बैशाख १५, २०८१, शनिबार
               

गोपीचन्द्र पार्की टोकियोमा हुने ओलम्पिकको लागि छनोट

नेपाल फ्ल्यास
मंसिर ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकको लागि नेपालबाट छनोट भएका छन् ।

बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका हुन् । पार्कीले छैटौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन् ।

पार्कीले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए । २५ जना खेलाडी सहभागी सो म्याराथनमा पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा १८ मिनेट ५९ सकेन्डमा पूरा गरेका थिए ।

त्यस्तै, नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भएका छन् । उनले दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा दौड पूरा गरेका थिए । अर्का नेपाली सेनाकै खगेन्द्र भाट दुई घण्टा २७ मिनेट २८ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भएका छन् ।

पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार रुपैयाँ, ३० हजार रुपैयाँ तथा १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजक संस्था क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । 

कोरोना भाइरसको महामारीका कारण अन्य प्रतियोगिता आयोजना हुन नसक्दा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगञ्ज म्याराथनको विजेतालाई टोकियो ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो । 

यसैगरी महिला हाफ म्याराथनको उपाधि एपीएफ क्लबकी पुष्पा भण्डारीले जितेकी छन् । तेह्रौँ सागको हाफ म्याराथनमा रजत पदक जितेकी पुष्पाले निर्धारित दूरी एक घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गरिन् । उनले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् ।

यस्तै कर्णाली प्रदेशकी मञ्जु रावत एक घण्टा ३० मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भएकी छन् भने शर्मिला घर्तीले एक घण्टा ३८ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरेकी छन् । रावत र घर्तीले क्रमशः १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।  

यो पनि