिँडौँ कि जस्तो लागिसक्यो । कसलाई भन्ने व्यापारीसँग माग्यो भने घुस खायो भन्ने आरोप लाग्छ’, वृत्तका एक अधिकारीले भने । 

प्रहरी स्रोतका अनुसार मेस सुधारको नाममा उपत्यका प्रहरीहरूले स्थानीय व्यापारी र गुन्डासँग मागेर वृत्त तथा प्रभागहरूले यति बेला मेस चलाइरहेका छन् । उनीहरूसँग पैसा मागेर मेस बनाएपछि प्रहरी र गुन्डाका सम्बन्ध तथा प्रहरी र व्यापारीको सम्बन्धमा पनि सुधार आएको छ । प्रहरी प्रधान कार्यालय भने यो विषयमा मौन रहेको छ । 

डिआइजी पोखरेललाई तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको विश्वास जितेबापत अघिल्ला ब्याचका केही र आफ्ना ब्याचका प्रहरी अधिकृतभन्दा सिनियर बनाएर एसएसपीमा बढुवा गरिदिए । कर्मचारी प्रशासन शाखामा रहेका पोखरेलले त्यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेको पनि सोर्स लगाएका थिए । त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुख भएर गएपछि त्यहाँ पनि विवादित बनेका थिए ।

प्रहरी नियमावलीविपरित पोखरेल महानगरीय प्रहरी कार्यालयमा हुँदा बैङ्कसँग पैसा लिएर कर्मचारीलाई ५० हजार रुपैयाँको पुरस्कार बाँडे । प्रहरी नियमावलीविपरित पैसा बाँडेपछि उनी विवादमामात्रै परेनन् । सो पुरस्कार नै खारेज भयो । त्यसपछि नयाँदिल्लीस्थित राजदूतावासमा सरुवा भएको थियो । तर विभागलाई अटेर गरी लागुऔषध ब्युरोमा सरुवा मिलाएर शक्ति केन्द्र धाएर डिआइजीमा बढुवा भए ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलेको दबाबमा सरकारले उनलाई डिआइजीमा बढुवा गरेको थियो ।

यो पनि