बैशाख १५, २०८१, शनिबार
               

पुरुषोत्तम थापालाई कारवाहीपछि एन्फामा आरोप प्रत्यारोप

नेपाल फ्ल्यास
जेठ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली खेल क्षेत्रको सर्वाधिक विवादित इतिहास बोकेको संस्था अखिल नेपाल फुटबल सङ्घ एन्फामा फेरि विवादका स्वर सुनिन थालेका छन् ।

कार्यसमिति सदस्य पुरुषोत्तम थापालाई आगामी साधारणसभासम्म निलम्बन गरेपछि त्यस्तो असन्तुष्ट देखिएको हो । यो कदमपछि फुटबल सम्बद्ध क्षेत्रका व्यक्तिहरूले सामाजिक सञ्जालहरूमा टिप्पणी गर्न थालेका छन् ।

थापा आफैँले पनि आफूलाई पूर्वाग्रही भएर कारबाही गरिएको भन्दै त्यसविरुद्ध अपिल गर्ने बताएका छन् । उनले राष्ट्रिय खेलकुद परिषदमा पनि अपिल गर्ने जनाएका छन् ।

'एन्फा डे'को अवसर पारेर कार्यसमितिका वरिष्ठ उपाध्यक्षको शुभकामना सन्देशमा थापाले अपशब्द प्रयोग गरेको भन्दै ४८ घण्टामा लिखित स्पष्टीकरण मागेको थियो । जसमा थापासँग पाँच वटा प्रश्नको जवाफ दिन भनिएको थियो । तर थापाले स्पष्टीकरणमा एन्फालाई नै प्रश्न सोधेको भन्दै मंगलबार निलम्बन गरिएको थियो ।

उनको कारबाहीपछि फेरि एकपटक फुटबल क्षेत्रमा सरगर्मी तातेको छ । हालको कार्यसमितिको विपक्षमा रहेकाहरूले यसलाई अवैधानिक भनेका छन् । अहिलेको नेतृत्व पक्षधरहरूले भने यसलाई स्वाभाविक रुपमा लिएका छन् ।

अहिले एन्फाभन्दा बाहिरको शक्ति भनेर भनिएको पूर्वअध्यक्ष गणेश थापाले ललितपुर सङ्घका अध्यक्ष थापाको समर्थनमा फेसबुकमा असन्तुष्टि जनाएका छन् ।

यस्तै यो निर्णयको विरोधमा एन्फाका पूर्ववरिष्ठ उपाध्यक्ष मणि कुँवरले पनि आपत्ति जनाएका छन् ।

एन्फाका एक शीर्ष पदाधिकारीले निलम्बित थापाको जस्तो व्यवहार अरूले गरेमा एन्फा कारबाही गर्न नहिचकिचाउने बताए । पछिल्लो पटक एन्फा पदाधिकारी नै सोसल मिडियामा अनेकथरि लेख्न थालेकोले उनीहरूलाई पनि कारवाही गर्न सकिने ती पदाधिकारीले चेतावनी दिए ।

एन्फाको हालको कार्यसमितिको बुझाइ पुरुषोत्तम थापा सदैव आफ्नो विपक्षमा रहेको र एन्फाको कामलाई नकारात्मक रुपमा मात्र हेर्ने गरेको भन्ने छ । एन्फाबाट बाहिरिएको टिमसँग मिलेर अख्तियार तथा राष्ट्रिय खेलकुद परिषद्मा उजुरी हाल्ने काममा सक्रिय भएको, निर्वाचनका बेला भोट किनबेच गरेकोदेखि टेप प्रकरणमा पनि सक्रिय रहेको अहिलेका पदाधिकारीहरूको निष्कर्ष छ ।

एन्फाको कार्यसमितिको निर्वाचनमा थापाको नेतृत्वमा ललितपुर मणि कुँवरलाई जिताउने पक्षमा लागेका थिए । त्यसपछि उनीहरूले एन्फाको निर्वाचनमा भोट किनबेच भएको भन्दै पत्रकार सम्मेलन नै गरेका थिए । जसमा अडियो पनि सुनाइएको थियो । यसका साथै त्यसविरुद्ध एएफसी र फिफामा पनि अपिल गर्ने बताएका थिए । तर त्यो अहिले त्यतिकै सेलाएको छ । तर अब पुरुषोत्तम थापाको पछिल्लो कारबाहीले एन्फामा द्वन्द्व बढ्ने संभावना रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि