बैशाख २४, २०८१, सोमबार
               

मेलम्चीवासीका चुँडिएका सपना, कुँडिएका मन

ADVERTISEMENT

काठमाडौंमा असाध्यै सुनिएको नाम मेलम्ची । मेलम्ची खानेपानी आयोजनाका कारण सधैँ चर्चामा रहेको मेलम्ची । त्यही नामबाट बनेको बजार मेलम्ची बजार । सिन्धुपाल्चोकको पूर्वी क्षेत्रको सदरमुकाम हो यो । जिल्ला सदरमुकाम चौतारा भए पनि पूर्वी भेगका बासीहरूलाई टाढा पर्छ । पूवी क्षेत्र र विकट क्षेत्रको मेलम्ची बजार केन्द्र हो । 

मङ्गलबार गएको बाढीले यही मेलम्चीलाई इपिसेन्टर बनायो । केही घण्टामै बाढीले तहसनहस बनाइदिएको सोही क्षेत्रको स्थलगत रिर्पाेटिङको लागि हामी शुक्रबार निस्कियौँ । बाढी गएको तेस्रो दिन हिँड्यौं विपत्तिले निम्त्याएको विनाश नियाल्न । काठमाडौं मेलम्चीको विनाशको फोटो तथा भिडियो देखेरै मन कुँडिएकै थियो । 

काठमाडोंको कोटेश्वर बनेपा, धुलिखेल, पाँचखाल, जिरो किलो, मेलम्ची–हेलम्बु सडक हुँदै हामी अघि बढ्यौँ । काभ्रेको मण्डल देउपुर हुँदै इन्द्रावती किनारको कोरिडोरै कोरिडोर मेलम्ची बजारको यात्रामा थियौँ । सिपाघाट, बाहुनपाटी हुँदै गन्तव्यतर्फ लाग्दै थियौँ । बाहुनपाटीसम्म केही किमी अघि बढ्दा इन्द्रावती नदीले खासै क्षति पुयाएको देखिँदैन । थोरै अघि बढेपछि नदीले कृषियोग्य जमिन कटान गरेको देखिन्छ । लहलह फलेका मकै तथा बालीनाली फलेको बारीका पाटासम्म नदीले कटान गरेका छन् । मेलम्ची बजारतर्फ लाग्दै गर्दा मेलम्ची नगरपालिका-९ मा पुगेपछि टाढैबाट देखिन्छ– ‘बाढीको ताण्डव’ । 

अधिकांश घर कि त ढल्केका थिए कि लडेका की पुरिएका थिए । मेलम्ची–हेलम्बु सडक छेउका बस्तीहरू बगर झैँ देखिन्थे । घरबार गुमाएका केही मानिसहरू सडकमा बालबच्चा बोकेर राहतको प्रतीक्षामा देखिन्थे । चार दिनअघिको मेलम्चीका श्रीसम्पन्न उनीहरु अहिले कसैले केही राहत देला र खान पाउँला भन्ने आसमा बसेका थिए । त्यसमाथि काख र पिठ्यूँमा दूधे बालबालिका बोकेका महिलाहरू हेर्दा आँखा टिलपिल भयो । 

विपद् बाजा बजाएर आउँदैन । मेलम्चीवासीले यो कुरा सुनेका थिए । तर, भोगेका थिएनन् । मङ्गलबार आँखा अगाडि यी सबै विपत्तिको उनीहरूले मन ढुङ्गा बनाएर सामना गरेका रहेछन् । बाटोमा भेटिएकाहरू केही कुरा गर्‍यौँ ।  बाढीले आफ्नै घर बगाएको टुलुटुलु हेर्नेबाहेक अरू विकल्प उनीहरूसँग थिएन । तर, राम्ररी त्यो पनि हेर्न पाएनन् ।

हामी अझै अघि बढ्दै जाँदा लेदोसहितको बाढीले घरका दुई तल्लासम्म पुरिएका भेटिए । त्यसैले, फाट्टफुट्ट मात्र घरहरूका छतहरू देखिन्थे । केही घरका माथिल्लो तल्लाहरू मात्र देखिन्थे । धेरैजसो घर टहराहरू माथि देख्नै नसक्ने गरी पुरिएका स्थानीय बताउँथे । 

इन्द्रावती नदी किनार वरपरका बजार तथा बस्तीका अधिकांश घरहरू आधि पुरिएका थिए । सडक छेउका केही घरहरू मात्रै सकुशल थिए । मेलम्चीको मुख्य बजार पुगेपछि मेलम्ची नगरपालिका ११ पुगेपछि झन् अवस्था दर्दनाक देखिन्थे । नदीको कटानले बचेका केही घरहरू समेत जोखिममा थिए । नेपाली सेनाको कालीजंग गण जाने बाटोबाट अघि बढ्दा इन्द्रावती नदीले आफ्नो धार परिवर्तन गर्दै बजारतर्फ ल्याएको रहेछ । सडक छेउमा रहेका घरहरूतर्फ नदीले कटान गर्दै थियो ।

अघि बढ्दै जाँदा एउटा पुल आउँछ । पुल तरेपछिका दृश्यले झनै आङ सिरिङ्ग बनाउँछ । मेलम्चीको मुख्य बजार आमाहेलम्बु बसपार्क बगरमा परिणत भएको देख्न सकिन्छ । मेलम्ची हेलम्बु सडकसम्म बाढी पसेको रहेछ । सडकछेउका घरको भुईतलामा मात्र क्षति थियो । सडकबाट नदी किनारतर्फ जाँदा भने दुई तलासम्म पुरिएको देखियो । 

मेलम्चीमा नयाँ-नयाँ घर तथा कतिपय बन्दै गरेका घरहरू दुई तल्लासम्म पुरिएका दृश्यले छाती भारी भयो । अगाडी मेलम्चीमा धमिलो पानी बग्दै थियो । लाग्थ्यो, फेरि ठूलो बाढी आउन सक्छ, हामी पनि फेरि यस्तै चपेटामा पर्न सक्छौँ । बजार बगरमा परिणत भएपछि घरघरका छत तथा बरन्डामै बगरको सतह थियो । घरका तेस्रो तल्लासम्म छोपेको बगरको सतह हिँड्दै गह्रौँ मन लिएर अगाडि बढ्दै गर्दा सडक छेउछाउका दृश्यले मन झनै विचलित बनाउँदै थियो । 

जीवनभरको कमाइ एकै निमेषभरमा गयो

बाढीले पुरिएका घरको दोस्रो तल्लाहरू सफाई गर्दै थिए । कोही माथिल्लो तलामा बचेका सामग्रीहरू झिक्दै थिए । कोही पसलबाट पानीले भिजेका दाल, चामल नुनलगायतका सामग्रीहरू झिक्दै थिए । हरेक घरहरू काटेर अगाडि बढ्दा झनै पीडादायी दृश्य देखिन्थे । अझै अघि बढ्दा खुट घुँडासम्म आउने गरी गाडिन्थ्यो । त्यसपछि हामी अघि बढेनाैं  । 

जहाँ बालुवा कङ्क्रिटको थुप्रा र काठका मुढाहरू बाहेक केही थिएन । सुन्दर बजारलाई बगरमा विस्थापित गरेको देखिन्थ्यो । केही स्थानीय त्यही खण्डहरमा भेटिए । आफ्नो पक्की घर, गाडी, घरका सबै सामान लगेको उनीहरु बताउँथे । हामी त्यति बेला साबिकको हेलम्बु बसपार्कमा रहेछौँ । स्थानीयले सुनाए, ‘यो बसपार्क हो, दुईवटा गाडी त बसपार्कमा थियो । त्यो बाढीले बगायो ।’ तर हामीले बसपार्कको नामनिसान देख्न पाएनौँ । 

गाउँबाट नुन–तेल किन्न झरेका गाउँलेहरू बाढीको क्षति हेर्न आएका भेटिए । कोही टाढा टाढाबाटसमेत बाढीको क्षति नियाल्नकै लागि आएका थिए । राहत दिनको लागि गएकाहरु पनि बगरमा परिणत भएको बजार हेर्न आएका थिए । थोरै मात्र पीडितहरू बचेखुचेका सामानहरू झिक्न आएका थिए ।

घरको तेस्रो तल्लाको सामान झिक्दै गरेकी ३१ वर्षीय सीता श्रेष्ठले आफूहरूमाथि डाँडामा रहेको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा आश्रय लिएर बसेको बताइन् ।

‘बाढी आउनेबित्तिकै केही बिजुलीका पोल ढले । बत्ती गयो । चारैतिर अँध्यारो । मोबाइलको लाइट बालेर भाग्यौं । अलि माथि गएर हेर्दा घरको पहिलो तल्ला पुरिहाल्यो’ उनले भनिन् ‘त्यसपछि यो ठाउँलाई मैले हेर्न सकेको थिइनँ । बल्ल भारी मन गरेर आज आएकी हुँ ।’

सास छ, छैन गाँस र बाँस 

घर पुरिएपछि स्थानीयहरू माथि ईन्द्रेश्वरी स्कुलमा आश्रय लिएका बसेका रहेछन् । उनीहरूको सपना बाढीले उडाएको छ । सास छ । तर, गाँस र बाँस टुङ्गो छैन । स्थानीय तह तथा राहत लिएर काठमाडौंबाट गएकाहरूले उनीहरूलाई राहत वितरण गरिरहेका छन् ।

बजार र बसपार्क आसपासका कुनै पनि घर बस्न लायकका थिएनन् । थातथलो छोड्न मन नभएका स्थानीयवासी अहिले पनि पुरिएकै घरको माथिल्लो तल्लामा भए पनि बस्न मिल्छ कि भन्दै थिए । तर, अझै बाढीको खतरा भएकाले त्यहाँ नजान सुरक्षाकमीहरुले आग्रह गरिरहेका थिए । बाढीपीडित बासिन्दा दुईवटा विषयले नराम्रोसँग त्रसित रहेछन् । पहिलो बस्ती स्थानान्तरणको कुराले र दोस्रो राहत नपाउने कुराले । आफूले दश नङ्ग्रा खियाएर सिर्जना गरेको ठाउँ र जीवनभरको मेहनत बगरमा परिणत भएपछि उनीहरु दुखी त छँदै छन् अaको भविष्यका बारेमा उनी चिन्तित देखिन्छन् । 

मेलम्ची बजारमा एक सय बढी घर क्षति भए पनि अरू बाँकि नै छ । तर, पनि पहिरो र बाढी दुवैको उच्च जोखिम रहेको बजारकै भविष्य अन्योलमा छ ।

पुल चुँडिएपछि घर जान पाएनन्

घरपछि बाढीको निशाना पुल बनेका रहेछ । केही मोटरेबल पक्की पुल नै बगाएर तल बगरमा लगेको थियो । मेलम्ची बजारबाट नवलपुर–चौतारा जाने दुई वटा पुल थिए । एउटा झोलुङ्गे ।

 जुन २०६५ सालतिर बनेको स्थानीय बासिन्दा बताउँछन् । अर्को पक्की पुल । जहाँबाट गाडी ओहोरदोहोर गर्थे । अहिले ती दुवै पुलको नामनिसान थिएनन् । ती पुल नहुँदा अहिले माथि गाउँ जाने सडक सञ्जाल छिनेको छ । मेलम्ची बजारमा कोठा भाडामा लिएर बस्नेहरू घर जानसमेत पाएका छैनन् । 

नदी किनारामा कहिलेबाट बस्ती बस्यो ?

हरेक विपद् झेलेकालाई त्यसको कारण थाहा हुन्छ । तर, मेलम्चीबासीलाई यत्ति मात्रै थाहा छ, नपत्याउँदो खोलाले बगायो । बाढीले बिचल्ली बनायो । उठिबास लगायो । उनीहरूको सारा सपना हुरीझैँ एक रातमा उडाएर लग्यो । तर, अहिलेसम्म थाहा छैन, बाढी कसरी आयो ? के कारण आयो ? जबकि बाढीले घर बगाउने खालको वर्षा मेलम्चीमा भएकै थिएन । 

सधैँ शान्त इन्द्रावती भएकैले उनीहरूले त्यही नदीलाई सिरानी हालेर सुतेका थिए । पहिला बगरमा खेत थियो । स्थानीयका अनुसार खोला किनारमा केही घट्ट थिए । वरिपरि थोरै छाप्राहरू थिए । माथि गाउँका मानिसहरू तल घट्नमा गहुँ मकै पिस्न आउँथे । तल बिस्तारै बस्ती बढ्दै गयो । व्यापार व्यवसाय चल्यो । मानिसहरू बिस्तारै व्यवसाय बढेपछि नदी किनारको बालुवा र बगरमै भए पनि पक्की घर हाल्न थाले ।

यसरी बजारमै सानो टहरा हुँदै बस्ने घर हाल्ने क्रम २०४० सालदेखि सुरु भएको मेलम्ची नगरपालिका ८ का वडाध्यक्ष टङ्कराज गिरी बताउँछन् । मेलम्चीमा कहिल्यै ठूलो बाढी नआउने भएपछि माथि गाउँबाट समेत मानिसहरू तल झर्न थालेका हुन् । वडाध्यक्ष टङ्कराज गिरी भन्छन् ‘२०४० सालबाट बिस्तारै मानिसहरू बढ्दै गए, २०५० सालदेखि त्यहाँ टहराबाट ठूला घर बन्न सुरु भयो । जुन क्रम साठीको दशकमा पक्की घरबाट पनि बगरमै महलमा परिणत भए ।’

२०७२ मा भूकम्प गयो । सिन्धुपाल्चोकमा क्षति भयो । गाउँमा पहिरोको डर भएपछि बजार झर्ने लहर आयो । भूकम्पपछि नयाँ घर बनाउन मानिसहरू तलै बजारमा आए ।

कति पीडित भए, अझै तथ्याङ्क छैन

मेलम्ची बजारबाट सीधा माथि मेलम्ची नगरपालिका कार्यालय छ । जो किनारकै माथि डाँडामा छ । तर त्यो भवनमा बस्ने जनप्रतिनिधिले शुक्रबारसम्म बाढीबाट कति विस्थापित भए ?

 यकिन तथ्याङ्क निकालेका देखिएन । नगर प्रमुख डम्बर अर्यालले भने ‘हामीले तथ्याङ्क निकालिरहेका छौँ । हामीलाई थाहा भयसम्मका पीडितलाई राहत दिइरहेका छौँ । खान बस्न पाइन भन्नेहरूलाई आश्रय दिइरहेका छौ ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि