फागुन १४, २०७७, शुक्रबार
               

कसरी लाग्दो हो त्यस्ता बाउको माया !

चेतन पाण्डे
पुस ०१, २०७७

ADVERTISEMENT

समय उत्ताउलो छ । जिन्दगी झैँ । उन्मादले भरिपूर्ण । अर्थात् म जस्तै ।

यहाँ औँला बङ्ग्याउन सक्नेले चाहे र खोजेभन्दा बढी पनि पाउँछन् । नसक्ने भुइँमान्छे बनेरै जन्मिन्छन् । अनि मर्छन् पनि त्यसरी नै । समय न हो, मुक्का बजार्न सक्नेलाई सम्मानित ओहदामा पु¥याउँछ । हात जोड्नेलाई जमिनबाट कहिल्यै उठ्न दिँदैन । 

मलाई पनि शिवजी साह्रै मन पर्छन् । स्टाइलिस लाग्छन् । बिन्दास लाग्छन् ।

मेरा बाबा भन्थे, बुझिस् नम्र बन्न सके, त्यसले न आफूलाई न त अरूलाई नै हानी गर्छ ।’ अहँ कहिल्यै मानिन बाबाको त्यो सुझाव । मलाई मेरा बाबाको मन नपर्ने एउटै कुरा थियो । सबैसँग नम्र भई दिने । मिठो बोली दिने । मित्र हुन् वा शत्रु ।

म भन्थेँ, यो जमानामा शिर झुकाउँदा गर्धन छिनाल्छन् । मुठ्ठी उचाल्दा मात्रै अरूले शिर झुकाउँछन् । होसमा होस् वा बेहोसमा मेरा बाबाले अहिलेको समाजमा खोक्रो झैँ लाग्ने आदर्शका कुरा गर्न कहिल्यै छाडेनन् । पालना गर्न पनि छाडेनन् ।

हरेक दिन पशुपतिनाथ जान्थे । तर, मूर्ति पूजामा कहिल्यै विश्वास राखेनन् । म पनि राख्दिन । तर, भगवान शिव कै वासस्थान नजिक जन्मिएकाले होला । मलाई पनि शिवजी साह्रै मन पर्छन् । स्टाइलिस लाग्छन् । बिन्दास लाग्छन् । अनि मन लाग्छ, अनुभव कै लागि सही एक पटक जोगी भएर बाँच्न । मेरा आँखा तानेका छन्, पशुपतिनाथमा बस्ने केही जोगीका जीवनले । शायद वंशाणुगत गुण पनि हुन सक्ला ।

म जन्मिँदा नै मरिसकेका मेरा हजुरबाको जीवनको अन्तिम समय पनि जोगी झैँ बितेको रहेछ । बुढाको अनुहार कस्तो थिए भन्ने मलाई कसरी थाहा होस् । जिन्दगीभर एउटा तस्बिर पनि खिचाएनछन् । एक दिन हजुर आमालाई सोधेँ, कस्ता थिए हजुरको बुढा ?’

नजिस्का उता जा !’

पहिलो उत्तर यस्तो थियो । अनि निकै कर गरे पछि मसक्क मस्किँदै भनिन्, सबै जना राजा त्रिभुवनसँग मुख मिल्छ भन्थे क्यार !

मलाई लाग्छ, मेरा हजुरबा गृहस्थाश्रममा कहिल्यै रमाएनन् । रमाएका भए पनि छोटो समयका लागि मात्र । बस्, ४ सन्तानको बिउ रोप्ने बाहेक उनीबाट केही हुन सकेन । भएभरका सम्पत्ति जुवामा खन्याएपछि जोगी झैँ बने । राणा कालमा केही समय सरकारी जागिरे पनि बनेका रहेछन् । राणाका विभिन्न अड्डाका हाकिम भएर काम गरेका थिए रे । आफैँ सम्पत्ति जोडे अनि आफैँले सिध्याए ।

किन हो कुन्नि मेरा बाबाको आफ्ना बाउप्रति उच्च सम्मान थियो । कुरा गर्दा सधैँ प्रशंसा गर्थे । मैले अहिलेसम्म बुझ्न सकेको छैन । जवानी मै तरुनी स्वास्नी र स–साना सन्तानलाई टुहुरा झैँ बनाएर हिँडेका बाउप्रति सम्मान कसरी पलाउँदो हो ? म आश्चर्य मान्थे ।

बाबा भन्थे, मलाई मेरा बुवाले निकै माया गर्थे । मैले जिन्दगीमा उनले दिएको मायाको ऋण तिर्न कहिल्यै सकिन । मैले घर किनेपछि उनलाई फेरि एक पटक गृह प्रवेश गराएँ ।’

भन्थे, मेरा बुवाको मनमा कहिल्यै लोभ देखिन । जे छ सबैसँग बाँड्नु पर्छ भन्थे । जे गरे पनि, आफूलाई सधैँ सन्तुष्ट बनाएर राखे । बिन्दास थिए । त्यसरी बाँच्न कमैले सक्छन् ।’

अनि फेरि आश्चर्य मान्दै बाबाको मुखमा हेर्थेँ । अनि सोच्थेँ मेरा बाबा किन यस्तो सोझो भएका होलान् कुन्नि ? यो मान्छेको मन कहिल्यै दुख्छ होला, कि दुख्दैन ? किनकि कर्मलाई बोझ मानेर घरबाट हिँडेका बाउप्रति सदा सम्मान देखाउन ठुलै हृदय भएकाले मात्र सक्लान् । म भए त सक्दिन थिएँ । उमेर नपुगेका सन्तानलाई भाग्यको भरोसा छाडेर पशुपतिको राम मन्दिरमा साधुको सङ्गतमा गाँजासँगै लट्ठिने मेरा हजुरबा कसरी मेरा बाबाका लागि आदर्श बने ? मेरो दिमागले कहिल्यै खुट्याउन सकेनन् । तर, मायाका धुन कसले पो बुझेको छ र’ ।

भन्थे, जागिर खाँदा ताका जहाँ खट्थे, मलाई लिएर जान्थे । म उनले सिकाएकै मार्गमा हिँडी रहेको छु । अरूको मन कहिल्यै दुखाउन हुन्न भन्थे ।’

स्वास्नी, छोरा–छोरी टुहुरा बनाएर जीवनसँग भाग्ने व्यक्तिले कसरी अरूको मन दुखाएनन् भन्ने खै ? मैले कहिल्यै बुझिन । 

मेरा बाबाको मन भित्र आफ्ना बाउप्रतिको सम्मान देख्दा भने लाग्थ्यो । माया भने निकै गर्दा रहेछन्, जेठा छोरालाई । त्यही भएर होला मेरा बाबाको पास्नीमा २ सय रुपैयाँ जति खर्च गरेर सारा आफन्त र छर–छिमेकीलाई भोज खुवाएका ।

मेरा बाबाले पनि सङ्घर्षलाई जीवनको हिस्सा बनाए । कर्मलाई नै भाग्य माने । घर छाडेर हिँडेका बाउलाई आदर्श मान्ने मेरा बाबाले आफैँले आर्जेको सम्पत्तिमा हक दाबी गरेर अदालतसम्म तान्ने भाइलाई पनि कहिल्यै माया गर्न छाडेनन् ।

अदालतमा मुद्दा हालेका भाइले अफिसमा फोन गर्दा रहेछन् । ‘दाइ अलिकति गाह्रो भयो, पैसाको खाँचो थियो ।’ बाबा मलाई खुसुक्क केही हजार दिन्थे अनि भन्थे, ‘जा त्यसलाई यो पैसा दिएर आइज ।’

पहिले त म नाइँ भन्थे, बाबालाई गाली गर्थेँ । तर, उनी आफ्नो ढिपी छाड्दैन थिए । मेरो आम्दानीको राम्रो स्रोत केही थिएन । लिएर खल्तीमा राखूँ अनि दिएँ भन्दिऊँ की जस्तो पनि लाग्थ्यो । तर, बाबाको मुद्दा हाल्ने भाइप्रतिको मायाले मलाई पनि कमजोर बनाउँथ्यो । उनको विशाल हृदयले मेरो तर्कलाई सधैँ हराउँथ्यो । जान्थे, लुरु लुरु पैसा दिन । तर, म पनि के कम ! एक–डेढ हजार घटाएरै दिन्थेँ । अनि घर आएर बाबालाई भन्थे, यति मात्र दिएँ, बाँकी मैले राखेँ ।

बाबा मुसुक्क हाँस्थे अनि भन्थे, मलाई थाहा थियो । तैँले त्यस्तै गर्छस् भनेर ।’

बाबाको लेखाइ निकै मन पर्थ्यो, मलाई । साह्रै सहज भाषामा लेख्थे । जवानीका दिनमा केही कथा र कविता आफ्ना लागि लेखेका रहेछन् । अस्ति मात्र एउटा प्रकाशनले खोजेरै छापेको रहेछ । उनले २०२८ सालमा लेखेको कथा । तर, जागिरे भएपछि अरूका लागि मात्र लेखे ।

एक पटक साहित्यकार शिव रेग्मीले बाबाले लेखेका १२–१५ वटा कथा सङ्कलन गरेर दिएका थिए । टाइप गराएर सम्पादन पनि गरे । तर, प्रकाशन गर्न कहिल्यै भ्याएनन् । कता राखे कुन्नि ? उनको चितासँगै त्यो कथा सङ्ग्रह छाप्ने सपना पनि जल्यो । वास्तवमा राम्रा थिए, ती कथाहरू । उनले सम्पादन गरेर तयार पारेको पाण्डुलिपिलाई साङ्लो पनि स्वादसँगै चपायो होला ।

उनले घोस्ट राइटर बनेर नाम कमाएका केही व्यक्तिको पुस्तक पनि लेखिदिए । केहीले सम्पादन सहयोगीका रूपमा तल्लो वरियतामा राखेर नाम उल्लेख गरे भने कतिले त उसको सहयोग लिएको भन्न पनि अल्छी माने । तर, त्यसमा पनि कहिल्यै चित्त दुखाएनन् ।

बस् उनले एक पटक चित्त दुखाएको महसुस गरेँ ।

नेपाल राष्ट्र बैङ्कमा अवकाश पाए लगत्तै एउटा निजी क्षेत्रको बैङ्कमा जनसम्पर्क पनि हेर्ने गरेर सल्लाहकारका रूपमा करारमा नियुक्ति लिए । झन्डै २० वर्ष त्यही बैङ्कमा बिताए । कुनै कालखण्डमा राष्ट्रिय योजना आयोगको सल्लाहकार जस्तो सम्मानित काम गर्दा समेत त्यो बैङ्क छाडेनन् । जागिरबाट अवकाश पाए लगत्तै नेपाल राष्ट्र बैङ्क कै सल्लाहकारका रूपमा अरू १० वर्ष बिताउँदा पनि त्यो निजी क्षेत्रको बैङ्कसँग आबद्धता तोडेनन् । 

बुढेसकाल र रोगले गाल्दे लगेपछि २०६९ साल असार मसान्तदेखि त्यो बैङ्कसँग नाता तोडे । बैङ्कले बिदाइमा सम्मान स्वरूप एउटा राम्रै गाडी उपहार दिने भनेको रहेछ । तर, बैङ्कका तत्कालीन अध्यक्षले केही मात्र लाख दिने कुरा गरेछन् । अध्यक्षसँगको बैठकमा बाबा त्यो पनि चाहिँदैन भन्दै झोकिएर हिँडेछन् । आफ्नो इमानदारिताको मूल्य अपमानजनक रूपमा तोकिँदा । लिएनन्, त्यो केही लाखका बिटो पनि । बिदाइमा दिइने सम्मान पत्र पनि लिन गएनन् । छातीमा ठुला बज्रपात हुँदा समेत चित्त नदुखाउने मेरा बाबाको अन्तिम चित्त दुखाइ भने त्यही बन्यो । त्यो बैङ्क छाडेको तीन दिनपछि कोमामा गएका मेरा बाबा त्यसपछि कहिल्यै उठेनन् ।

एउटै चाहना छ, यो समाजमा कसैले मलाई मेरा बाबा झैँ सोझो र ज्ञानी नभनोस् । शिर झुकाउँदा गर्धनमा कसैले प्रहार गर्न नसकोस् ।

खुसी लाग्यो, मेरा बाबाको अन्त्य शिर उठाएर भयो । उनी जीवनभर अङ्गालेको ढोँगी आदर्श त्यागेरै मरे । गर्व लाग्यो, आफ्नै पिताप्रति । 

०००

आज लेख्न बस्दा त्यही पिताको जन्मदिन पनि रहेछ । मरेका मान्छेको खै के जन्म दिन । भुइँमान्छेका रूपमा जन्मिएका मेरा बाबा भुइँमान्छे नै भएर मरे । स्मृति दिवस मनाउने उचाइमा पुगेनन् । आफू जन्मिएको धर्ती मै रहेर मरे । आकाश छुने कल्पना कहिल्यै गरेनन् । भन्थे, अति महत्त्वाकाङ्क्षाले प्राप्तिभन्दा पनि हानी बढी गर्छ ।’ 

खै कसरी दिनु मरी सकेका बाबालाई जन्मदिनको मुरी मुरी शुभकामना । अनि कसरी भनूँ हिँड्ने छु, त्यो ढोँगले भरिएका आदर्शका पथमा । बरु हिँड्ने छु, मेरा बाबाले जीवनका अन्तिम दिनमा लिएका अडानको बाटोमा । 

एउटै चाहना छ, यो समाजमा कसैले मलाई मेरा बाबा झैँ सोझो र ज्ञानी नभनोस् । शिर झुकाउँदा गर्धनमा कसैले प्रहार गर्न नसकोस् । ढोँगीहरूको प्रहारलाई सहन सक्ने विशाल हृदय मसँग छैन । किनकि यो ढोँगी संसारमा म पनि ढोँग कै पर्खालभित्र रमाइ सकेको छु । आखिर म पनि यही समाजको हिस्सा न हुँ । समाजले बनाएको रङ्गमा घोलिएको । म आफ्नै चित्त दुखाउने खोक्रो आदर्शको भारी बोकेर होइन । नितान्त आफ्नै सफलता र असफलताका उन्मादमा मात्तिन चाहन्छु । रमाउन चाहन्छु । आँखा झुकाएर होइन, शिर उठाएर बाँच्न चाहन्छु ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि