फागुन १४, २०७७, शुक्रबार
               

नाङ्गा शासकका भोका रैती

चेतन पाण्डे
मंसिर १७, २०७७

ADVERTISEMENT

समय पनि अचम्म कै हुँदो रहेछ ।

यो मुलुकमा ३० वर्षे पञ्चायती व्यवस्था र मेरो स्कुले जीवनले एउटै वर्ष पूर्ण विराम लगायो । त्यो बेला १० कक्षापछि स्कुल जान पर्दैन थियो । मनमा उन्माद पलाए । मिठा–मिठा सपना मनमा टुसाए । अर्को एउटा ठेट्ना कलेज जाने पक्का भएको थियो । झन् मात बढेको थियो । 

मलाई र देशमा एकै पटक प्रजातन्त्र आए झैँ लागेको थियो । स्कुलमा मास्टरको किचकिचबाट मैले छुटकारा पाएको थिएँ । नेताहरू बोल्न र सत्ताको स्वाद चाख्न पाउने भएका थिए । एउटा सत्ता गएको थियो, अर्को आएको थियो । तरपनि, किन न हो किन भर्खरै आएको बहुदलीय व्यवस्था कै कारण समृद्ध मुलुकमा स्वतन्त्रताको श्वास फेर्न पाइने उल्लास पनि मनाइएकै थियो । 

एक दशकअघि मात्रै जनमत सङ्ग्रहमा हारेर सडकबाट स्थापित बहुदलीय व्यवस्था शिशुबाट युवा बन्यो । एउटा लयमा हिँडिरहेको व्यवस्थाले अर्कै बाटो पनि समात्यो । गणतन्त्र आयो । तर, जनताले बहुदलीय व्यवस्थाको आगमसँगै अर्थात् ३० वर्षअघि देखेका सपना अहिले पनि मुर्छित छन् । जनताको शासनमा समेत ती सपनालाई जगाउने कोही भेटिएका छैनन् ।

म पनि रमाएकै थिएँ । तर, आज दुख लाग्छ । मैले देखेका सपनाले कहिल्यै प्वाँख फैलाउन पाएनन् ।

लाग्यो, सपना जति देखे पनि हुने रहेछ । कति पुरा हुन्छन्, कति सधैँ अधुरा । तर, हामी नेपालीका हरेक सपना लुछिएका छन् । मरेका छन् । बलात्कारमा परेका छन् । 

बहुदल आउँदा ताका उमेर पनि त्यस्तै थियो, भर्खर आरनमा पोलेर रातो बनाइएको फलाम झैँ । घन ठोक्नेले जुन आकार दिन्छ, त्यसमै रमाइ दिने । आफ्नो विवेकमा ताला लगाएर अरूले देखाएका सपनामा रमाउनु पर्ने । लोरी सुनेर सुत्न पाउँदा बच्चा जति खुसी हुन्छ नि ! हो त्यस्तै । आफ्ना हुन् वा पराइ, हरेकले देखाएका सपनामा रमाइदिनु पर्ने । आसा र भरोसा जताइ दिनु पर्ने ।

म पनि रमाएकै थिएँ । तर, आज दुख लाग्छ । मैले देखेका सपनाले कहिल्यै प्वाँख फैलाउन पाएनन् । ३० वर्षे अघि देखेका सपना लक्का जवान बनिसक्यो । धेरै ठुलो कुरो त के गर्नु पानी खान नपाएर काकाकुल काठमाडौँ बासीलाई झन्डै ३० वर्ष अघि नै देखाइएको मेलम्चीको सपना समेत पानी आउने सुरुङभित्रै हराइ रहेका छन् । मेलम्चीले काठमाडौँ र काठमाडौँ बासीले मेलम्चीको पानीको मुख देख्न पाएनन् । मेलम्ची पानीले काठमाडौँका सडक पखाल्ने सपना देखाएका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आत्माले समेत नयाँ जन्म लिइसक्यो होला । तर, मेलम्ची यो उपत्यकामा छिर्न सकेन । हामीले खराब देखेको व्यवस्था जति वर्ष अस्तित्वमा रह्यो । मेलम्चीको सपना देखाइएको पनि त्यति नै वर्ष भएछ । अब त मेलम्ची मै गएर गीत गाउने पर्ने बेला आएको छ...

‘आउँछु भन्यौँ, पर्खी रहेँ, तिमी आइनौ,

तिमी आइनौ, क्या बोर भयो ।’

मेलम्चीको सपना त एउटा उदाहरण मात्र हो । तिर्खाएका जनताले पानी खान यति बिघ्न समय कुर्नु पर्छ भने अन्य विकासका एजेन्डा झन् कस्ता होलान् । चाबहिल बासी भएकै नाताले मेलम्चीका कारण कयौँ पटक सडक खनिए, पुरिए । पानी खाने चाहनामा धुलोका मुस्लो निलियो । दाँतमा माटोका कण अड्किए तर, पखाल्ने पानी कहिल्यै धाराबाट झरेन । मेलम्ची कै कारण चाबहिलका सडक सधैँ धुलाम्मे बने । कहिले काहीँ धारामा झुल्किने बागमती कै पानी पनि सडक खन्दा छिनालिएका पाइपबाट बाटो मै छताछुल्ल बन्न थाले । कहिले धुलो र हिलोले सताउन छाडेन । केही नलागेर छाडियो, आफू जन्मिएको ठाउँ । बिरानो ठाउँको बासिन्दा बन्न । मैले देखेका र देखाइएका सपनाले चाबहिलमा श्वास फेर्न नसके पछि सरियो बसाइँ । आफ्नै सपना मारेर । एक पटक आफू जन्मिएको स्थानलाई चुमेर ।

मेलम्चीको सपनाका बिउ रोपिएपछि पनि यो मुलुकमा धेरै परिवर्तन आएन । बस् आएन मुलुकमा समृद्धि । व्यवस्था परिवर्तनसँगै हाम्रा अनेकौँ सपनाले काँचुली फर्दै गए । मेलम्चीको पानी काठमाडौँको धाराबाट चुहिनु कहिले हो कहिले तर, त्यसअघि धेरै कुरा देख्न र भोग्न पाइयो । १७ हजार मरे, मिठा सपना पुरा हुने आसामा । सशस्त्र युद्धका नाममा । नेपाल अधिराज्य, गणतन्त्र नेपाल पनि बन्यो । २ पटक संविधान सभा ४ पटक प्रतिनिधि सभाका निर्वाचन पनि व्यहोरियो । ३ दस कमा २ दर्जनभन्दा बढी पटक त प्रधानमन्त्री नै फेरबदल भए । जङबहादुरपछिका शक्तिशाली प्रधानमन्त्री पनि देखियो । शायद जङ्गबहादुर झैँ दम्भले भरिएका । तर, अहँ हाम्रा सपनामा प्वाँख अहिले पनि पलाउन सकेका छैनन् । समृद्धिका नारा अहिले पनि साकार हुन सकेका छैनन् । देश जहाँ थियो, त्यहीँ टक्क रोकिए झैँ लाग्न थालेको छ ।

गरिब सधैँ गरिब रहे । हुनेखानेको बैङ्क ब्यालेन्स बढ्दै गयो । विकास र समृद्धिले यो मुलुकमा नछिर्ने कसम खाए झैँ देखियो । हुन त एकाध नव धनाढ्य पनि थपिए, समयसँगै । तर, देशको दुर्दसा फेरिएन । इज्जतका साथ स्वागत गरेको व्यवस्था नै खराब पो लाग्न थाल्यो । उन्नत व्यवस्थामा लोभी शासकका कारण हामी अहिले पनि सपनामा देखेको समृद्ध मुलुक कै चाहमा अल्झी रहेका छौँ । 

हिजोसम्म उधारोमा खान भट्टी चहार्ने नेताहरू अहिले अर्बौपति बनेका छन् ।

कहाँ सुशासित राज्यको कल्पनामा रमाइरहेका हामी अहिले त एसिया कै सबैभन्दा भ्रष्ट राष्ट्रमा पो दरियौँ । दुख्ख लाग्छ । अन्तर्राष्ट्रिय प्रतिवेदन नै बन्यो, हामीमाथि शासन गर्ने हरेक शासक भ्रष्टाचारमा लिप्त छन् भनेर । सुन्न सकिएन । तर, यस्ता दुखद विषमा पनि मनले रुन छाडिसकेको छ । थाहा छ, सत्य र सूर्यलाई हत्केलाले छोपेर छोप्न सकिँदैन भन्ने । एमसीसी कहिले स्विकार्न पाइला भनेर सारस पर्खाइमा रहेको हाम्रो मुलुकले एम्नेस्टि इन्टरनेसनलको प्रतिवेदनलाई ठाडै अस्वीकार गरी दियो । आफ्नो आङमा हिँडेको भैँसीसमेत धपाउन सक्छ हाम्रो, हाम्रो सरकार । तर, जनताको सपनालाई चुसिरहेको उडुस मार्न सक्दैन । आसेपासेका लागि बलियो, जनताका लागि कमजोर बनिसकेको रहेछ, यो राज्य । त्यस्तै बलियो, जसरी हिजो लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा तयार पार्दा लागेको देखिएको थियो ।

तर, यो मुलुक हाँक्नेहरूको वास्तविक चरित्र फरक रहेछ । त्यो पनि देखियो । अब त ती मिचिएका भूमि फिर्ता ल्याउन हाम्रा शासकको खुट्टा कामिरहेको पो देखिन थालेको छ । जति बेला प्रधानमन्त्री कै निर्देशनमा त्यो भूमिसहितको नक्सा छापिएको किताब स्कुले बालबालिकाको पहुँच बाहिर राखियो । त्यति बेलै लाग्यो राष्ट्रियताका नारा त हामी जस्ता बाँदरलाई नचाउने गीत पो रहेछ । हुन सक्ला, प्रधानमन्त्रीले राष्ट्रवादको नारालाई तिलाञ्जली दिए होलान् तर, मेरो सपना मसँगै चिच्याएर भन्छ, ‘त्यो भूमि हाम्रै हो फिर्ता ल्याउनै पर्छ ।’ अनि बिपनामा सोच्छु, हाम्रो स्वाभिमान त निकै कमजोर जगमा उभिएको रहेछ । हाम्रो आत्म सम्मानको कुनै मूल्य नै रहेनछ । हामी कति कमजोर रहेछौँ । देश जस्तै दरिद्र पनि ।

हिजो मुलुक बचाउन छिमेकीलाई भूमि टुक्राएर दिनु परेको थियो । आज कुर्सी जोगाउन भूमि कै राजनीति गर्नु परेको छ । हामी कुन युग र कस्तो मुलुकमा कस्ताका रैती भएर बाँचिरहेका छौँ । कल्पना गर्दा मात्रै पनि कहाली लाग्छ ।

जब विश्व मै सम्मानित एउटा संस्थाले हामी तिर औँला तेर्साउँछ भने त्यसमा केही सत्यता त अवश्य लुकेकै हुन्छ । एम्नेस्टिको आरोपमा सत्यता लुकेको हामीले महसुस ग¥यौँ । आखिर आगो नबली धुवाँ उड्दैन, भन्छन् नै । हिजोसम्म उधारोमा खान भट्टी चहार्ने नेताहरू अहिले अर्बौपति बनेका छन् । उनीहरूको सम्पत्ति नै दन्त्य कथाको पात्रको झैँ जादुमयी शैलीमा बढ्न छ भने त्यसको पछाडि छलकपट लुकेको छ भनेर चिच्याएर भन्नु पर्ला र ? त्यो स्वयं प्रमाणित तथ्य हो । हिजोसम्म सिलाबरको थालीमा खानेहरूले आज ‘सिल्भर’ को थालीमा खाने हैसियत बनाएका छन् भने उनीहरूले गलत कार्य गरेका छन् भनेर पनि चिच्याउनु पर्दैन । त्यो पनि राजनीति जस्तो विशुद्ध समाज सेवामा लागेकाहरूले ।

अहिले त हामीमाथि दुई तिहाइको दम्भका साथ शासन गरिरहेको दल कै शीर्ष नेताहरूले एक अर्कालाई आधिकारिकरुपमा लगाएका आरोपले नै यो मुलुक कस्ता व्यक्तिहरूको मुठ्ठीमा जकडिएको छ भनेर कुर्ली रहनु पनि पर्दैन होला । विरोधीलाई नाङ्गो बनाउने दम्भमा सबै जना नाङ्गो बनेका छन् । संसारमा सबैभन्दा उन्नत भनिएको व्यवस्थालाई नै असफल बनाउने गरी सत्तासीन नेताहरू नै नाङ्गिएका छन् । विपक्षीको मुखमा साङ्लो बाँधिएको छ । अब त आफ्नै भाग्यमाथि रोइलो गर्न पनि लाज लाग्ने दिन आएको छ ।

अनि कसरी भाग्यमानी मानुन् त यो देशका जनताले आफूलाई । अनि कसरी हाँसुन् त जनता, आफूमाथि शासन गर्नेको चरित्र बिच सडकमा नाङ्गो हुँदा । जसलाई विश्वास गरेर सडकमा उत्रिइएको थियो, तिनीहरू नै निर्लज्ज बनेपछि कसको के लाग्छ र ? बस्, भाग्यलाई धिक्कार्नु सिवाय । लाग्न थालेको छ, अनियमितताको हिलो डुबेर नाङ्गिएका नेताका भोका रैती पो बनिएछ ।  जब राजनीतिलाई लोभनीतिले जित्छ नि त्यति बेला त्यो देशका जनताले हाँस्न अवश्य बिर्सन्छन् । जसरी हामीले बिर्सिएका छौँ ।

परिवर्तन सधैँ जनताको पक्षमा हुन्छ भन्छन् । तर, खै कहिले आउला हाम्रो भाग्यमा परिवर्तन । कहिले पलाउला जनताका सपनामा प्वाँख । अब त गिद्ध झैँ प्वाँख भुत्ल्याउनेबाट बच्न पो कठिन बनेको छ । मेरो सपनाका सिनो पनि लुछ्छन् कि भनेर ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि