बैशाख १४, २०८१, शुक्रबार
               

मातृभूमिको करणीमा कहिलेसम्म मुस्कुराउने ?

चेतन पाण्डे
बैशाख २८, २०७७

ADVERTISEMENT

तीन वर्षअघि भारत, भुटान र चीनको त्रिदेशीय सीमा क्षेत्र दोक्लमको पठारमा चीनले पक्की सडक बनाउन खोज्दा फेरी एक पटक ती दुई मुलुकबिच युद्ध त हुने होइन ? भन्ने शङ्का उब्जिएको थियो । केही महिनासम्म भारत र चीनबिच त्यही विषयले तनाव बनिरहे पनि अवस्था नाजुक हुन पाएन । युद्ध बिना विवाद साम्य भयो ।

सन् २०१७ को त्यो घटनाको तीन वर्षपछि शनिवार मात्र त्यो क्षेत्र तनावग्रस्त बन्यो । मुद्दा नयाँ थिएन । तर पनि, दुई मुलुकका सैनिकबिच सामान्य छिनाझप्टी पछि विवाद साम्य भयो । युद्ध भएन । युद्ध कसैका लागि पनि सजिलो हुँदैन ।

मुद्दा उस्ता–उस्तै छ । मात्र फरक छ त, भूगोलको आकारमा । पेल्ने र पेलाइ खानेको बलियो वा कमजोर सोचमा । भारत र चीन कुनै काममा आउन नसक्ने भूमिको रक्षाका लागि बर्सेनि अरबौँ खर्च गर्छन्, युद्धमा पनि होमिएका छन् । सीमा कै लागि एउटै भूमिबाट टुक्रिएका पाकिस्तान र भारत पनि विभाजनसँगै कहिल्यै मित्र बन्न सकेनन् । तर, हाम्रो सबैभन्दा नजिकको मित्र, छिमेकी, ठुला दाइ जे भने पनि हुने भारत हामी नेपालीको नाकलाई जहाँ पायो त्यहीँ रगड्न छाड्दैन । अनि हाम्रा सरकार हाँसेर आफ्नो नाक रगड्न दिइरहन्छन् ।

धेरै पटक भनिसकियो, कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रको विवादित भूमि नेपालको हो भनेर । अनि आवश्यक सबै प्रमाण पनि जुटाइ सकियो । तर, कालो चस्मा लगाएर सुतिरहेको भारतले सधैँ कानमा तेल हाल्छ, नेपालले बोले जस्तो गर्दा । नदेखे झैँ, नसुने झैँ गर्छ, सधैँ नै ।

संसार कोरोना भाइरसको महामारीमा फसेको बेला भारतले धार्चुलाबाट सधैँ नेपालको रहेको भूमि लिपुलेकको छातीमा टेकेर चीनसम्म पक्की सडक बनाएछ । नेपाल सरकारले जति नाटक गरे पनि त्यो सडक बनाउँदा आफूलाई केही थाहा भएन भन्नु झुटको महाखेती हो । भनेन, त्यही ठुलाे कुराे बन्याे । समाचार बन्याे । भारतले सडक बनाएन मात्र धूमधामसँग उद्घाटन नै गरिसक्यो । बल्ल आएर हाम्रो सरकारले आँखा र कान खोलेको जस्तो गरेको छ । एक थान विज्ञप्ति निकालेर अनि संसद्मा जवाफ दिएर । तर, नेपालका लागि भारतका राजदूतसँग स्पष्टिकरण लिन समेत तर्सिरहेको छ । यस्तो सरकारमार्फत नेपाल र नेपालीको दाबी कसरी नयाँ दिल्लीसम्म पुग्ला खै ?

धेरै पटक भनिसकियो, कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रको विवादित भूमि नेपालको हो भनेर । अनि आवश्यक सबै प्रमाण पनि जुटाइ सकियो । तर, कालो चस्मा लगाएर सुतिरहेको भारतले सधैँ कानमा तेल हाल्छ, नेपालले बोले जस्तो गर्दा । नदेखे झैँ, नसुने झैँ गर्छ, सधैँ नै ।

जब सुगौली सन्धि भयो, कालापानी, लिपुलेक क्षेत्र कसैका लागि महत्त्वको भूमि थिएन । जब भारत र चीनबिच सामरिक शक्तिको महत्त्व बढ्दै गयो । तबदेखि हाम्रो भूमि हाम्रो रहन पाएन । हुन त एकाध पटक राष्ट्रभक्तिको स्वाङ रच्न भारतको विरोध गरे झैँ गरिएको विज्ञप्ति पनि परराष्ट्र मन्त्रालयले निकाल्छ ।

यसपालि एक कदम अगाडि बढेर सत्तारुढ दलका दुई अध्यक्ष महोदयले पनि भारतको विरोध गर्ने शैलीमा विज्ञप्ति निकाले । तर, यस्ता विज्ञप्तिले भारत सरकारको कानको रौँ समेत हल्लिँदैन भन्ने पनि उनीहरूलाई थाहा नभएको होइन । त्यो सडक भारतीय नम्बर प्लेटका गाडी चल्न रोकिन्छन् भन्ने पनि होइन । अब त्यही बाटो भएर हजारौँ तीर्थयात्री मानसरोवर जाने छन् । हामीले रोक्न सक्दैनौँ । आखिर त्यो सडकमा भारत मात्र होइन चीनको पनि राम्रै स्वार्थ जोडिएको छ ।

भारतले नेपालको सिमाना मिच्यो । यो सुगा रट्याइँ निकै समयदेखि रटिँदै आएको छ । तर, यो बिचमा हाम्रो सरकारले आफ्नो भूमिको रक्षाका लागि के गर्‍यो ? महत्त्वपूर्ण प्रश्न भने यो छ ।

कालापानी र वरिपरिका भूमि भारतका लागि सामरिक महत्त्वले जति आवश्यक छ, चीनसँगको व्यापारका लागि पनि त्यति नै महत्त्वपूर्ण छ । अहिले मानसरोवर जाने तीर्थयात्रीका नाममा बनाइएको सडक भोलि कुनै दिन भारत–चीन व्यापारका लागि प्रमुख मार्ग बन्ने छ । यसमा दुइमत छैन । त्यो बेला पनि नेपाल मूकदर्शक नै बनेर बसिरहन्छ, त्यसमा पनि कुनै दुइमत छैन ।

हुन त भारतको नियत भनौँ वा दुर्भाग्य । त्यो मुलुकको सीमा जोडिएको हरेक मुलुकसँग सीमा विवाद छ । हाम्रो पनि छ । हामीले अहिले कालापानी–लिपुलेकमा मात्र भारतको अति बलमिचाइँ देखि रहेका छौँ । तर, खुल्ला सिमानाकाको फाइदा उठाउँदै भारतले नेपालका निकै ठुलो भूमि बिस्तारै निलिरहेको छ । अहिले नै हामीले आफ्नो अडान स्पष्ट पार्न नसक्ने हो भने भोलि नागरिकस्तरमा नेपाल–भारत सम्बन्ध र सिमानाको कथामा नयाँ ‘ट्वीस्ट’ आउन नसक्ला भन्न सकिँदैन । 

हुनत नेपालले अङ्ग्रेजसँगको युद्धलाई सुगौली सन्धिमार्फत जबदेखि पूर्णविराम लगायो । त्यो पछि बनेका कुनै सरकारले नेपाली भूमिको रक्षाका लागि दह्रोसँग पाइला टेक्न सकेका छैनन् । नदी र भूमि बेच्न हाम्रा सरकारहरू पारङ्गत भइसके । बरु, भोलिदेखि हिमाल पनि बेच्न थाल्ने हौ कि भन्ने चिन्ता अहिलेदेखि नै गर्नु पर्ने हो कि ?

जहानियाँ राणा शासन त आफैँमा चाकडीको उत्तम नमुना थियो । त्यो व्यवस्थाको अन्त्यपछिका हरेक शासन व्यवस्था र शासकलाई हामी राष्ट्रवादी मान्छौँ वा उनीहरूको दाबी त्यही थियो र छ । तर, नेपाल र नेपालीले २००७ पछि पाएको कुनै व्यवस्था र सरकारले मातृभूमिको रक्षाका लागि भारत सामु शिर उठाएर कुरा राख्न सकेका छैनन् । चाहे त्यो हिजोको राजतन्त्र होस् वा काँग्रेस वा कम्युनिस्ट सरकार ।

जब मानिसको मनमा स्वार्थले बास गर्छ, त्यसपछि कुनै व्यक्ति र सरकारले राष्ट्रहितका लागि काम गर्न सक्दैनन् । बोलीमा जति फुइँ झारे पनि । ठुलदाइलाई रिझाउन सकेको खण्डमा सत्तामा लामो समयसम्म टिक्न सकिन्छ भन्ने गलत मानसिकताले हाम्रा नेताहरू ग्रसित छन् । त्यही मानसिकताका कारण विदेशी शक्तिलाई खेल्ने भूमिका रूपमा हामी चिनिन पनि थालेका छौँ ।

भारत, चीन मात्र के युरोप, अमेरिकाको पनि गरिब देशमाथि कसरी राजनीति गर्नु पर्छ भन्ने परीक्षणको थलो बनिरहेको छ, नेपाल । वास्तवमा हाम्रो ठुलो अभिशाप वा उत्पीडनको पहिलो र एकमात्र कारण भनेको गरिब वा सानो मुलुक हुनु मात्र होइन । यो मुलुकका सञ्चालकहरूको मस्तिष्कमा खाँदिएको सत्तालिप्सा र त्यसका लागि जुनसुकै हद पार गर्नसक्ने कमजोर मानसिकता पनि बलियो कारण हो ।

हुन पनि, कसैले मलाई भोग ! भनेर स्पष्ट भन्छ भने त्यसलाई नभोग्ने को होला र ? हामी अहिले त्यही भनिरहेका छौँ । हामी भन्न त आफूलाई सार्वभौमसत्ता सम्पन्न मुलुक भनेर दाबी गर्छौ । संयुक्त राष्ट्र सङ्घको सदस्य भएकोमा गर्व गर्छौ । तर, हामीमाथि विदेशीले जसरी खेलिरहेका छन्, त्यसलाई हेर्दा हामी विश्वको एक मात्र अन्तर्राष्ट्रिय भूमि बनेका छौँ जस्तो लाग्न थालेको छ । जहाँ जसलाई जे गर्न पनि छुट छ । बस् उ विदेशी हुनुपर्छ, नेपाली होइन । 

यो भूमिलाई चिथोर्न–निचोर्न सबैलाई खुल्ला छ । यो भूगोलका बारे आफू अनुकूल राय राख्ने छुट र अधिकार सबै बलिया मुलुकलाई छ । नेपालले आफ्नो नियम–कानुन कस्तो बनाउनु पर्छ भन्ने राय दिने छुट पनि सबै बलिया मुलुकलाई छ । कस्ता अपराधीलाई जेलमा राख्नु पर्छ र कस्तालाई कानुन लाग्दैन, कस्ताले कानुन प्रक्रियाबाट छुट पाउनु पर्छ भन्ने राय पनि विदेशबाटै आउँछ । बस्, आफ्नो राय राख्ने अधिकार छैन त मात्र नेपालीलाई । नेपालको हितका खातिर बोल्न पाउने अधिकार छैन त मात्र हामी नेपालीलाई ।

हाम्रो सीमा कहाँदेखि कहाँसम्म छ भन्ने जान्ने र हडपिएका जमिन माग्ने अधिकार कसैलाई छैन भने मात्र हामी नेपालीलाई छैन । आफ्नै देशमा विदेशी सेनाको कुटाइ खाने विश्वका कुनै देशका नागरिक छन् भने त्यो हामी मात्र हौँ ।

सरकार ! अब नाम मात्रको विज्ञप्ति निकालेर राष्ट्रियताको पाखण्ड गर्न छाड ! भो, धेरै भो यस्तो आडम्बरी राष्ट्रियताको स्वाङ । सचिवलाई जिम्मा दिएर नेपाल–भारतको सीमा समस्या समाधान हुन सक्दैन भन्ने सबैलाई थाहा छ । त्यो नाटक पनि अब बन्द गरे हुन्छ ।  किनकि कालापानीमाथि भारतको स्वार्थमा चीनले समेत सही छाप गरेको हामीले बिर्सन मिल्दैन । हाम्रा दुई छिमेकीको मन कहीँ नमिले पनि कालापानीमा मिलेको छ । उनीहरूको व्यापारिक स्वार्थका खातिर ।

ह्याछिउँ आउँदा विदेशी नेता, मन्त्री, प्रधानमन्त्रीले फोन गरेकै भरमा आफूलाई शक्तिशाली मान्न पनि छाडे हुन्छ अब । हरेक दिन आलोचना सहेर मात्र होइन, इतिहासका पानामा पनि बाँच्ने रहर छ, अमर बन्ने चाहना छ भने अब सिमानामा देखिएका सबै समस्या समाधान गरौँ, प्रधानमन्त्री ज्यु ! अब यो विवाद यहाँ र भारतीय समकक्षी बिच सिधा र स्पष्ट कुराकानी बाहेक कसैबाट अन्त्य हुन सक्दैन । 

याद गरौँ ! नाकाबन्दीमा देखाएको राष्ट्रियताको स्वाङको गन्ध अब हराइसकेको छ । यहाँको राष्ट्रियताको नारा हिङ जस्तो रहेन, टालोबाट मुक्त हुँदा पनि सधैँ सुगन्ध छरिरहने । त्यसैले आफूलाई कस्तुरीको वीणा सम्झन छाडौँ र राष्ट्रहितका लागि केही ठोस काम गरौँ । सत्ताका लागि मात्र गरिने राजनीतिले कुनै मुलुकको हित गर्दैन र गर्न पनि सक्दैन । एक पटक विश्व इतिहास केलाएर हेरे हुन्छ ।

हुन त त हामीलाई विदेशीले मात्र होइन, आफ्नाले नै लुटिरहेका छन् । मूर्ख बनाइरहेका छन् । भारतले पश्चिममा सडक बनाउँदा हामी उसलाई सराप्छौँ । तर, एक पटक सोचौँ भारतलाई आफ्नो आमाको छातीमा डोजर चलाउने आँट र शक्ति कसले दियो ?

हरेक मानिसको आयु निश्चित छ । कोही १० वर्ष बढी बाँच्ला कोही १० वर्ष कम । इतिहासमा १० वर्षको महत्त्व तिलको गेडाभन्दा सानो हुन्छ । अनि मानिसले आफ्नो जीवनमा किन एक पटक मात्र शिर ठाडो पारेर समाजका लागि नबोलोस्, देशका लागि नबोलोस् । त्यो शिर झुकाएर सयौँ पटक गरिएको चाकडीभन्दा सम्झन लायक हुन्छ । परलोक सुधार्ने बलियो माध्यम बन्छ । अनि इतिहासले त्यही एक पटक उठाइएको शिरको वर्णन गर्छ, सयौँ पटक चाकडीका लागि झुकाइएको शिरले त इतिहासको हरेक कक्षामा सरापाइ मात्र खान्छ ।

त्यसमाथि नेपालमा शासन गरिरहेका र भोलि गर्छु भनेर आङ तताइरहेका अधिकांश नेताले यो लोकभन्दा पनि परलोक सुधार्ने बेला भइसक्यो । त्यसैले परलोकमा बसेर हरेक दिन आफ्ना छोरा–नातिको धारे हाते गाली सुन्नु भन्दा मात्र एक पटक भए पनि प्रशंसाका शब्द सुन्ने काम गर्नु पर्ने बेला आइसक्यो ।

हुन त त हामीलाई विदेशीले मात्र होइन, आफ्नाले नै लुटिरहेका छन् । मूर्ख बनाइरहेका छन् । भारतले पश्चिममा सडक बनाउँदा हामी उसलाई सराप्छौँ । तर, एक पटक सोचौँ भारतलाई आफ्नो आमाको छातीमा डोजर चलाउने आँट र शक्ति कसले दियो ? हामीले पराइलाई सराप्नु अघि एक पटक आफ्ना राज्य सञ्चालकको पनि चरित्र हेरौँ । विदेशीले आमाको करणी गर्दा लिस्नो पछाडि बसेर मुसुमुसु हाँस्दै थपडी बजाउने आफ्नै छन् भने करणीको क्रम कहिल्यै रोकिने छैन । आमाको छाती सहलाउनेहरुको कर्तुतलाई चुप लागेर सहँदा सत्ताको उमेरको बढ्यो भनेर मुस्काउनेहरूबाट हामी पनि सतर्क बन्नै पर्छ ।

हामीमा यस्ता नेतालाई समाजबाटै उखेलेर फाल्ने इच्छाशक्तिको दह्रो आवश्यकता छ । हामी भावनामा राष्ट्रवादको कुरा गछौँँ तर भोलि मत खसाल्दा उही दुई–चार चरित्रभन्दा बाहिर जान सक्दैनौँ । हाम्रो मनोभावको गलत फाइदा विदेशीले मात्र होइन, आफ्नैले पनि उठाइरहेका छन् । नत्र भोलिका दिनमा मुसा झैँ लिपुलेकमा खनिएका सडक हात्ती बनेर सगरमाथामुनिबाट निस्कन पनि सक्छ । अनि त्यो बेला पनि मातृभूमिको करणी भएको हेरेर मुस्कुराउनेले नै हामीमाथि शासन गरिरहेका हुनेछन् ।
 

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि