फागुन १८, २०७७, मंगलबार
               

देशको राजनीति झैँ लोभी र स्वार्थी, मेरो पत्रकारिता

चेतन पाण्डे
माघ ०७, २०७७

ADVERTISEMENT

जुन बेला नेपाल कै इतिहासमा प्रधानमन्त्रीले दोस्रो पटक संसद विघटन गरे । हो, त्यही समय तिरै मेलै पत्रकारितारूपी पेसागत जीवनलाई पहिलो गियरमा ल्याएको थिएँ ।

पारिवारिक पत्रिका नयाँ समाजमा केही लेख्न सकिन्छ कि भनेर सुरु गरेको मेरो पत्रकारिताले ‘क्यारियर’ कै स्वरूप ग्रहण गर्छ भन्ने कहिल्यै लागेको थिएन । जिन्दगी न हो । जे सोचिन्छ, त्यो हुँदैन । जे सोचिन्न त्यही हुन्छ । अधिकांश समय ।

पत्रकारिता नगरेको भए अरू पेसामा पनि ट्राइ त मारिन्थ्यो नै । मारियो पनि । अन्त्यमा केही गर्नै नसकेको भए पनि कुनै निजी बैङ्कमा जागिर खाने ‘चान्स’ त मिली हाल्थ्यो नै । तर, टाई सुट लगाएर हाकिमलाई दसै बजे दुई हात जोड्ने कामले त्यति आकर्षित गरेन । थाहा थियो, निजी बैङ्कको जागिर बाहिरबाट हेर्दा जति रसिलो हुन्छ, भित्रबाट त्यति नै निरस । चाउरी परेका मुहारमा पाउडर धसे जस्तो । कलेटी परेको ओठमा लिपस्टिक दले जस्तो । दिनभरि वास्तविकता लुकाएर नक्कली चमक दिने । रात परेपछि चाउरिएर कलेटी परेको त्यही मुहारसँगै निदाउनु पर्ने । 

ठेट्ने उमेरमा पत्रकारिता स्वाद चाख्न पाउनेले अरू पेसाका बारेमा कमै सोच्छन् होलान् । जसरी मैले सोचिन । त्यो बेला पत्रकारिता गरेर समाजका कुरीति, विसंगतिसँग लड्छु भन्ने ‘भाइरस’ पनि रगतमा घुलेकै थियो । समयको हन्डरसँगै त्यो भाइरसविरुद्ध खोपको असर बढ्दै जाँदो रहेछ । अनि एउटा यस्तो समय पनि आउँदो रहेछ, जहाँ समाजभन्दा आफ्नै पिरलोले बढी सताउने । देशभन्दा घरको चिन्तामा मग्न हुनु पर्ने । सारा संसार ‘भाँड मे जाओस्’ भने झैँ ।

बिहेपछि श्रीमतीजीले निकै पटक पेसा परिवर्तन गर्न आग्रह गरिन् । केही नसकेर विदेश पलायन हुन कर गरिन् । अरूलाई झैँ उसलाई पनि लागेछ, पत्रकार भनेको तल्लो श्रेणीको पेसा हो भनेर । अहँ मैले उसको आग्रह कहिल्यै मानिन ।

पत्रकारिता अति व्यावसायिक अर्थात व्यापार बनेको अहिलेको समयमा यो पेसामा हाम फाल्नेहरूले दाम र नामको चमकबाट मुक्ति पाउन शायदै सक्लान् । समय पर्दा के नेता, के व्यापारी, के कर्मचारीतन्त्र सबैलाई थर्कमान बनाउन सक्ने । जाने पेट पाल्न करोडौँको जोहो गर्न पनि कठिन नहुने । समयसँगै नेता–मन्त्री पनि बन्ने चान्स आइलाग्न सक्ने । चाहे त्यसका लागि जतिसुकै औँला बङ्ग्याउन किन नपरोस् । वाल मतलब !

सबैलाई होइन, केहीलाई यो पेसा जिन्दगी कै ‘दिक्दारी’ बन्न पनि थाल्छ । तर, निकै ढिलो भई सकेको हुँदो रहेछ, अरू पेसा अङ्गाल्न । पश्चात्ताप गर्न । तर, जसले जे भने पनि समाज मै परिवर्तन ल्याउन नसके पनि राज्यलाई निर्देशित गर्ने क्षमता राख्ने केही ठूला भनिने मिडियाका मालिकहरुलाई यो व्यवसाय वरदान बनेको छ । अनि पत्रकारहरुलाई पनि । तर, नसक्नेको नमरुन्जेल पुर्पुरोमा हातले छाड्दैन । दुई फरक पात्र बाँचिरहेका छन्, एउटै पेशामा । एउटा सभ्रान्त अर्को दरिद्र ।

०००

केही समय आफैँ नयाँ समाज साप्ताहिकको प्रकाशक र सम्पादक पनि भइयो । मेरो परिवारमा पत्रकारिताप्रति जति सम्मान थियो, मेरो ससुराली तिर ठ्याक्कै उल्टो । बिहे भएपछि ससुराली तीरकाले मेरी बुढीलाई सोध्दा रहेछन्, ‘ज्वाइँ के गर्नु हुन्छ ?’ 

उसको सहज जवाफ हुन्थ्यो, ‘पत्रकार हो । आफ्नै पत्रिका छ ।’

अनि लगत्तै फेरि प्रश्न तेर्सिँदो रहेछ, ‘त्यो त थाहा छ । तर, काम चाहिँ के गर्नु हुन्छ ?’

अनि मेरी बुढी, ट्वाँ...! के भन्नु के नभन्नु ।

बिहेपछि श्रीमतीजीले निकै पटक पेसा परिवर्तन गर्न आग्रह गरिन् । केही नसकेर विदेश पलायन हुन कर गरिन् । अरूलाई झैँ उसलाई पनि लागेछ, पत्रकार भनेको तल्लो श्रेणीको पेसा हो भनेर । अहँ मैले उसको आग्रह कहिल्यै मानिन । मैले रोजेको पेसाप्रति मलाई सधैँ गर्व थियो । रमाएकै थिएँ, आफ्नो काममा । आफूलाई संसार कै उच्च ओहदामा काम गर्नेहरूभन्दा कम कहिल्यै आँकिन, मानिन । मेरो बस् एउटै विश्वास थियो, मानिसको मनले जे चाहन्छ, त्यही गर्नु पर्छ । अनि जिन्दगी सुखी बन्छ । अहिले गर्व गर्छिन्, सम्मान गर्छिन् । मेरी श्रीमती मेरो पेसालाई । तर, म हिजो जति यो पेसामा रमाएको थिएँ, गर्व गर्थेँ । अहँ आज सक्दिन । यस भित्र लुकेका कुरूपताले आत्मग्लानि पो हुँदो रहेछ ।

जब मसँग पहिलो भेट भयो, पविताजीलाई लागेको रहेछ । पत्रकार भनेको झोला भिर्ने, ‘ड्रेस अप’ पनि गर्न नजान्ने, ख्याउटे अनुहारका हुन्छन् भन्ने । तर, म बिलकुलै उल्टो थिएँ । लाउन, खान जानेकै थिएँ, शरीर टम्म परेकै थियो । यही टम्म परेको जिउ ज्यानका कारण लामो समय खेलकुद पत्रकार भएर बाँच्नु प¥यो । यो कुरा मेरो पत्रकारिताका सुरुवाती दिनका सम्पादक तीर्थ कोइरालाभन्दा अरूलाई कसलाई पो थाहा होला र ? कुनै बेला प्रकाशित श्री सगरमाथा दैनिकमा उनी सम्पादक नभएका भए वा म त्यो पत्रिकामा काम गर्न नगएको भए वा मेरो शरीर ख्याउटे भएको भए, मेरो पत्रकारिताले फरक बाटो समातेको हुन्थ्यो कि जस्तो लाग्छ, लाग्थ्यो र लागी रहन्छ ।

०००

मेरो पत्रकारिताको सुरुवाती कालखण्डमा नयाँ समाज बजारमा टिक्न नसकेपछि मैले परिस्थिति साप्ताहिकमा काम पाएँ । त्यहाँ म ‘केपी ओली टाइप’ को पत्रकार थिएँ । अर्थात्, जे पनि जाने झैँ गर्ने तर, काम गर्न निकै आँट गर्ने, हिम्मत गर्ने तर गर्न खोज्दा थोरै मात्र जानेको हुने । कहिले आलोचना त कहिले स्याबासी पाउने । पत्रिका प्रकाशनको काम पनि हेर्ने, रिपोर्टिङ पनि गर्ने । जोगी तरकारी भन्छन् नि, हो त्यस्तै । सिधै भन्नु पर्दा छ्यासमिसे पत्रकार ।

त्यही समयमा अल्पमतमा परेका प्रधानमन्त्री मनमोहन अधिकारीले संसद विघटनको सिफारिस गरे । राजाले सिफारिस स्वीकृत पनि गरे । त्यो बेला अदालतले मनमोहन अधिकारीको सिफारिस गलत ठहरायो । अहिले केपी शर्मा ओलीले गरेको संसद विघटन सही हो कि होइन भनेर फैसला हुनै बाँकी छ । त्यो बेला र अहिले फैसला गर्ने निकाय एउटै छ तर, फैसला सुनाउने अनुहारहरू मात्र फरक छन् । पेसा फरक छ । आफूले भने झैँ फैसला नआए, न्यायाधिसहरुको हुर्मत लिन कम्मर कसेर बसेकाहरू गल्ली–गल्लीमा आफ्ना कलम र क्यामेरासहित उभिएका छन् । हुनत त्यसअघि गिरिजाप्रसाद कोइरालाले गरेको संसद विघटनलाई अदालतले सही ठहराएको थियो । मैले पत्रकारका रूपमा त्यो अवस्थाको अनुभव लिन पाइन । तर, पनि लाग्छ सबैले अदालतको आदेशलाई सहजै स्वीकार गरेका थिए ।

अधिकारीले गरेको विघटनको फैसला आएको भोलिपल्टै परिस्थिति पनि बजारमा आउने दिन थियो । त्यसका प्रकाशक तथा सम्पादक वसन्त लोहनीले मलाई अदालत बाहिरको रिपोर्टिङ गर्न निर्देशन दिएका थिए । अदालतको फैसला पछि बनेका हँसिला अनि ओठ–तालु सुकेका दुवै पक्षको कुराकानीका आधारमा समाचार पनि बनाएँ । हुनत म, त्यही पत्रिकामा कहिले स्टेफि ग्राफ र आन्द्रे आगासीका प्रेमका कुरा पनि लेख्थेँ । तर,जे भएपनि अहिलेसम्म बाँच्दा एउटा कुरा पक्का भयो, त्यो बेलाभन्दा अहिले राजनैतिक चरित्रमा निकै गिरावट आइसकेको रहेछ । नेताको मुख देख्दा दिक्दारी लाग्दा खेलाडीको कुरा गरेर समय कटाउने अवसर भने आएको छ ।

त्यो समयमा पक्ष विपक्ष कसैले फैसला अगावै अदालतलाई दबाब दिएको । अनि फैसला पछि औँला उठाएको सुन्नु परेन । होला, फैसलालाई तत्काल चित्त नबुझाएर ढुङ्गा मुढा भने भएको थियो । केही टायर बलेका थिए । तर, व्यवस्था नै सङ्कटमा परेन । आज माहौल फरक देखिँदै छ । पक्ष–विपक्षमा उभिनेहरू अदालतलाई दबाब दिँदै छन् । भोलि आउने फैसला अहिले नै सुनाउन मिडियाहरू कम्मर कसेर लागी परेका छन् । यो मिडिया व्यवसायको सोचमा आएको गिरावट हो । अदालतलाई दबाबमा राख्ने योजना सहितको । यसैलाई भन्छन् होलान्, पेसागत नैतिकतामा ह्रास । 

इतिहास केलाउँदिन तर, मैले पत्रकारिता सुरु गरेको दिनदेखि यो मुलुकमा नैतिकताका लागि राजनीति गर्ने कोही देख्न पाएको छैन । भेट्न पाएको छैन । जनताले गर्वका साथ यो मेरो नेता हो भनेर अङ्कमाल गर्न लालायित हुनु पर्ने कुनै नेता पनि देखिएका छैनन् ।

एकातिर प्रधानमन्त्री स्वयं औँला उठाएर अदालतले भविष्यमा सुनाउने फैसलाको प्रारम्भिक अंश सुनाउँछन् । अर्कोतिर हारेको सिपाही झैँ विपक्षीहरू फैसला अघि नै विरोधको आँधी ल्याउने चेतावनी दिन्छन् । यस्ता दबाबलाई मलजल गर्ने मिडियाको कमी पनि छैन नै । मिडिया नै वकिल र न्यायाधीश बनेको यस्तो अवस्थामा अदालतले कसरी निष्पक्ष निर्णय सुनाउन सक्ला र खै ? आफ्नो देश अराजकताको खाडलमा जाकिएको देख्दा कसको मन नरोला र’ ? जिन्दगीको भरभराउँदो उमेर सुम्पिएको पेसाको सोचमा स्खलन आउँदा । अनि कसरी नबढ्ला र’ दिक्दारी आफ्नै प्यारो पेसाप्रति ।

त्यो समयको ठेट्ना पत्रकार अहिले एउटा मिडियाको अध्यक्ष बनेको छ । समाजलाई हेर्ने आँखा केही परिपक्व बनेका छन् । राजनीतिमा नैतिकताको अवसानले मनलाई दुखी बनाएकै छ । साथै मिडियाको सोचमा आएको स्खलनले त आत्मालाई मारेको छ । मिडिया र मिडियाकर्मीमा विकसित अति व्यावसायिक स्वार्थी चरित्रले यो पेसालाई विश्वासिलो बनाउन सक्दैन । हिजोका दिनमा केही पत्रकारको कमजोर सोचमाथि उठ्ने चोरी औँलाहरू अहिले समग्र व्यवसायमाथि नै उठाइन थालिएको छ ।

त्यसैले हिजोआज लाग्न थालेको छ, म बाँचेको युग कुनै गर्व लायक छैन । जसरी आफैँले आफैँप्रति गर्व गर्न सक्दिन । आखिर यसैको हिस्सा हुँदा स्वार्थका बाछिटा मेरा अनुहारमा पनि पोतिएकै छन् । मैले आफैँलाई जति निष्कलंकित प्रमाणित गर्न खोजे पनि यो पेसातिर तेर्सिने चोरी औँलाले मेरो पनि गणना गरिहाल्छ । मैले चोरी औँलाको त्यो इशाराबाट चाहेर पनि तर्किन सक्दिन । किनकी म पनि त्यही हिलोले भरिएको पोखरीको हिस्सा हुँदा मेरो शरीर त सफा छ भनेर दाबी गरूँ त गरूँ कसरी ?

अर्कोतिर, नेपालको इतिहासमा दाजुभाइ काटेर शासन हातमा लिने युगको अन्त्य त भयो । तर, सत्ताका लागि जुनसुकै तल्लो धरातलमा उभिन सक्ने चरित्रको अन्त्य हुन सकेन ।

इतिहास केलाउँदिन तर, मैले पत्रकारिता सुरु गरेको दिनदेखि यो मुलुकमा नैतिकताका लागि राजनीति गर्ने कोही देख्न पाएको छैन । भेट्न पाएको छैन । जनताले गर्वका साथ यो मेरो नेता हो भनेर अङ्कमाल गर्न लालायित हुनु पर्ने कुनै नेता पनि देखिएका छैनन् । मलाई त यो कालखण्डका सबै राजनीतिकर्मी निर्वस्त्र छन् कि पो जस्तो लाग्न थालेको छ । ‘नाङ्गो राजा’ कथाका राजा झैँ । आफ्नै स्वरूपमा सधैँ मग्न हुने ग्रीक मिथक पात्र ‘नार्सिसस’ झैँ । अनि सबै नेताको एउटै चाहना छ जस्तो लाग्न थालेको छ, ‘नार्सिस्ट’ बन्ने । आफ्नो अहङ्कारको अगाडि सबैलाई तुच्छ देख्ने । त्यसमा ताली पिट्न तयार छन्, मेरै सहधर्मीहरु । 

लाग्न थालेको छ । हामी बाँचेको समय इतिहास कै सर्वाधिक कलङ्कित अध्याय बन्दै छ । स्वार्थीहरूको कथा लेखिने छ इतिहासको यो अध्यायमा । शायद एक पटक हाम्रा पुस्ताले हामीलाई कोस्ने छन्, थुक्ने छन् । ‘मेरा पुर्खा कति नपुंसक रहेछन्’ भनेर । हातमा भोट जस्तो बलियो हतियार बोक्दा पनि स्वार्थी नेता तह लगाउन नसक्ने । हातमा कलम हुँदा पनि नैतिकता बन्धकमा राखेका कारण सहीलाई सही र गलतलाई गलत भनेर लेख्न नसक्ने । धिक्कार छ हामीलाई ।

अब लाग्न थालेको छ । पत्रकारिताले कसैको चरित्र सुधार्न सक्दैन । यो सामान्यभन्दा पनि सामान्य पेसा हो । कथा र नाटकमा बाहेक यथार्थमा यो कहिल्यै सशक्त बन्न सक्दैन । तयार पार्न सक्ला, आफ्नै स्वार्थपूर्तिका लागि तमासेहरू । अनि सक्ला, कहिले जितुवा तथा कहिले हरुवाहरूको कथा लेख्न । तर, बन्न सक्दैन सही इतिहासको मार्ग दर्शक । अनि, सक्छ त चरित्रहिनहरुको सङ्गतमा आफ्नै छविलाई पनि कालो बनाउन । स्वार्थीहरूको तमासे बनेर आदर्शका राग छाँट्न । त्यसैले होला, यो पेसामा लाग्दा जति खुसी थिएँ, आज त्यति नै दुखी छु । किनकी पढ्दा र सुन्दा पत्रकारका कलम र आवाज जति तीखो र खस्रा देखिन्छन्, यथार्थमा त्यो कलम चलाउने हात त्यति नै चिल्लाे र चिप्लाे दल्न माहिर बनेका छन् । यस्तै छ, मेरो पत्रकारिताको बिडम्बना ।

जति धक्कु लगाए पनि इमानदार छैन, यो पेसा । हाम्रै देशका राजनीति र कर्मचारी झैँ । जिन्दगीको पेसागत अनुभवले रजत जयन्ती मनाइसक्यो । तर, पेसागत जिन्दगीको विश्व विद्यालयमा २५ वर्षभन्दा लामो अवधि बिताउँदा मैले हासिल गरेका अनुभव गर्व गर्न लायक रहेनछन् । पछुतो यसैमा छ । तर पनि, यो पेसामा मैले चिनेका केही इमानदार अनुहारहरुसँग कहिँ कतै जम्काभेट हुँदा मन फुरुङ भएरै आउँछ । रगतमा फेरि पनि जोस उम्लिएरै आउँछ । 

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि