बैशाख १५, २०८१, शनिबार
               

छाडिएन बाँच्ने प्रयास र आश

चेतन पाण्डे
फागुन ०७, २०७६

ADVERTISEMENT

म कहिल्यै चाहँदैन थिएँ, मृत्युका कुरा गर्न । साह्रै भय लाग्छ, मृत्युको नाम मात्रले ।

म चाहन्थे, कसैको मृत्यु नहोस् । अझै म चाहन्थे, मेरा आफन्त त कहिल्यै नमरुन् ।

समय अचम्म कै हुँदो रहेछ । हरेक भयलाई आफैँसँग डोर्‍याइ रहने । शान्तसँग बस्न नदिने । हावाका अगाडि निरीह बन्दै उडिरहेको बादल झैँ । समयको चालसँगै मैले पनि केही लासहरू देखेँ । जलेका, जल्दै गरेका । लासबाट निस्किएका धुवाँले आकार लिँदै बादल बनेको अनि अनि त्यो बादलभित्र लुकेको आत्माले यो लोकलाई अलबिदा भनेको । अनि बस्, रहन्छ त सम्झना मात्रै । 

गएको वैशाख अन्तिमतिर मित्र विकासजी (दाहाल) को फोन आयो ।

‘ईश्वर दाइ (कार्की) का पिता बित्नु भएछ ।’

अनि क्रिया पुत्रीलाई भेट्न शुक्रवार लामसाँघु जाने कार्यक्रम बनाइयो ।

ईश्वर दाइलाई भेट्न जाने बहाना त थिदैं थियो । त्यसमाथि एक रात भोटे कोशीको किनारमा बनेका रिसोर्टहरु मध्ये एकमा रात बिताउने योजना पनि बनाइयो ।

अरूहरूसँग पनि कुरा गरियो । कसैलाई पत्नीको डर त कसैलाई आफ्नै कामको बोझ । शुक्रवार दिउँसो १–२ बजेतिर म, विकासजी र साथमा देवेन्द्र थापा लाग्यौँ, सिन्धुपाल्चोकतर्फ । क्रिया बसेका कहाँ लैजाने फलफूल धुलिखेल मै किनियो ।

दोलालघाटसम्म पुग्दा पनि मलाई लागेको थियो । सिधै ईश्वर दाइ कहाँ जाउँला अनि फर्केर खानपिन–रमाइलो गरौला । तर, दोलालघाटको एउटा सानो होटेलमा पसेपछि विकासजी र देवेन्द्रको मन भाँडियो अनि मेरो पनि । ‘आज अलि–अलि यतैबाट खाँदै जाऊँ ईश्वर दाइ कहाँ भोलि बिहानै जाउँला ।’ गाडी चलाउनु पर्ने भएकाले मैले पिउन आनाकानी गरेँ । बस्ने ठाउँको प्रबन्ध ईश्वर दाइले नै मिलाइ सकेका थिए । नत्र शुक्रबारको दिन भोटे कोशीको किनारका रिसोर्टमा कोठा पाउनु निकै गाह्रो हुँदो रहेछ ।

साथीभाइ अनि खानपिन र गफगाफ भनेपछि विकासजी हुरुक्कै हुने । कहिल्यै नाइँ नभन्ने । ‘यता मापसे हुँदैन, थोरै लिनोस्,’ मैले पनि नाइँ भन्न सकिन । केही बेर त्यो होटेलमा बसेर हामी निस्कियौँ । चाँडै नै पुग्यौँ, हाम्रा लागि बास बस्ने व्यवस्था भएको सुनकोशी रिभर साइड रिसोर्टमा ।

एकातिर बाँच्ने रहर, अर्कोतिर मर्ने भय । जीवन र मृत्युसँग सङ्घर्ष गर्दै थिएँ, म । वास्तव मै भन्ने हो भने त्यति बेला जति जीवनमा कहिल्यै अत्तालिएको र डराएको थिइन, म । न अघि नतै पछि । भयले चिसो पानी पनि उम्लिएर तातो बने झैँ लाग्न थाल्यो ।

जाने बित्तिकै सुत्न र खानको लागि निर्धारित प्याकेजको पैसा तिरियो । विकासजीको चाहना राफ्टिङ गर्ने थियो । होटेलवालाले पनि राफ्टिङ गर्न हौसाएकै थिए । मन लाग्नेले भोलि गरौँला नि भनेर पन्छियौँ । त्यो रात । 

प्रेम र रक्सीको नशा उस्तै उस्तै हुँदो रहेछन् । जति चढ्यो त्यति नै रसिक भइने, रसिक्याइँ निस्कने । 

हामी एउटा टेबलमा थियौँ, अलि पर एक हुल युवतीहरू केही पुरुष मित्रका साथ आएका रहेछन् । हल्का–हल्का नशाले नै रात रङ्गिन बनाइरहेका बेला ती युवतीहरूबाट हामीलाई नाच्ने प्रस्ताव आयो । कस्सम मैले नाचिन, नाच्न आए पो । आफ्नै बेइज्जत गर्न मन लागेन अपरिचित माझ । तर, विकासजी र देवेन्द्रले मौका छाडेनन् । सधैँ नाच्न रहर गर्ने ती दुई मनुवाका लागि त्यो राम्रो मौका थियो । उनीहरूको नचाइ देखेर टेबल मै नाचूँ झैँ गरेका ती दुईले त्यही मिठो मौका छाड्ने कुरा पनि आउँदैन  थियो । मिठो फुलको रसका लागि भौँतारी रहेको मौरीले कलिलो गुलाफबाटै आफ्नो रस चुस्न आमन्त्रण दिए झैँ भयो उनीहरूलाई त । साथमा चिनापर्ची गर्ने मौका पनि जुर्‍यो नै ।

लामै समय नाचे ती दुई । राम्रै मित्रता पनि गाँसे, उनीहरूसँग । काठमाडौँ कै नाम चलेका अस्पतालमा काम गर्दा रहेछन्, उनीहरू । रात छिप्पिन लागिसकेको थियो । भोलि भेट्ने वाचासहित लागियो, आ–आफ्नो कोठामा ।

त्यसअघि नै खानपिन चलिरहेको बेला काठमाडौँमा मेरी काकीको निधन भएको समाचार आयो । फर्कन सम्भव थिएन । मेरा बाबा र काकाले लामो समयदेखि मन फटाएर बसेकाले पनि मलाई त्यो मृत्युमा त्यति पीडा महसुस भएन । त्यसैले फेरी खानपिन मै ध्यान दिइयो । आफ्नै खलक शोकमा डुब्दा पनि म रमाइलोमा व्यस्त हुन सकेँ । कति कठोर रहेछ, मेरो मन । म कठोरताको उदाहरण पनि बन्न सक्दो रहेछु जस्तो लाग्यो, त्यो दिन । 

भोलिपल्ट, ब्रेकफास्टको समयमा भेटियो पनि, ती नर्सहरूलाई । राफ्टिङ गर्न जाँदै रहेछन् । विकासजीले पनि चाहना रोक्न सकेनन् । ११ बजे को समय मिलाइ छाडे राफ्टिङका लागि । हामीले नाइँ भन्ने ठाउँ पनि थिएन । कहिल्यै उनले हामीलाई केही कुरामा नाइँ भनेका भए पो, हामीले पनि भन्न मिल्थ्यो । हामी पनि राफ्टिङमा जाने भयौँ । इश्वरदाइलाई भेटेर फर्किएपछि ।

कसैलाई भेट्न निकै हतारो भए झैँ विकासजीलाई राफ्टिङ गर्न पनि निकै हतारो भइरहेको थियो । जुन कामको लागि सिन्धुपाल्चोक गइएको हो, अब त्यो काम उनको र हाम्रो दोस्रो प्राथमिकता झैँ बनिसकेको थियो । रिसोर्ट फर्कनु र राफ्टिङ गर्नु नै जिन्दगीकै एक मात्र लक्ष्य पो बनिदियो । 

हामी इश्वरदाइको घर पुग्दा मित्रहरू चुडालजी (जयन्द्र), ध्रुवजी र लीलाजी (कोइराला) त्यहीँ रहेछन् । बिहानै आएका । इश्वरदाइ कहाँ हामी धेरै बेर बसेनौ वा बस्न चाहेनौँ । उनीहरू पनि हामीसँगै राफ्टिङ गर्ने चाहनामा साथै फर्किए । हामी बसेकै रिसोर्टमा ।

रिसोर्ट फर्केपछि केही बेर कुर्नुपर्ने भयो, राफ्टिङ गर्न । हामी ७ जना थियौँ । चुडालजीको चालकसहित । तर, रिसोर्टवालाले ५ जनाको लागि मात्र सिट उपलब्ध रहेको बताए । निकै माथापच्चीपछि देवेन्द्र र ती चालक बाहेक अरू बाँकी ५ जना जाने भयौँ, राफ्टिङ गर्न । केहीबेरको कुराइलाई छोटो पार्न १–१ बोतल जति बियर पनि पिइयो । 

हामी चुस्की लगाउँदै थियौँ, ती नर्सका टोली पनि राफ्टिङबाट फर्कियो । निकै रमाइलो भएको बताइरहेका थिए । अनि मेरो पनि आँट अलिकति भने पनि बढ्यो । सोचिएन र सोधिएन पनि मुटुको रोगीले त्यो साहसिक खेल खेल खेल्न हुन्छ कि हुँदैन भनेर । कतै गाइड लाइन पनि देखिएन ।

राफ्टिङ स्थलसम्म लैजाने गाडी तयार भयो । हामी गाडीमा बस्यौँ । अर्को राफ्टिङमा चढ्नेहरू अर्कै टोली पनि हामीसँगै थिए । केही महिलासहित जम्मा १८ जनाको टोली थियो, त्यो ।

गाडीमा रमाइलै गफ भयो । ध्रुवजीले अनायासै सोधे । ‘राफ्टिङ गर्नेको इन्स्योरेन्स हुन्छ कि हुँदैन होला ?’ सबै खामोस् । अकल्पनीय त्रासमा अल्झिए झैँ ।

सबैको मनको भाव बुझेरै होला विकासजीले हाँस्दै सोधे । ‘गाडी चढ्दा पिसाब लागे रोकेर बाटैमा पनि फेर्न सकिन्छ, राफ्टिङ गर्दा च्याप्यो भने के गर्ने ?’ सबैको ध्यान त्रासबाट हाँसोमा मोडियो । 

कसलाई के थाहा त्यो हाँसो केही बेर पछि रोदनमा परिवर्तन हुँदै छ । अनि कुनै अर्को संसारमा कसैको जिन्दगीको ‘क्लाइमेक्स’ लेखिँदै छ भन्ने ।

अहिले सोच्दा लाग्छ, विकासजीको हाउभाउमा त्यो बेला केही परिवर्तन आएको थियो । राफ्टिङ गर्दासमेत हेलमेट र लाइफ ज्याकेट लाउँदिन भने कर गर्दै थिए । भन्दै थिए, ‘म त्रिशूली र त्रिवेणीमा पौडी खेलेको मान्छे । यो खोला त केही होइन ।’ उनको बोलीमा भोटे कोशीलाई पनि जित्न सक्छु भन्ने घमन्डको गन्ध थियो वा चाहिनेभन्दा बढी आत्मविश्वास ।  गाइडले हेलमेट र लाइफ ज्याकेट नलगाए राफ्टिङमा नचढाउने बताएपछि मात्र उनी लगाउन राजी भए ।

सुरुमा त लाग्यो, मर्ने गरेर कुटूँ । टुक्रा–टुक्रा पारौँ झैँ । तर, चुप लागेँ । त्यो गाइड भने विकासजीलाई हेर्दै आफ्नो टाउकोमा हात राख्दै विलाप गर्दै थियो । आफ्नो जीवन बरबाद भएको बिलौना गर्दै थियो ।

राफ्टिङको सयर सुरु गर्नुभन्दा अगाडि केही बेर गाइडले के गर्ने र के नगर्ने भन्ने सामान्य जानकारी पनि दिँदा रहेछन् । मास्टरले १० पटक घोकाएपछि पाठ बुद्धिमा ठोक्किने हामी जस्ता मन्दबुद्धिले त्यो गाइडको भनाइ मरिगए बुझेको भए त के । तर, पनि बुझे झैँ गरियो ।

मलाई आगो र पानीबाट निकै डर लाग्छ । तर, म त्यही पानीमा खेलिने साहसिक खेल खेल्न गइरहेको थिएँ । पहिल्यै चिरिसकेको आफ्नो कमजोर मुटुलाई थुम्थुमाउँदै । त्यसमाथि हाम्रो राफ्टिङ गाइडको बोलीसमेत निकै रूखो थियो । भन्थ्यो, ‘मैले भन्या नमान्ने हो भने पानीमुनि लन्च पनि खान पाइँदैन नि ?’ उसको सिधा भनाइ हामी मर्न पनि सक्छौँ भन्ने थियो । 

राफ्टिङ सुरु भयो । गाइड यस्तो कि पानीमा राफ्ट (डुंगा) उफ्रिदा स्वतः निस्कने चिच्याहटमा पनि सबैलाई गाली गर्थ्यो । लाग्यो, उसले ‘रहम’ गरेर हामीलाई फोकटमा पानीको सयर गराउँदै छ । त्यस्तो बेला पनि विकासजी मोबाइलबाट फोटो खिच्दै फेसबुकमा शेयर गर्न भ्याइहाल्थे ।

गाइड भने जहाँ बढी छाल हुन्थ्यो, त्यतै लग्थ्यो, डुङ्गालाई । त्यही क्रममा म ३ पटक पानीमा खसेँ । हाम्रै डुङ्गामा बसेकी एक महिला पनि १–२ पटक नदीमा खसिन् । पानीमा खस्दा ल अब जिन्दगी नै सकियो भन्ने जस्तो लाग्थ्यो । तर, डुङ्गामा फर्किएपछि फेरी त्यो गाइडको गाली खायो, अनि फेरी प्याडल चलायो । तेस्रो पटक पानीमा खसेपछि भने मभित्रको आँट मर्‍यो । मैले गाइडलाई किनारामा लगेर रोक्न भने तर त्यसले मानेन । चलाइ नै रह्यो । लाग्यो, उ मलाई मार्ने योजना बुन्दै छ ।

म राफ्टमा सबैभन्दा अगाडि बसेको थिएँ । प्याडल चलाउने हिम्मत बाँकी थिएन । मेरो अवस्था बुझेरै होला विकासजीले बसेको ठाउँ साट्न भने, मैले तत्काल हुन्छ भने । अनि म सबैभन्दा पछाडि अनि उनी सबैभन्दा अगाडि आए । 

मलाई त्यति बेला पनि पत्तो थिएन, उनी मसँग मृत्यु साट्दै छन् भनेर । त्यसरी नै जसरी हावाको कुन चाहीँ झोंकाले अस्तित्व विलीन बनाउँदै छ भन्ने पत्तो रुखमा हल्लिरहेको पातलाई हुँदैन । अनि त्यसरी नै कसको पाइलाको मुनि कुल्चिएर कति बेला जीवन गुमाउनु पर्छ भन्ने ज्ञान बाटो हिँडिरहेको किरालाई हुँदैन । बस् एउटा त्यान्द्रोको सहारामा नै पो अड्किएको हुँदो रहेछ प्राण ।

हामीले ठाउँ साटेको ३–४ मिनेट मात्र बितेको हुँदो हो गाइडले चिच्याउन थाल्यो । अब ठुलो छाल आउँदै छ । मजासँग प्याडल चलाउनुस् । नत्र डुंगा पल्टेर ज्यान पनि जान सक्छ । म यति अत्तालिएको थिएँ कि गाइडको कुरा मानिन । बस् डोरी समातेर बसिरहेँ ।

नभन्दै त्यो डुंगा एउटा ठुलो चट्टानमा ठोक्कियो । त्यहीँतिर, जहाँ पहिले म थिएँ, अनि त्यो बेला विकासजी । डुंगा पल्टिएपछि मैले जीवनको अन्त्य यहीँ भोटे कोशीमा हुन लेखेको रहेछ भन्ने सोचेँ । शायद अरूले पनि त्यस्तै सोचे होलान् । सबै जना नदीमा छताछुल्ल भए । को कता, को कता, बग्न थाले । निकै बेर बगेँ पानीमा, म पनि । अनि अचानक त्यही उल्टो परिहरेको राफ्टको मुनि पुगेँ । चाहेर होइन, बच्न लेखेर, भाग्यले । राफ्टको डोरी समातेँ । जानेर श्वास फेर्न पाइएन, अनजान मै फेरियो होला छालले टाउको पानी बाहिर ल्याउँदा । अचानक राफ्टको बिच तिर खाली रहेको ठाउँमा टाउको घुसार्ने एउटा मौका पाएँ । नत्र त्यति गहुँगो राफ्टले थिचेर प्राण नै त्याग्ने अवस्थामा पुगी सकेको थिएँ, म ।

त्यही खाली ठाउँबाट राफ्टमा पानी छिर्ने र निकाल्न प्रयोग हुने स–साना प्वालमा औँला घुसारेर टाउकोलाई सकेसम्म पानी बाहिर राखिरहने प्रयास पनि छाडिन । थोत्रो लाइफ ज्याकेटले तैराएर राख्न खास मद्दत पनि गरेन । पानीभित्र कति पटक चट्टानमा शरीर ठोकिए पत्तै लागेन । भोलिपल्ट जिउ दुखेपछि भने थाहा पाइयो । त्यो बेला भने जति पानीमा बग्दै गएँ, त्यति नै लाग्दै गयो, अब मर्नु बाहेक अर्को विकल्प छैन भन्ने । आफूलाई मन पर्ने र माया गर्ने जति सबैलाई सम्झिएँ । जिन्दगी नै निभ्न लागेको भान पर्न थाल्यो । जसरी निभ्नुअघि दियो धिपधिपे बन्छ, मेरो श्वासको गतिमा पनि त्यस्तै धिपधिपे पन महसुस हुन थाल्यो । पानी पनि पिउन थाले, तर सकेसम्म निलिन । खै कताबाट आँट पनि आउँदै थियो, बाँच्ने प्रयास छाड्नु हुँदैन भनेर । 

सङ्घर्ष गर्दा गर्दै कहिले काहीँ थकित भइँदो रहेछ । म पनि भएँ । केही नलागेपछि आफैँले आफैँलाई भने, अब मर्न तयार भए हुन्छ । तर, कति बेला मेरो प्राण उड्छ भन्ने पत्तो भने थिएन । निश्वासिनुको पीडाले निकै बेचैन बनाउँदो रहेछ । मलाई पनि बनायो । एकातिर बाँच्ने रहर, अर्कोतिर मर्ने भय । जीवन र मृत्युसँग सङ्घर्ष गर्दै थिएँ, म । वास्तव मै भन्ने हो भने त्यति बेला जति जीवनमा कहिल्यै अत्तालिएको र डराएको थिइन, म । न अघि नतै पछि । भयले चिसो पानी पनि उम्लिएर तातो बने झैँ लाग्न थाल्यो । शरीरमा जलन हुन थाल्यो । शरीरका हरेक अङ्ग एकपछि अर्को गर्दै जलेर पग्लिन थाले झैँ लाग्न थाल्यो । कसैले उम्लिएको पानीभित्र खुट्टा तान्दै छ जस्तै ।

अचानक फेरी त्यही गाइडको आवाज सुनियो । ‘डुंगा सिधा पार्नु पर्‍यो, सबैले डोरी छाड्नुस् ।’ 

मसँगै एक महिला पनि त्यही डुङ्गाको डोरी समातेर बसिरहेकी रहिछन् । उनले गाइडको कुरा मानिन्, अनि पानीमा बग्न थालिन् । मैले मानिन । बल्लतल्ल गाइडले राफ्ट सुल्टो बनायो । मलाई राफ्टमा तानेर राख्यो । अब बचेँ भन्ने मात्र के लागेको थियो, गाइड त पानीमा हाम फालेर पो भाग्यो । म डुङ्गामा एक्लै भएँ । त्यो गाइडले छाडेको प्याडल त थियो साथमा । तर, त्यो प्याडल मेरो कुनै कामको थिएन । त्यो तेज बहावमा डुंगा खियाउने सक्ने तागत मेरो शरीरमा बाँकी थिएन । रगत नै जमे जस्तो भयो । 

अनि फेरी एक पटक आफूलाई भगवान् भरोसा छाडेँ । उही बादल झैँ हावाले जता लग्यो, त्यतै बहने । म बादल अनि त्यो नदी हावा । लाग्यो, फेरी कुनै छालले डुंगा पल्टाएन भने डुब्न त डुबिदैंन । ढिलो चाँडो कसैले उद्धार त गर्ला नै ? बाँच्ने आस जीवितै थियो । शायद आशा नै विश्वासको बलियो कडी हुँदो रहेछ । बस्, आशा थिएन त, हामीलाई राफ्टिङमा ल्याउने कसैले बचाउला भनेर । थुचुक्क बसेँ, डुङ्गामा । हुन त राफ्टिङ सुरु गर्दा हामीसँगै दुइटा राफ्टका लागि एउटा कायाक पनि सँगै थियो । कत्ति न बचाउँछु झैँ गरेर अगाडि लागेको थियो । भागेछ, त्यो पनि ।

डुंगा आफ्नै तालमा बग्दै थियो । किनारामा जसलाई देख्थेँ, बचाउन आग्रह गरिहाल्थेँ । कसैले मद्दत गरेन । बग्दै गरेको डुङ्गाको अगाडि कुनै चट्टान देख्दा फेरी मनमा चिसो पस्थ्यो । सकेसम्म प्याडलको सहाराले डुङ्गालाई चट्टानभन्दा टाढा लैजाने प्रयास गर्थेँ । मनमा लाग्यो, म बाँचे भने त सबै बाँच्लान् नि । अरूलाई पनि मेरै पिर बढी रहेछ । हर्ट बाइपास गरिसकेको म, मर्छ नै भन्ने अनुमान रहेछ अरूको । त्यसमाथि जिउ डाल पनि ठुलै । बाँच्ने कामना गर्दै डुङ्गामै रहँदा एउटा लाइफ ज्याकेट पानीमा बगी रहेको देखेँ । लाग्यो, कसैको फुत्कियो होला ।

अचानक, म बहिरहेको डुंगा दुइटा चट्टानको बिचमा अड्कियो । पारि पट्टी लीलाजी हिँड्दै आइरहेको देखेँ । आफ्नै कोसिसमा आफूलाई बचाएछन् । राम्रा ज्योतिषीसमेत रहेका लीलाजीलाई बोलाएँ, मैले । डुंगा बाहिर निस्किएर किनारामा जाने आँटसमेत मरिसकेको थियो, मेरो । लीलाजीले त्यो डुङ्गाको डोरी एउटा चट्टानमा बाँधे । मलाई बाहिर निस्कन आग्रह गरे । तर, मैले डुङ्गामा नै बसिरहने जिद्दी गरे । पानीमा खुट्टा टेक्ने आँट पनि मरेकाले । अनि उनी पनि म बसेकै डुङ्गामा आए । अनि भने, मलाई ध्रुवजीको डर लागी रहेको छ । मलाई पनि चसक्क भयो । मनमा चिसो पस्यो । अघि बगी रहेको लाइफ ज्याकेट सम्झिए । कतै त्यो ध्रुवजी त थिएनन् ? मनमा प्रश्न खेल्यो ।

केही बेरपछि एक अपरिचित गाइड पारिबाट पौडदैं हाम्रो डुङ्गामा आए । र हामीलाई डुङ्गासहित किनारामा लगे । बल्ल बचियो झैँ लाग्यो । कतै केही नसोची सबैभन्दा पहिले खलखल पानी खाएँ । बल्ल पत्तो पाइयो, घाँटी कति सुकेको रहेछ भन्ने ।

अलि पर चुडालजी अत्तालिँदै मलाई बोलाइ रहेका थिए । म त्यहाँ पुगेँ । मनमा ध्रुवजीलाई केही भयो कि भन्ने नै थियो । तर, अचानक भुइँमा अचेत अवस्थामा विकासजी पो लडिरहेका रहेछन् । त्यो पनि नदीबाट बालुवा झिक्नेहरूले बाहिर निकालेका रहेछन् ।

हामी डुबेको त्यति समय बित्दासमेत उद्धारका लागि कोही आएनन् नै पानीमा डुबेर निस्तेज बनेर लडिरहेको एक जनालाई प्राथमिक उपचार गर्ने र अस्पताल पुर्‍याउने व्यवस्थासमेत हुन सकिरहेको रहेनछ । जहाँ विकासजी लडिरहेका थिए, त्यही नजिक पिकनिक आएको एउटा बस रहेछ । हार गुहार गरेर त्यसमै राखेर विकासजीलाई खाडीचौरमा रहेको एउटा निजी अस्पतालमा लग्यौँ । बसभित्र लीलाजी र म थियौँ । हामी विकासजीको हात खुट्टा तताउने प्रयास गर्दै थियौँ । मुख नीलो भइसकेको थियो । लाग्यो, गइसके विकासजी ।

हामीलाई डुङ्गाबाट पल्टाएर तोजहराम गर्ने गाइडलाई पनि मैले त्यही बसभित्र देखेँ । सुरुमा त लाग्यो, मर्ने गरेर कुटूँ । टुक्रा–टुक्रा पारौँ झैँ । तर, चुप लागेँ । त्यो गाइड भने विकासजीलाई हेर्दै आफ्नो टाउकोमा हात राख्दै विलाप गर्दै थियो । आफ्नो जीवन बरबाद भएको बिलौना गर्दै थियो ।

अस्पतालमा पुगेर इसिजि गर्दा उनको मुटु बन्द भइसकेको देखायो । तर, त्यहाँ कार्यरत चिकित्सकले एउटा मृत्युलाई घाँडो सम्झिए । अनि धुलिखेल अस्पताल लग्न सके बचाउन सकिन्छ कि ? भन्ने झूटो आश्वासन पनि दिए । हामीले उनको परिवारलाई पनि मुख देखाउनु नै थियौँ । विकासजी बिते भन्ने थाहा पाउँदा पाउँदै पनि धुलिखेल अस्पताल ल्याइयो । 

मैले राफ्टिङमा जानुअघि नै आफ्ना मोबाइल, पर्स सबै गाडीमा राखेको थिएँ । कसैको फोन नम्बर पनि याद थिएन । अस्पतालमा एक जनाको फोन मागेर इश्वरदाइलाई फोन गरेँ । सबै कुरा बताएँ अनि विकासजीको घरवालाहरूलाई धुलिखेल जान भनिदिन पनि भने । चिर निन्द्रामा गइसकेका विकासजीलाई एम्बुलेन्समा हालेर पठाइयो । लीलाजी पनि साथै गए । मैले देवेन्द्रजीलाई अस्पताल तिरै गाडी ल्याउन आग्रह गरेँ । अनि हामी पनि लाग्यौँ धुलिखेलतिर ।

धुलिखेल अस्पतालमा पुगे लगत्तै औपचारिकरुपमा थाहा पाइयो । विकासजीको इहलीला समाप्त भइसक्यो भनेर । उनको घर–परिवारसँग आँखा जुधाउने आँट थिएन । तर, मिलाउनै पर्‍यो । अस्पतालमा भेट हुने हरेकलाई दुर्घटना बारे बेलिबिस्तार लगाउँदा अनि लामो समयसम्म त्यही पानीमा भिजेको लुगा लगाइ रहँदा घाँटी पनि बस्यो । बनेपाको शिर मेमोरियल अस्पतालमा पोस्टमार्टम सकेर घर फर्कँदा मध्यरात भइसकेको थियो । शरीरमा थकाइ त निकै थियो तर, निन्द्रै लागेन, सुत्नै सकिन ।

लामो समयसम्म मलाई त्यो घटनाले तर्साइ रह्यो । आँखा चिम्लिँदासमेत आफू पानीभित्र डुबिरहेको भयले सताउँथ्यो । त्यही पानी, त्यही गडगडाहट अनि त्यही उकुस–मुकुस श्वास नै जाला जस्तो । लाग्यो, एक पटक मनोविज्ञसँग पनि परामर्श लिने कि ? भन्ने । तर, समयले सबै कुरा बिर्साउँदै लग्दो रहेछ । जसरी आगो रापिएको फलाम पलपल सेलाउँदै जान्छ । अनि स्वाभाविक अवस्थामा फर्कन्छ । म पनि त्यही फलाम बनेँ । विकासजीको मृत्यु अब कुनै कथा झैँ लाग्न थालेको छ । मैले त्यो दिन पानीभित्र र बाहिर भोगेको बेचैनी अब बस् याद बनेको छ, जसरी विकासजी पनि मात्र याद बनेका छन् ।

 

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि