बैशाख १४, २०८१, शुक्रबार
               

हाम्रो सार्वभौमिकतामा भारतीय मिडियाको बाँदर उफ्राइ

चेतन पाण्डे
जेठ ०८, २०७७

ADVERTISEMENT

साह्रै छुद्र छन्, हाम्रो छिमेकी भारत र उसका मिडिया । आफ्ना हरेक कुरा सधैँ सही र अरूका सधैँ गलत मान्ने । न अरूको कुरो सुन्ने धैर्यता नतै अरूको भावना बुझ्न सक्ने विवेक । विवेक शून्य छन्, हाम्रा छिमेकी र उसका मिडिया ।

अहिले त महाकालीको वास्तविक उद्गमस्थल पूर्वका विषय मात्र उठेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरासहित भारतले मिचेका अन्य भूभागको विषय पनि उठान भयो भने कति गर्जिएलान्, मकैको ठेट्ना झैँ ती भारतीय मिडियाहरू । मनीषा कोइरालाको मात्र एउटा ट्विटमा अत्तालिनेहरू । दरिद्र मानसिकताका पराकाष्ठा नाघेर ।

मनीषा नेपाल कै छोरी हुन् । हामीलाई जति थाहा छ, उनीहरूलाई पनि । उनले स्टारडमको लोभमा कहिल्यै आफू भारतीय भएको स्विकारिनन् । जसरी उदित नारायण झा स्विकार्छन् । अनि मनमा देश बोकेर हिँड्ने कसको आत्मा नबिझाउँला र छिमेकीले चटक्क आफ्नै भूमि काटेर खाँदा । हामीले आखिर बिर्सन पनि मिल्दैन मनीषा तिनै बिपी कोइरालाकी नातिनी हुन्, जसले राष्ट्रका अहितका कुनै सम्झौता गरेनन् । जेल स्विकारे तर पराधीनता स्विकारेनन् । 

अनि कसको छाती गर्वले नफुल्ला ती अतिक्रमित भूमि फिर्ता ल्याउने पहल हुँदा । मैले अहिलेसम्म कहिल्यै यो सरकारले गरेका कामलाई राम्रो भनिन । गर्न सकेन र नै भनिन । प्रधानमन्त्री केपी ओली शर्माका उत्ताउला र सस्ता भाषण पनि पनि कहिल्यै पचाउन सकिन । तर, सरकारले नेपालको वास्तविक भूगोलसहितको प्रशासनिक नक्सा सार्वजनिक गर्दा मनैदेखि एक पटक धन्यवाद दिएँ । अनि अब भूमि पनि फर्काओस् भन्ने कामना गरेँ, कूटनीतिक र राजनीतिक पहलमार्फत ।

सार्वभौम राष्ट्रका लागि भूमि भूगोलको एउटा टुक्रा मात्र होइन, आमा पनि हुन् । कसको मन चसक्क हुँदैन होला त केक झैँ आमाको शरीरको मासु काट्दा ? अनि कप्लक्क खान नपाएर बरबराउँदा ।

मनीषा त मात्र एउटा प्रतिनिधि पात्र हुन् । नेपालको कदममा समर्थन जनाउने । भूमि फिर्ता हुनु पर्छ, जसरी पनि हुनु पर्छ भन्ने अनि मनीषाका भन्दा कडा विचार र व्यवहार देखाउन सक्ने करोडौँ नेपाली अहिले पनि ज्युँदा छन् । भारतले बुझ्नु पर्छ । एउटा कलाकारको हुर्मत लिएर सारा नेपालीलाई झुकायौँ भन्ने भ्रम नपाल्नु नै बेस हुन्छ ।

भारतले नेपालको भूमि मिचेर उसको प्रशासनिक नक्सा सार्वजनिक गर्दा साह्रै हँसिला देखिन्थे, ती मिडियाहरू । नेपालले आफ्नो मिचिएको भूभाग गाभेर नक्सा सार्वजनिक गर्दा भने बारुलाले नाकमा चिले झैँ व्यवहारमा उत्रिएका छन्, भारतीय मिडियाहरू । नेपालकै सार्वभौमिकताको विरोधमा । नेपालले आफ्नो भूमिलाई आफ्नो भन्दा, निकै टाउको दुखेको छ तिनीहरूको ।

सार्वभौम राष्ट्रका लागि भूमि भूगोलको एउटा टुक्रा मात्र होइन, आमा पनि हुन् । कसको मन चसक्क हुँदैन होला त केक झैँ आमाको शरीरको मासु काट्दा ? अनि कप्लक्क खान नपाएर बरबराउँदा । अनि एउटा छिमेकीको स्वाभिमानको कसरी सम्मान गर्नु पर्छ भन्ने नैतिकता समेत देखाउन सकेका छैनन्, उनीहरूले । भारतीय मिडियाहरूले स्टुडियो बोलाएर भारतको नीतिको पक्षमा गराउने वकालतले पनि गलतलाई सही बनाउन सक्दैन । ती भारतीय विज्ञ भनिनेहरूको काग रटानले नेपालको मिचिएको भूभागको लालपुर्जा उनीहरूलाई दिन सकिँदैन भन्ने सरल तथ्यबाट पनि अछुतो छैनन् होला, उनीहरू । 

सीमा समस्या सल्टाउन नेपालले बारम्बार वार्ताको गुहार गर्दा पनि कानमा तेल हालेर बसेको भारत अहिले भने नेपालले वार्ताको टेबलमा कुरा राख्नुपर्ने तर्क पनि गर्दै छ । एक हिसाबमा नेपालको यो कदम रणनीतिक हिसाबमा पनि सही देखिएको छ । तर, नेपाललाई चीनले उकासेको भनेर भारतले लगाउने आरोपले दुई देशबिच अहिलेसम्म रहेको असल मित्रता ठुलै खाल्डो पर्ने सम्भावना भने बलियो हुँदै गएको छ ।

आफ्नो भूमिको माग गर्न हामीलाई कसैले उकास्न पर्दैन भन्ने भारतले बुझ्नै पर्छ । आखिर सदियौँदेखि आफ्नो सीमाको रक्षा गर्दै कसैको पराधीनता स्वीकार नगर्ने राष्ट्रको गर्व गर्ने अधिकार हामीसँग छ । जुन अधिकार भारतसँग पनि छैन ।

अहिले भारतीय मिडियाहरूले सस्तो प्रचारका लागि प्रयोग गरेका भाषाले उनीहरूको स्तर झन् कति गिराउँछ भन्ने बुझ्न सकेनन् । मनीषाको लालन पालन नै भारतले गरे झैँ भाषा प्रयोग गर्नु उनीहरूको कमजोर मानसिकता हो । मनीषाले भारतको खाएकी छैनन् । बरु, भारतीय चलचित्र उद्योगलाई गुण लगाएकी छन्, आफ्नो क्षमताका कारण । उनीहरूले बुझ्न सक्नु पर्थ्यो, नाम र दामका लागि त उनका लागि नेपाल झन् उर्वर थियो र छ । अनि किन यो बाँदर उफ्राइ ? आफ्नो अधिकांश जवानी भारतीय चलचित्र उद्योगलाई सुम्पिएकी मनीषाको विरोध गर्नुले भारत र उसको मिडिया कति कमजोर मानसिकताबाट ग्रसित छ भनेर बुझ्न गाह्रो छैन । 

शायद भारतीय मिडियाले सस्तो लोकप्रियताको लोभमा कहिल्यै सुगौली सन्धि पढ्ने फुर्सद पनि पाएनछन् । अझ सन् १९५० को सन्धि त के नै पढेको होलान् र ? सुगौली सन्धिमा प्रस्ट रूपमा नेपालको भूमि कहाँदेखि कहाँसम्म छ भन्ने उल्लेख छ । तर, सन् १९५० को नेपाल–भारत सन्धिलाई केलाउने हो भने त भारतीय मिडियाहरूको तुच्छ बोलीमा झन् कसरी लगाम लाग्छ होला ? तर्कनामा नै मन आनन्दित हुन्छ ।

सन् १९५० को सन्धिले नेपाल र भारतबिच त्यसअघि भएका सबै सन्धि–सम्झौता खारेज गर्ने उल्लेख छ । त्यो सन्धिको त्यही बुँदालाई समातेर नेपालले भोलि कुनै मञ्चमा कुरा उठाउने हो भने नेपालको भूगोल टिस्टादेखि काँगडासम्म फैलने छ । अनि कालापानीलाई सार्वभौम भारतको भूमि भनेर नथाक्ने भारतीय मिडियाको मुख कति रातो हुन्छ होला ? तर, नेपालले आफ्नो मर्यादा जानेको छ । छिमेकीको स्वाधीनताको कसरी सम्मान गर्ने भन्ने पनि बुझेको छ ।

भारत सधैँ हाम्रो छिमेकी रहनेछ । भूगोलले हामीसँग गरेको घातलाई परिवर्तन गर्न सक्दैनौँ । हाम्रो व्यापार जीविकोपार्जनका अधिकांश हिस्सा भारतसँग आश्रित छ । हाम्रो अर्थतन्त्र भारत कै नाभिसँग जोडिएको छ । यो नै हाम्रो ठुलो दुर्भाग्य भएको छ, अहिले । अर्को छिमेकीको भौगोलिक विकटताका कारण पनि हामी भारतमाथि आश्रित भइरहनु पर्ने बाध्यता पनि छ । यही यथार्थ बुझेको भारत हामीसँग सधैँ हेपाहा व्यवहार गर्छ । हाम्रो स्वाभिमानमा ठेस पुर्‍याइरहन्छ ।

शक्तिशाली झूट बोल्दा पनि सही हुन्छ भन्ने मानसिकताबाट पनि ग्रसित छ, भारत । हामी उसको निगाह बिना चल्न सक्दैनौ भन्ने कुरा राम्रोसँग थाहा छ, उसलाई । बेला बेला चुपचाप उसले थोपर्ने नाकाबन्दी हाम्रो गालामा हात घुमाएर हान्ने थप्पड बन्छ, हामीले बुझेका छौँ । तर, त्यसको अर्थ हामी स्वाभिमान बेचेर उसको दास बन्न सक्दैनौँ । यो पनि त्यति नै सत्य छ जति जन्म र मृत्यु । हामीले भारतले लगाएका नाकाबन्दीमा उसको नाक रगडेका छौँ भन्ने कुरामा पनि राम्रै जानकार छ ऊ । हामीले हार्न जानेका छैनौँ, इतिहासले निकै पटक प्रमाणित पनि गरिसकेको छ ।

भारतीय जनता पार्टी र उसका प्रधानमन्त्री नरेन्द्र मोदी सरदार बल्लभभाइ पटेलका कट्टर हिमायती हुन् । पटेल त्यही नेता हुन्, जसले भारतको स्वतन्त्रतासँगै नेपाललाई आफैँमा विलय गराउने प्रण गरेका थिए । साना राष्ट्र भारतको छिमेकी रहनु हुँदैन भन्ने कुतर्क गर्थे । उनकै डिजाइनमा निजाम र कश्मीर भारतको अधीनमा आयो । ती साना मुलुकसँग उनको डिजाइनमार्फत जस्तो छल गरियो, त्यही छलपूर्ण व्यवहार नेपालसँग पनि गर्न चाहन्थे । भारतको स्वतन्त्रतामा नेपालीले दिएका बलिदानसमेत बिर्सिएर । 

नेपालप्रति भारतको नीति अहिले पनि त्यही छ, जुन पटेल र इन्दिरा गान्धीको थियो । सिक्किमलाई भारतमा विलय गराएपछि नेपालमा आँखा गाडे झैँ । पूर्वी पाकिस्तानलाई बङ्गलादेश बनाए झैँ । इन्दिरा गान्धी पनि नेपाललाई भारतमा  विलय गराउन चाहन्थिन् । तर, भारतको कु–कूटनीति त्यस मामिला भने असफल बन्यो । अहिले मोदी बिस्तारै त्यही पथतर्फ लम्कँदै छन् कि भन्ने गन्ध आइरहेको छ ।

भारतको नीति सधैँ नेपाललाई आफ्नो औँलाको इसारामा नचाउने हुन्छ । उसको कु–नीतिमा जब नेपालले झट्का दिन्छ, ऊ पागल हुन्छ । अनि उही एउटै अस्त्र प्रयोग गर्छ, नाकाबन्दी । सम्भवतः विश्व अहिले कोरोना भाइरसको महामारीसँग नजुधिरहेको भए भारतले नजानिँदो तरिकाले त्यो अस्त्र प्रयोग गरिसक्थ्यो ।  

भारतीय प्रधानमन्त्री मोदी त्यही सरदार पटेललाई आदर्श मान्छन् । त्यही पटेलको भीमकाय प्रतिमा आफ्नो राज्य गुजरातमा उभ्याएका छन् । आफूलाई शिवको भक्त देखाउने मोदीभित्र दुर्योधनको अंश गाभिएको छ । त्यसैलाई उनी सेनाका जनरलहरूलाई वरिपरि राख्न लगाएर रक्षा मन्त्री राजनाथ सिंहबाट नेपाली भूमिमा बनाएको सडकको उद्घाटन गर्न लगाउँछन् । अनि आफ्ना सेना प्रमुखलाई नेपालको विरोध गर्न आदेश दिन्छन् । घुमाउरो पारामा भारतीय सरकारले नेपाललाई दिएको युद्धसम्मको धम्कीका रूपमा यसलाई बुझ्न सकिन्छ ।

हामी त शिष्ट रहेछौँ । भारतीय मिडियाको तुलनामा । भारतीय सेना प्रमुखको तुलनामा । त्यहाँ सेना प्रमुखले एउटा नालालाई महाकालीको उद्गमथलो भनेर सेता झूट बोल्दा समेत धैर्यता देखाउन सक्ने साहस हामीसँग रहेछ । छिमेकी भूमिलाई आफ्नो भनेर दाबी गर्दा पनि निहुँ नखोज्ने धैर्यता पनि रहेछ ।

होला, युद्ध नेपाल–भारतबिचको विवादको समाधानको अस्त्र नहोला । तर, के भारत नेपालले आफ्नो सीमाका विषयमा प्रस्तुत गरेका प्रमाणहरूलाई स्वीकार गर्न सक्छ ? अनि के कुतर्क र नाकाबन्दी जस्ता अस्त्रले नेपालको सार्वभौमिकतालाई हडप्न र नेपालीलाई झुकाउन नखोज्ला ? अनि के सत्ताका लागि मरीहत्ते गर्ने नकचरो हाम्रा नेताहरूलाई उचालेर यो विषयलाई कमजोर बनाउन नसक्ला ? जसरी सरिता गिरीले सदनमा बोलिन्, अन्य नेताबाट पनि बोलाउन नसक्ला र ? अनि के उसले हडपेका भूमिहरू सजिलै फिर्ता गर्ला र ? हामीसँग त्यो कूटनीतिक पहल गर्न सक्ने हैसियत भएका नेता छैनन् । त्यसलाई तितो सत्यलाई स्विकार्नै पर्छ । हामी जहिले पनि विदेशीसँग झुकेका छौँ, हाम्रै नेताका कमजोरीका कारण । आफ्नै घरभित्र हुने सत्ता सङ्घर्षका कारण ।

हो हामी गरिब छौँ, अस्त्र–शस्त्रका हिसाबमा भारतभन्दा निकै कमजोर छौँ । तर, संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा भारतको मतको जति मूल्य हुन्छ हाम्रो पनि त्यति नै छ । उसको भूगोल विशाल होला । तर, उ पनि त्यति नै एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो जति हामी हौँ । हामीले उसको सीमाको जति सम्मान गरेका छौँ, उसले पनि हाम्रो सीमाको सम्मान गर्नु पर्छ । हाम्रो सार्वभौमिकताको सम्मान गर्न सक्नु पर्छ ।

अनि भारत र उसका मिडियाले बुझ्नै पर्छ । हामी उसका रैती होइनौँ बरु, उसका सीमाका रक्षक हौँ । वीर गोर्खालीले उनीहरूको अस्मिताको रक्षा गरिरहेका छन् भन्ने बुझ्नु पर्छ । जसले आफ्नो सीमाको रक्षा गरिरहेका छन्, खुसुक्क उसकै भूमि हडप्नु खोज्नु नीचताको हद हुन्छ ।

भारतले हामीसँग सधैँ झैँ गर्ने हेपाहा व्यवहारको अब अन्त्य हुनै पर्छ । उसले अब पनि हामीलाई उसको एउटा राज्यभन्दा तल्लो स्तरमा राखेर होइन, एउटा स्वतन्त्र राष्ट्रका रूपमा व्यवहार गर्नै पर्छ । हामीले पनि शिर ठाडो पारेर भारतसँग मिचिएका भूमि फिर्ता माग्नै पर्छ । बरु त्यसको विरोधमा भारतले चाल्ने कदमका लागि हामी पनि तयार रहनु पर्छ । हामीलाई थाहा छ, भारतले हामीविरुद्ध कुन अस्त्र प्रयोग गर्छ भनेर । हिजो नाकाबन्दीको डटेर सामना गरेका नेपालीले आफ्नो भूमिका लागि फेरी एक पटक हाँसेरै त्यस्ता अमानवीय कर्तुतहरूको सामना गर्ने नै छन् ।

बस्, हामीले हाम्रो भूमि फिर्ता माग्ने आँट गर्नुपर्छ । अनि यस्ता किचकिचबाट सदाका लागि मुक्ति पाउन सीमामा तारबार पनि गर्नै पर्छ । खुल्ला सिमानाले हामीलाई जति फाइदा पुगेको छ, त्यति नै भारतले पनि लिएको छ । जति बेफाइदा हामीलाई भएको छ, ठुलो मुलुक भएको आधारमा भारतलाई भएको छैन ।

अनि भारत र उसका मिडियाले बुझ्नै पर्छ । हामी उसका रैती होइनौँ बरु, उसका सीमाका रक्षक हौँ । वीर गोर्खालीले उनीहरूको अस्मिताको रक्षा गरिरहेका छन् भन्ने बुझ्नु पर्छ । जसले आफ्नो सीमाको रक्षा गरिरहेका छन्, खुसुक्क उसकै भूमि हडप्नु खोज्नु नीचताको हद हुन्छ । त्यसैले भारतले अब नीच बन्न छाड्नु पर्छ । सदियौँदेखिको सम्बन्धलाई अझ कसरी प्रगाढ बनाउने भन्ने तर्फ कदम चाल्नु पर्छ, त्यसका लागि हामी त सदा एउटा पाइला उचालेरै बसेका छौँ । साथै भारतीय मिडियाहरूले दुई देशबिचको सम्बन्धमा तिक्तता ल्याउने कार्यलाई रोक्नु पर्छ । अनि उनीहरूले यो पनि बुझ्नु पर्छ कि, हामी चीनका पनि रैती होइनाैैं । हामी चीनतिर पनि त्यति नै सहानुभूति राख्छौँ जति भारततिर । हामीलाई थाहा छ, हाम्रो परिधि । मित्रताको अनि शत्रुताको पनि ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि