बैशाख १५, २०८१, शनिबार
               

मूर्ति र मानिसलाई ईश्वर नमान्ने आस्तिक म

चेतन पाण्डे
जेठ २१, २०७७

ADVERTISEMENT

मानिस कहिल्यै भगवान् बन्न सक्दैन । अनि मानिसको देवत्वकरण पाखण्ड मात्र हो । अनि लाग्छ, जिउँदा मानिसलाई ईश्वरको उचाइ दिएर पुज्नु भ्रम र अन्धविश्वासको पराकाष्ठा हो । पाखण्डको अन्तिम सिमाना ।

हुन त म नास्तिक होइन । मूर्ति पुज्ने आस्तिक पनि होइन । तर, मन्दिर नजिक पुग्दा श्रद्धाले शिर झुक्छ नै । आफ्नै जस्तो शरीर र चेतना लिएर जन्मिएकालाई ईश्वरको श्रेणीमा राख्नु नै कसरी ? मेरो मनले यो कहिल्यै मानेन । 

होला, विद्वताका आधारमा आफैँले आफूलाई भगवान् भनाउनेले केही बढी बुझे होलान्, मैले कम । मैले धर्मग्रन्थ अध्ययन गरिन होला, उनीहरूले गरे । म वाकपटुतामा चलाख छैन होला, उनीहरू होलान् । धर्मको व्याख्या गर्ने चतुरता ती मनुहरूभन्दा मसँग कमै होला, त्यो पनि मान्छु । उनीहरूको हेराइको भाका र मुस्कान अरूलाई लोभ्याउने होला, मेरो नहोला । यही आधारमा मैले यो घोर कलियुगमा मानिसको चोलामा जन्मिएकालाई ईश्वर मान्नु आवश्यक पनि छैन । केही जादुटोना जानेकै भरमा । आखिर हाम्रो धर्मको कुनै शास्त्रमा भगवानहरुले जन्म लिइरहन्छन् भनेर पनि कतै उल्लेख भएको छैन होला, मैले जाने बुझे अनुसार ।

कोही भगवान् भएर जन्मन्छ भने उसले यो लोकका लागि पनि सामान्य मानिसभन्दा केही बढी योगदान दिएकै हुनुपर्ने होइन र ? त अहँ, आजसम्म भगवानका नाम झुन्डाउन सफल कसैले यो लोकका लागि केही गर्न सकेको मैले पढेको छैन, सुनेको छैन । केही अविश्वसनीय कथा सुन्नु सिवाय । टेलिभिजनका स्क्रिनमा चटके पारामा प्रस्तुत हुनेहरू बाहेक । 

हुन त हाम्रै धर्मले हामीलाई ३३ करोड भगवान् दिएकै छ । अनि किन चाहियो, थप भगवान् ? तर, मलाई धर्मलाई साथ लिएर समाजलाई केही गरौँ भन्ने व्यक्ति भने असाध्यै मन पर्छन् । त्यसैले साईबाबाका समाजसेवी पक्ष निकै मन पर्‍यो, बाँकी सबै प्रचार ।

भगवान् नै जन्मिएका हुन् भने त उसका कारण समाजमा केही परिवर्तन पनि आएकै हुनुपर्थ्यो । समाज संस्कारी पनि बनेकै हुनु पर्थ्यो । वरिपरि झुम्मिएर मन जितेकालाई मात्र हात हल्लाएर मुसुक्क हाँस्दै सुनका सिक्री वा औँठी दिएकै भरमा भगवानको श्रेणीमा उक्लिन सकिँदैन भन्ने कुरामा म पूर्ण विश्वस्त छु । अनि अनेकौँ भावभङ्गी सहित फिल्मी शैलीमा दिइने प्रवचनले हुललाई मन्त्रमुग्ध त पार्न सकिएला तर, भगवान् बन्न सकिँदैन । अनि टिकट बेचेर आफ्नो दर्शन गराउन सकेकै भरमा कसरी भगवान् बन्न सकिएला र ?

यसरी हामी ब्रह्माण्डभन्दा पर फैलिएको सनातन धर्मलाई नै सङ्कुचित बनाउँदै छौ । दूषित बनाउँदै छौँ । अथाह ज्ञानले भरिएको धर्मलाई दुष्टात्माको हातमा सुम्पिएर बदनाम गराउँदै पनि छौँ । 

हामी हिन्दु, अलि दिलदार पनि छौँ, उदार पनि । जस्तो लाग्छ । त्यसैले हुलका हुल भगवान् हाम्रै धर्ममा जन्मन्छन् । एउटा भारतीय चलचित्रको संवाद छ, ‘हामी भगवानलाई माया गर्दैनौँ, भगवानसँग डराउँछौ !’ त्यसैले हामी उसका हरेक रूप र उसका नाममा हुने ढोँगसँग भयभीत हुन्छौ, अत्तालिन्छौ । मलाई लाग्छ, हाम्रा यही कमजोरी नै हाम्रा धर्मको मर्ममाथि प्रहार गर्ने कारण बन्दै छ । गाउँ–सहरमा क्रसका चिन्हलाई फैलाउने कारण बन्दै छ । ‘होली वाइन’ सेवन गर्नेहरूको सङ्ख्या बढाउने कारण पनि बन्दै छ । यो पनि लाग्छ, जीवनमा कुनै पनि दिन जन्मदिने आमा र कोखबाटै लिएर आएको संस्कार परिवर्तन गर्न सकिँदैन, मिल्दैन, हुँदैन । तर, धन र लोभका अगाडि सबै दर्शन मिथ्या बन्दो रहेछ ।

अहिले हाम्रो मुलुकमा यही भइरहेको छ । हाम्रो धर्म संस्कारमा परचक्रीले खेल्ने मौका पाइरहेका छन् । हामीलाई नै गोटी बनाएर । अनि पो आफैँले पुजेको गाईको मासु पोलेर ‘बार्बाक्यु’ खाइरहेका छौँ ।

हुन त म मूर्तिमा पनि भगवान् देख्दिनँ । त र, किन हो किन मलाई हिन्दु धर्म नै आफ्नो जस्तो लाग्छ । प्यारो लाग्छ । यो धर्मभित्रका पाखण्ड होइन, जीवनका रसहरूको वर्णन नै मिठा लाग्छन् । यो धर्मले सिकाएका संस्कार र पद्धति राम्रा लाग्छन् । तर, यही धर्मभित्रका जात–पात, छुवाछुत भने यही समाजको क्रूर रचना झैँ लाग्छन् । भगवानको प्यारो रचनामा समाजले स्वार्थका लागि कोरेका घिनलाग्दा वक्र रेखा झैँ ।

०००

मेरा ममी–बाबा दुवै जागिरे भएका कारण बेला बखत मेरो रेखदेख एउटा ज्यापू (हिजोआजको सन्यताको सूचकले लेख्न मिल्छ कि मिल्दैन थाहा भएन) ले गर्थ्यो । ‘बुद्धिमान’ ।

जँड्याहा बुद्धिमान मलाई हेरेर घरमा बस्दैन थियो । जाँड खान हिँड्थ्यो । भट्टी, भट्टी । कहिले चाबहिल तिरै, कहिले बौद्धतिर । म पनि त्यसको काँधमा सवार भएर जान्थे । भट्टी, भट्टी । शायद पिलाइ पनि दिन्थ्यो होला, एकाध घुट्की छ्याङ्ग । साह्रै माया गर्थ्यो । जाने–सुनेसम्म ममी–बाबा घर बाहिर गएको बेला बुद्धिमान कहाँ रात बिताउन मन गर्थेँ, मावलीभन्दा पनि । उसले गर्ने मायामा आफ्नोपन देख्थेँ ।

भट्टी–भट्टी चहारेपछि घर आउँदा उसलाई सबैले गाली गर्थे । बच्चा बोकेर किन गएको भन्थे । मुसुक्क हाँस्थ्यो । उसकै लवजमा सबैलाई फकाउँथ्यो पनि । मलाई उसको लवज साह्रै मन पर्थ्यो । त्यही सङ्गतले हो कि के हो, मलाई पनि धेरै पछिसम्म दिदी–दाजुहरूले तोते बोलेको भनेर जिस्क्याउँथे । सङ्गतको असर पनि मिठै हुँदो रहेछ । 

बुद्धिमानसँग कै सङ्गतले होला, नेवारहरूमा पनि म आफ्नोपन देख्छु । जात–भातको असमान खाल्डा भत्किएको महसुस गर्छु ।

अनि हिजोआजका सभ्य भाषामा के भन्छन् कुन्नि, हामी भने कामी दाइ भन्थ्यौँ । हाम्रै घर नजिक उनको सानो कारखाना थियो । खेल्दा प्यास लागे उसकै पसलमा पानी मागेर पिइन्थ्यो । सुरु सुरुमा त दिन मान्दैन थिए । भन्थे, उनले छोएको हामीले खान हुँदैन भनेर । तर म ढिपी कसेर खाइ छाड्थेँ । यो समाजले शायद उनको मनमा तँ तल्लो जातको भन्ने भ्रम कोचेको होला र पो ।

आफैँले आफैँलाई सानो सोच्नुपर्ने यो कस्तो समाजको रचना ? जसले धर्मको रचना गरे, उनले नै यो समाजको पनि रचना गर्नु पर्थ्यो । अनि पो धर्म झैँ यो समाजको चेतना पनि फराकिलो बन्न सक्थ्यो । अनि पो कर्णलाई तल्लो जातका भनेर पुज्ने उपल्लो जातिले आफ्नै आँखा अगाडिका उभिएका तथाकथित तल्लो जातिको गालालाई पनि स्नेहले सहलाउन सक्थे होलान् । अनि पो समाजमा चेतना फैलन्थ्यो होला, मानिसको जात जन्मले होइन कर्मले निर्धारण हुन्छ भन्ने ।

त्यसैले धेरै दुख लाग्यो, प्रेमका लागि नवराज विकले ज्यान गुमाउनु पर्दा । त्यो पनि छुवाछुतका नाममा, जातपातका नाममा ।

०००

सनातन धर्मका रसहरूको अध्ययन गर्न प्रशस्त बाँकी नै छ, मैले । तर, यो धर्मको प्रचारमा रचिएका पुस्तक होइन, यही धर्मले सिकाउने जीवनका दर्शन भने असाध्यै प्यारा लाग्छन् । महाभारतका कथाभन्दा गीताका सार यथार्थ लाग्छन् । रामायणका कथा र पात्रभन्दा पनि त्यो कथाले ओछ्याएका संस्कार प्रिय लाग्छन् । कसलाई भगवान् मान्ने वा नमान्ने त्यो व्यक्तिगत बुझाइमा नै भर पर्छ । त्यसैले होला, म उ त्यो सूर्यमा भगवान् देख्छु । उ त्यो बादलमा देख्छु । हावामा देख्छु । नदीमा देख्छु । दिनमा देख्छु । रातमा देख्छु । यो जगत्मा विचरण गरिरहेका हरेक जीवभित्र भगवान् देख्छु । बस्, भगवान् देख्दिन त पाखण्डीका मनभित्र, सोचभित्र ।

हाम्रो धर्ममा ढोँग अत्यधिक छ । कहिले काहीँ लाग्छ, कर्म काण्डीको अत्यधिक दोहन सहेर हामीले आफैँलाई पापी बनाइरहेका छौँ । धर्मको नाममा थाहा नपाउँदा नपाउँदै पथ भ्रष्ट पनि भइरहेका छौँ ।  
कर्म काण्ड पनि हाम्रै धर्मको अङ्ग हुन सक्ला ? यो समाजलाई नैतिक आचरणमा बाँध्ने सूचक पनि हुन सक्ला ? तर, धर्म कमाउने बाटो कदापि बन्न सक्दैन । बोतामा हालेर दिने दानले धर्म किन्न सकिँदैन, पाप बेच्न सकिँदैन ।

त्यसैले मलाई मूर्ति पूजामा होइन, दिन दुखीको सेवामा धर्म कमाइन्छ, जस्तो पनि लाग्छ । लाग्छ, अनेकौँ कुतर्क प्रस्तुत गरेर मानिसले पेट पाल्नका लागि धर्मको नराम्रो दोहन गरिरहेका छन् । नजानिँदो पारामा पापका अनेकौँ धम्की दिएर पेट पाल्ने व्यवसाय पनि सनातन धर्म कै नाममा भइरहेको छ । यस्ता कार्यले हाम्रो धर्मको राम्रा पाटाहरूलाई कहिल्यै बाहिर ल्याउन सकिएको छैन । जसले धर्म संस्कारको कुरा गरे, उसले कुनै न कुनै बहानामा प्रताडित हुनु परेको छ ।

हामीले पढेका छौँ, सुनेका छौँ । समयको कालखण्डमा महान् ऋषिमुनि, योगी, महात्माहरू जन्मिए । जसले कहिल्यै धर्मलाई भ्रष्ट र नष्ट हुन दिएनन् । सनातन धर्मलाई तिखार्ने प्रयास मात्र गरे । सहीलाई सही र गलतलाई गलत नै भने । सामाजिक बनोट र संस्कारलाई परिभाषित गरे । धर्म र पापको स्पष्ट व्याख्या गरे । तर, यो कलियुगमा धर्म पनि कमाइको साधन बनेको छ । धर्मको परिभाषा दिन दुखीको सेवामा होइन, बोता र दुनामा राखिने नोटले तय गर्न थालेको छ । ऋषिमुनिका तर्कमाथि वितर्क गरिँदै छ ।

०००

४–५ पटक पुगियो होला, पुट्टपर्ती । सत्य साईबाबा जीवित रहेका बेला । उनको शान शौकतले कहिल्यै तानेन, मलाई । भव्य साम्राज्य खडा गरेका थिए र अहिले पनि होला नै । एउटा गरिब घरमा जन्मिएका व्यक्तिले धर्म कै नाममा अकुत सम्पत्ति कमाएका रहेछन् । भगवान् मरेर गइसके तर उनको समाधिले पनि अथाह धन कमाइरहेकै होला । 

म पहिलो पटक जाँदा आफ्नै खुट्टामा उभिनसक्ने साईबाबा २–४ वर्षभित्रै ब्हिलचेयरमा बस्नुपर्ने बाध्यतामा आइसकेका थिए । कसैको सम्मानलाई आहत गर्ने रहर होइन तर, कलियुगका भगवान् बिरामी पनि हुँदा रहेछन् र साधारण मानिस झैँ मर्दा पनि रहेछन् । अनुयायी भन्छन्, ‘मानिसको चोलामा जन्मिएपछि, मानिस झैँ मर्नु त पर्‍यो नि !’ अनि विरोध गर्नेको शैली त कठोर हुन्छ नै । सबैको कुरा पत्याए झैँ गर्नै पर्‍यो, नपत्याए पनि ।

उनलाई ईश्वर मानेर आफ्ना दुख बिसाउन आउनेको सङ्ख्या नै अत्यधिक हुन्थ्यो, त्यहाँ । आखिर मानिस भनेको जीव नै यस्तै हुन्छ । दुख परेपछि मात्र भगवान् सम्झने । त्यहाँ फरक केही थिएन । बस्, फरक थियो त, धर्मको सार मात्र । त्यहाँ कोही हिन्दु, मुस्लिम वा इसाई थिएनन् । सबै जना सबै धर्म मान्थे । ‘सर्व धर्म’ । जात र धर्मभन्दा माथि उठेको थियो, त्यो बस्ती । त्यो भने सही लाग्यो ।

आफ्नो समाजका लागि सत्य साईबाबा राम्रा समाजसेवी रहेछन् । भगवानको चोलामा कमाएको धनले मरुभूमि जस्तो आफ्नो गाउँलाई बस्न र बाँच्न लायक ठाउँ बनाएका रहेछन् । राम्रा वाचक पनि रहेछन् । तर्क दिएर कुरा राख्न सक्दा रहेछन् । तरपनि, उनीभित्र मैले ईश्वर देख्न सकिन । ईश्वर भएका भए त आफू जन्मिएको भूगोलभन्दा बाहिर पनि केही गर्थे होलान् नि । केही नभए आफ्नै मुलुकमा व्याप्त गरिबी, अशिक्षा, बेरोजगारी अनि धर्मका नाममा हुने हिंसा त अन्त्य गर्न सक्थे होलान् नि ? त्यति पनि गर्न नसक्ने के भगवान् ? हामीले रचेको धर्म दर्शनले नै भगवान् भनेको त अलौकिक शक्तिका मालिक हुन्छन् भनेरै परिभाषित गरेकै छ । त्यसैले मेरो निष्कर्ष रह्यो, जिउँदा मानिसले भक्त त बनाउन सक्लान् तर, आफैँ भगवान् बन्न सक्दैनन् ।

हुन त हाम्रै धर्मले हामीलाई ३३ करोड भगवान् दिएकै छ । अनि किन चाहियो, थप भगवान् ? तर, मलाई धर्मलाई साथ लिएर समाजलाई केही गरौँ भन्ने व्यक्ति भने असाध्यै मन पर्छन् । त्यसैले साईबाबाका समाजसेवी पक्ष निकै मन पर्‍यो, बाँकी सबै प्रचार ।

बेचिएको, लुटिएको धर्म संस्कारलाई पुनर्स्थापित र पुनर्परिभाषित गर्ने उनको उद्देश्यले पनि निकै मन छोएको छ । हुन त म उनको अनुयायी होइन तर, कसैले यो भूमि, यो राष्ट्रको सम्मान गर्छ, समृद्धिको कामना र पहल गर्छ भने सधैँ साथ दिनुपर्छ भन्ने मान्यता भने मनमा जताततै पोखिएका छन् ।

पछिल्लो समय समाजसेवीका रूपमा चतरालाई मुकाम बनाएका महायोगी सिद्ध बाबाका रूपमा परिचित वैष्णव कृष्णदास गिरीको नजिक जाने एकाध मौका पाएको थिएँ । ठाडो बोलीमा केही रूखोपन मिसिएको भए पनि व्यक्ति भने असल लागे । उनले आफैँलाई भगवान् भनेनन्, उनका अनुयायीले पनि सिद्ध योगी कै रूपमा लिएका छन् । कसैले भगवान् भनेर पुज्छन् पनि होला । त्यसमा मेरो समर्थन कहिल्यै रहँदैन । म व्यक्ति हेरेर आफैले आफ्ना लागि बनाएका दर्शन परिवर्तन गर्न जान्दिन वा सक्दिन ।

अहिले कारागारमा छन् । बलात्कारको आरोपमा, पुर्पक्षका लागि । 

लोग्ने मानिसका असीमित चाहना मध्ये यौन पनि एक हो । तर, कुराकानी र उनको हाउभाउ हेर्दा लाग्थ्यो सिद्ध बाबाले कामोत्तेजनामा पनि जित हासिल गरेका छन् । कानुनले के व्याख्या गर्ला ? उनलाई अपराधी वा निरपराध घोषित गर्ला ? त्यो भविष्य कै गर्भमा छ । किन ती महिलाले बलात्कृत भएको झन्डै डेढ महिनापछि उजुरी दिइन् ? बलात्कृत महिलाले त बलात्कारको लगत्तै उजुरी दिनुपर्ने होइन र ? यस्ता प्रश्नको जवाफ पनि अदालतको फैसलासँगै आउला नै ।

मेरो सरोकार भनेको उनले गर्न लागेका कामप्रति मात्र छ । सनातन धर्म र यो राष्ट्रप्रतिको उनको अगाध स्नेहमा मात्र छ । यो भूमिमा गाई काटिनु हुन्न भन्ने मेरो चाहनामा उनको स्पष्ट अडान छ । अरू महात्माहरूको पनि होला । तर, मैले अरू योगी, महात्माको सामीप्य नपाएर पनि हुनसक्छ, सिद्ध बाबाको विचार मन परेको । यकिन छ, राम्रा विचार सबैको मन पराउन पाइन्छ ।

हरित क्रान्तिको माध्यमबाट नेपाललाई आयुर्वेदमा सम्पन्न बनाउने उनको अभियान वास्तवमा हामी जस्तो मुलुकका लागि अति उपयोगी हुनसक्छ । हामी आफूलाई स्रोत र साधन विहीन भन्छौ तर, आफ्नै आँखा अगाडि उम्रिएका धनको पहिचान गर्न असमर्थ छौँ । नेपालमा फल्ने जीवन रक्षाका बुटीलाई संसारभरी फैलाएर मुलुकलाई समृद्ध बनाउँछु भन्ने उनको चाहनाले पनि निकै आकर्षित गरेको छ ।

बेचिएको, लुटिएको धर्म संस्कारलाई पुनर्स्थापित र पुनर्परिभाषित गर्ने उनको उद्देश्यले पनि निकै मन छोएको छ । हुन त म उनको अनुयायी होइन तर, कसैले यो भूमि, यो राष्ट्रको सम्मान गर्छ, समृद्धिको कामना र पहल गर्छ भने सधैँ साथ दिनुपर्छ भन्ने मान्यता भने मनमा जताततै पोखिएका छन् । यस्ता सोच पाल्ने हरेक व्यक्ति आफ्ना झैँ लाग्छन् । प्रिय लाग्छन् ।

अनि कसैले मेरो राष्ट्रलाई बाँच्न लायक बनाउनु पर्छ भन्छ । मेरो धर्मलाई सम्मान गर्न लायक धर्म बनाउनु पर्छ भन्छ । अनि मेरो समाजलाई सुसंस्कृत बनाउनु पर्छ र त्यसमा मेरो प्रयास रहन्छ भन्छ । अनि मेरो भूमिलाई पराइ धर्मको कुदृष्टिबाट बचाउने प्रयास गर्छ भने उसका सय पाप पनि माफ गरिदिऊँ झैँ लाग्छ । किनकि मैले पुजेको गाईको हत्या मेरो भूमिमा हुनु हुँदैन ।

त्यसैले लाग्छ, राष्ट्रियतालाई काँधमा बोकेर हिँड्ने व्यक्तिहरूले एक अर्काको खुट्टा तान्ने भन्दा पनि हातेमालो गरेर अगाडि बढ्ने हो भने एक दिन यो राष्ट्रलाई रगत होइन, सिम्रिकले रङ्गाउन सकिने छ । किनकि मलाई सिम्रिक मन पर्छ । मेरो धर्मको रङ्ग । मेरो राष्ट्रको रङ्ग । मेरो रगतको रङ्ग ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि