बैशाख १४, २०८१, शुक्रबार
               

ट्रम्पले बिगारेको अमेरिका र बाइडेनको चुनौतीपूर्ण बाटो

एजेन्सी
कात्तिक २५, २०७७

ADVERTISEMENT

अमेरिकी चुनावको नतिजा दुई कारणले महत्त्वपूर्ण छ – पहिलो यस चुनावमा संख्यात्मक रूपमा अहिलेसम्मकै धेरै (अनुमानित १६ करोड) र प्रतिशतका हिसाबले १ सय २० वर्षयताको सर्वाधिक (६६ दशमलव ९ प्रतिशत) मत खस्यो । दोस्रो – ‘श्वेत सर्वोच्चता’ लाई मलजल गर्दै ट्रम्पले चार वर्षदेखि निरन्तर खनेको सामाजिक खाडल यसअघि आँकिएभन्दा धेरै गहिरो देखियो । आफूलाई विश्वको सबैभन्दा प्रजातान्त्रिक दाबी गर्ने देशको चुनाव विवादित बन्नु र अनि हार्ने पक्षले जित्ने पक्षलाई स्विकार्न नसक्नु यसको प्रमाण हो । 

सन् २००८ मा बराक ओबामाले ल्याएको सर्वाधिक ६ करोड ९४ लाख मतको  इतिहास अहिले एकैपटक दुई उम्मेदवारले तोडेका छन् । कीर्तिमानी ७ करोड ५० लाख मतले जो बाइडेनलाई विजयी बनायो, ७ करोडभन्दा धेरै मत ल्याएर पनि ट्रम्प पराजित भए । अमेरिकामा लोकप्रिय मत नभएर इलेक्टोरल कलेजले राष्ट्रपतिको छिनोफोनो गर्छ र आवश्यक २ सय ७० भन्दा धेरै इलेक्टोरल मत बाइडेनको पक्षमा गइसकेको छ, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कम्तीमा २ सय ९० देखि ३ सय ६ मत बाइडेनलाई मिल्न सक्छ । यसरी लोकप्रिय र इलेक्टोरल मत दुबैमा अगाडि भए पनि बाइडेनको यात्रा चुनौतीरहित छैन । 

कोरोना महामारी, आर्थिक दुबिधा, रंगभेदका कारण सिर्जित अस्थिरता र जलवायु परिवर्तनप्रतिको बढ्दो चिन्ताबाट ग्रस्त मुलुक सम्हाल्न आइपुगेका बाइडेनसामु ट्रम्पको रिपब्लिकन पार्टीकै सिनेटरहरूलाई समेत मनाएर अघि बढ्नुपर्ने चुनौती छ । 

सिनेटको निर्वाचन महत्त्वपूर्ण 

बाइडेन विजयी हुनुले जति धेरै अर्थ राख्छ, त्यति नै धेरै अर्थ अमेरिकी संसद्को तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ) र माथिल्लो सदन (सिनेट) को नतिजाले राख्छ । तल्लो सदनमा डेमोक्रेटिकहरूले आफ्नो बहुमत कायमै राखेका छन् । तर, यहाँ रिपब्लिकनहरूले आफ्नो संख्या बढाएका छन् । यता, सिनेटको टुंगो लागिसकेको छैन र यहाँ रिपब्लिकनकै बहुमत कायम रहन सक्छ । ह्‍वाइट हाउसको कुर्सी गुमाए पनि रिपब्लिकन पार्टीमा ट्रम्पको पकड अझै बलियो हुने संकेत यस निर्वाचनले गरेको छ, अमेरिकामा ट्रम्प र उनका अनुयायीहरू ठुलो राजनीतिक दस्ताका रूपमा रहिरहने देखिन्छ । 

श्वेत सर्वोच्चतावादी विचार र मुद्दालाई ट्रम्पले नयाँ उचाइ दिएका छन् । बन्दुक अधिकारको दोस्रो संशोधनको वकालत, समलिङ्गी विवाहको विरोध, चीनले कोरोना फैलाएको सिद्धान्तलगायतका पुरातनवादी विचार र पपुलिस्ट अभिव्यक्तिका आडमा उनले अधिकांश राज्यमा बाइडेनलाई कडा टक्कर दिए । उनले ती अनुमानहरू गलत साबित गरिदिए, जसले मतदाता संख्यामा उल्लेख्य वृद्धि हुँदा डेमोक्रेटिकको पक्षमा जनलहर देखिएको भन्दै रिपब्लिकन पार्टी सहजै बढारिने ठोकुवा गरेका थिए । कोभिड १९ को असफल व्यवस्थापनका कारण बढ्दो मृत्युदर, बेरोजगारी, आर्थिक क्षति, श्वेत सर्वोच्चताको दम्भ, अल्पसंख्यकमाथिको दमनलगायत मुद्दा चर्को रूपमा उठिरहेका बेला पनि ट्रम्पले चार वर्षअघिभन्दा  झन्डै ७० लाख धेरै मत ल्याए । आलोचकहरूले उनी जति अलोकप्रिय छन् भनेर प्रचार गरेका थिए, त्यस्तो देखिएन । ट्रम्पको दाबीअनुसार त वैध भोटका आधारमा उनले जितिसकेको चुनावलाई डेमोक्रेट्सहरूले फर्जी मत र दुुराभावपूर्ण मतगणनाको सहारामा चोरी गरेका हुन् । उनले अदालतको ढोका समेत ढकढक्याएका छन् । यस्तो तिक्तताबीच कोरोना महामारी, आर्थिक दुबिधा, रंगभेदका कारण सिर्जित अस्थिरता र जलवायु परिवर्तनप्रतिको बढ्दो चिन्ताबाट ग्रस्त मुलुक सम्हाल्न आइपुगेका बाइडेनसामु ट्रम्पको रिपब्लिकन पार्टीकै सिनेटरहरूलाई समेत मनाएर अघि बढ्नुपर्ने चुनौती छ । 

महामारी व्यवस्थापन 

न्यूयोर्कमा एकअर्कालाई अंगालो हाल्दै हजुरआमा-नातिनी

अमेरिकामा १ करोडभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ, २ लाख २८ हजारभन्दा धेरैको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो साता यहाँ दैनिक १ लाखभन्दा धेरै व्यक्ति संक्रमित भइरहेका छन् । विज्ञहरू यस वर्षको अन्त्यसम्म कम्तीमा एउटा खोपले स्वीकृति पाउने बताइरहेका छन्, अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकको सहकार्यमा निर्मित नयाँ भ्याक्सिनले तेस्रो चरणको परीक्षणमा ९० प्रतिशत प्रभावकारिता देखाएको छ । बाइडेनले जितेसँगै सार्वजनिक भएको यो खबर उत्साहप्रद छ । तर, ३० करोडभन्दा धेरै अमेरिकीमाझ भ्याक्सिन उपलब्ध हुन महिनौं लाग्नसक्छ । बाइडेनले आफ्नो विजयी भाषणमा पनि महामारी नियन्त्रण प्रमुख प्राथमिकता रहेको उल्लेख गरिसकेका छन् । तर, अमेरिका र बाँकी विश्वलाई अब उनका भाषण र योजनामा होइन, त्यसको कार्यान्वयन र प्रभावकारीमा चासो छ । 

अर्थतन्त्र 

बाइडेनले कोरोना महामारीबाट थलिएको अर्थतन्त्रको पनि पुनर्निर्माण गर्नुपर्नेछ । निर्वाचनताका गत अक्टुुबरमा आफ्नो योजना सार्वजनिक गर्दै उनले भनेका थिए, ‘हरेक राज्यका गभर्नर,  मेयर तथा स्थानीय अधिकारीसँग भेटेर उनीहरू के सहयोग चाहन्छन् र कति खर्च आवश्यक छ भन्ने विषय बुझ्नेछु । त्यसपछि जनस्वास्थ्यको सम्बोधन गर्नका लागि आवश्यक लागत समेत समेटेर जनवरीको अन्त्यसम्म विधेयक तयार गर्न नव निर्वाचित संसद्लाई भन्नेछु ।’ बाइडेनले आफ्नो राहत योजनाबारे ठोस प्रारूप सार्वजनिक गरेका छैनन् । तर, संसद्बाट पास गरेर प्रभावितहरूलाई राहत रकम  उपलब्ध गराउने वाचा गरेका छन् । ‘मानिसहरूलाई आफ्नो व्यापार खुला गर्नका लागि जे सहयोग आवश्यक हुन्छ, त्यो सहयोग गर्नेछौँ ,’ उनले भनेका थिए । संसद्ले यसअघि पनि कोरोना भाइरस राहत प्याकेज पास गरेको थियो, जसअन्तर्गत धेरै अमेरिकीहरूले १२ सय डलरको राहत चेक पाए । तर, विगत धेरै महिनादेखि नयाँ नियम संसद्बाट पारित हुन सकेको छैन । बाइडेनसँग बेरोजगारहरूका लाभको योजना पनि छ । उनले महामारीका कारण जागिर गुमाएका सबै कामदारहरूलाई सहयोग गर्नका लागि ‘स्वास्थ्य संकट बेरोजगारी इनिसियटिभ’ योजना ल्याउन सकिने बताएका छन् । यद्यपि, जागिर गुमाएका दसौँ लाख मानिसहरूलाई बेरोजगारी लाभ उपलब्ध गराउनु चुनौतीपूर्ण नै छ । कोभिड-१९ संकट बेरोजगारी बिमालाई लम्ब्याउने, आपतकालीन तलबी बिरामी बिदा उपलब्ध गराउने र हेरचाह गर्नका लागि पनि बिदा बस्न पाइने व्यवस्था मिलाउने उनको वाचा छ । 

रंगभेद 

अश्वेत मतदाताहरूले ह्‍वाइटहाउससम्म बाइडेनको बाटो खोलिदिएका हुन् । फिलाडेल्फिया, डिट्रोइट, मिल्वाउकी, एटलान्टालगायत क्षेत्रबाट बाइडेनलाई विजयी हुन आवश्यक निर्णायक मत आएको छ ।  तर, यही समय एफ्रो–अमेरिकीहरू आफ्नो गोरा सहयोगी र अन्य अश्वेत समुदायसँग मिलेर सडकमा राष्ट्रव्यापी प्रदर्शनमा छन्, रंगभेद र प्रहरी दमनविरुद्ध उनीहरूको आवाज चर्को सुनिएको छ  बाइडेनले निर्वाचन अभियानताका सार्वजनिक रूपमै ‘ब्ल्याक लाईभ्स म्याटर्स’ भन्ने वाक्य प्रयोग गरेका थिए । उनले प्रणालीगत रंगभेदलाई सम्बोधन गर्ने गरी योजनाहरू सार्वजनिक गरेका छन् । अश्वेतहरूको स्वामित्वमा रहेका साना व्यवसायमा लगानी गर्ने, एफ्रो–अमेरिकीहरूलाई घर किन्नका लागि सहयोग मिल्ने गरी नयाँ ट्याक्स क्रेडिट सिर्जना गर्ने र अश्वेत कलेज तथा विश्वविद्यालयमा लगानी गर्ने उनको घोषणापत्रमा उल्लेख छ । अब, आफ्ना योजना सुनाएरमात्रै पुग्दैन, देशभर भइरहेका प्रदर्शनलाई निकट भविष्यमै सम्बोधन गर्नुपर्ने चुनौती आइसकेको छ । 

जलवायु परिवर्तन 

बाइडेनको घोषणाअनुसार उनी राष्ट्रपति बनेको पहिलो दिनमै पेरिस जलवायु सम्झौतामा अमेरिका फर्कनेछ,  ओबामा कार्यकालमा विश्वका ठुला नेताहरूको संलग्नतामा यस सम्झौतामा हस्ताक्षर भएको थियो । तर, ट्रम्पले यस सम्झौताबाट अमेरिकालाई बाहिर निकाले । अभियन्ताहरू सम्झौतामा हस्ताक्षर गरेकै भरमा अमेरिकाको दायित्व पूरा नहुने ठान्छन् । पछिल्ला केही महिनामा  अमेरिकाका धेरै भूभागमा आँधी–हुरी गएको छ । त्यस्तै, उत्तरी क्षेत्रतर्फ हजारौँ माइल्स भूमि डढेलोले सखाप पारेको छ । युवा मतदाता र प्रगतिशीलहरू पक्कै पनि बाइडेनबाट ठोस योगदान चाहन्छन्, उनीहरूले यसबारे दबाब सिर्जना गर्नेछन् । बाइडेनले जलवायु परिवर्तन रोक्नका लागि बनाएको योजनामा ‘१ सय प्रतिशत स्वच्छ ऊर्जा अर्थतन्त्र र शून्य कार्बन उत्सर्जनतर्फ जाने लक्ष्य २०५० अघि नै पूरा गर्ने’ उल्लेख छ, तर यो चुनौतीरहित भने छैन । 

युएई, बहराइनलगायत अरब देशसँग इजरायलको सम्बन्ध सुधार्ने कोसिसमा नेतान्याहु धेरै हदसम्म सफल पनि भए । तर, यो अवस्था अब परिवर्तन हुनसक्छ । इरानलाई शत्रु ठान्ने साउदी अरेबियासँग बाइडेनले कसरी सम्बन्ध व्यवस्थापन गर्छन् भन्ने पनि हेर्न बाँकी छ ।

विदेश नीति 

अमेरिकी राजनीतिमा विदेश नीतिले ठुलो अर्थ राख्छ । तर, डोनाल्ड ट्रम्पले अमेरिका फर्स्ट नीतिअन्तर्गत घरेलु मुद्दा र स्वार्थहरूलाई पहिलो प्राथमिकतामा राखे । जसकारण, अमेरिकाका धेरै सहयोगीहरू टाढिए । त्यसैले, युरोपका अधिकांश देशहरू ट्रम्पको बर्हिगमनमा खुसी छन् । ट्रम्प कार्यकालमा गुमेको उनीहरूको विश्वास फर्काउनु बाइडेनको प्रमुख चुनौती हो । ट्रम्पले सुरु गरेको व्यापार युद्धका कारण चीन–अमेरिका सम्बन्ध इतिहासकै खराब मोडमा छ,  धेरैले यसलाई नयाँ शीतयुद्ध समेत भनेका छन् । ट्रम्प कार्यकालमा हुबाबे कम्पनीको फाइभ जी प्रविधि, साउथ चाइना समुन्द्र, हङकङ, ताइवानलगायत धेरै विषयमा विश्वका दुई ठुला शक्तिबीच मतभेद देखियो ।  हुदाँहुँदा चीनले कोरोना भाइरस फैलाएर बाँकी विश्वलाई संक्रमित गरेको आरोप समेत ट्रम्पले लगाए ।

यता, निर्वाचन अभियानका क्रममा सी जिनपिङको विरोध गरेर लाभ लिनुपर्ने आवश्यकता महसुस नगरेका बाइडेन प्रायजसो चिनियाँ नेताबारे चुप नै बसे । यी दुईबीच ओबामा कार्यकालमा राम्रो सम्बन्ध पनि थियो । जसकारण, ट्रम्पले बाइडेन चीनप्रति बफादार हुनेछन् भन्ने आरोप नै लगाए । सायद, ट्रम्पको त्यो अभिव्यक्तिको खण्डन गर्नकै लागि बाइडेनले भर्खरै सी जिनपिङलाई ‘ठग’ भनेको हुनुपर्छ । चीनसँगको सम्बन्धलाई फरक तवरले अघि बढाउने सोच राखेका बाइडेन कसरी अघि बढ्छन् भन्ने विषय स्पष्ट भइसकेको छैन । यद्यपि, उनी ट्रम्पभन्दा नरम हुने विश्लेषण गरिएको छ । 

ओबामा कार्यकालमा इरानसँग विश्वका अन्य ठुला देशले आणविक सम्झौता गरेका थिए । जसअन्तर्गत इरानले आणविक कार्यक्रम बन्द गर्ने र बाँकी विश्वले प्रतिबन्धहरू खुकुलो गर्दै अन्तर्राष्ट्रिय बजारमा उसको प्रवेशलाई सहज बनाउने उल्लेख थियो । ट्रम्प कार्यकालमा अमेरिका सम्झौताबाट बाहिरियो, उसले इरानमाथि अत्यधिक दबाबको नीति सिर्जना गर्दै कडाखाले आर्थिक प्रतिबन्धहरू लगायो । बाइडेनले फेरि यस सम्झौतामा फर्कने बताइसकेका छन् ।  तर, उनको यो प्रस्तावलाई इरानले कसरी लिन्छ भन्ने अनिश्चित छ, किनकि इरानका नेता अयोतुल्लाह अलि खामेनेईले ह्‍वाइटहाउसमा जोसुकै आए पनि अमेरिका विश्वास गर्न लायक राष्ट्र नरहेको प्रतिक्रिया दिएका छन् । बाइडेनको इरान नीतिले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई एक्लो बनाउन सक्छ । यसअघि  ट्रम्पले इरानलाई एक्लाउने प्रयास गर्दाको फाइदा उनले उठाएका थिए । युएई, बहराइनलगायत अरब देशसँग इजरायलको सम्बन्ध सुधार्ने कोसिसमा नेतान्याहु धेरै हदसम्म सफल पनि भए । तर, यो अवस्था अब परिवर्तन हुनसक्छ । इरानलाई शत्रु ठान्ने साउदी अरेबियासँग बाइडेनले कसरी सम्बन्ध व्यवस्थापन गर्छन् भन्ने पनि हेर्न बाँकी छ । 

बाइडेनको उदयले बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई भने अप्ठेरो महसुस हुनसक्छ, ट्रम्पसँग नजिकको सम्बन्ध राखेका जोनसोन युरोपेली युनियनबाट बेलायत बाहिरिने प्रक्रियाले पूर्णता पाउनुअघि नै अमेरिकासँग व्यापार सम्झौता हासिल हुने आशामा थिए । यस्तो सम्झौतामा बाइडेनले हतारो नगर्न पनि सक्छन् । ट्रम्प बर्हिगमनपछि उत्तर कोरिया आणविक निःशस्त्रीकरण एजेन्डा कसरी अघि बढ्छ भन्ने पनि धेरैलाई चासो छ । ट्रम्प र किम जोङ उनबीचको शिखर वार्ताको बाइडेनले आलोचना गरेका थिए । उनले तानाशाहसँग वार्ता गर्नेभन्दा पनि दक्षिण कोरियालाई समर्थन गरेर निःशस्त्रीकरण लागि उत्तरलाई दबाब दिनुपर्ने धारणा राखेका थिए । उत्तरलाई निःशस्त्रीकरण गर्न ट्रम्प असफल रहेकाले आलोचकहरू यस क्रममा भएका तीनवटा वार्तालाई समयको सत्यानाश भन्छन् । उनीहरूको बुुझाईमा किमले ट्रम्पलाई वार्तामा अल्झाउने अनि आफ्नो आणविक शक्ति सुदृढ गर्ने अवसरका रूपमा यो समयलाई उपभोग गरे । गत महिना उत्तरले उसको अहिलेसम्मकै सबैभन्दा ठुलो अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल्स परीक्षण गर्‍यो । उत्तर कोरियाबारेका विज्ञ र अमेरिकी विदेश विभागका पूर्वअधिकारी इभान्स जे आर रिभेरका अनुसार प्योङयाङले अमेरिकालाई नै निशाना मार्नसक्ने गरी आफ्नो आणविक कार्यक्रमलाई तीव्र विकास गरिसकेको छ । उत्तर कोरियाको उग्रतालाई सामना गर्नुपर्ने यो झन्झटिलो प्रक्रिया अब ट्रम्पबाट बाइडेनमा हस्तान्तरण हुनेछ ।

हुन त अमेरिकाले रुसमाथि लगाएको आर्थिक प्रतिबन्ध अझै कायम छ । तर, क्रेमलिनप्रति बाइडेन थप अनुदार हुने विश्लेषण गरिएको छ । क्रेमलिनसँग अमेरिकाको सम्बन्ध सुधार्दा सबैलाई लाभ हुने ट्रम्पको दाबी थियो । उनले नेटोको प्रभावकारिताबारे प्रश्न गरेका थिए, अमेरिकी चुनावमा रुसी हस्तक्षेपको विषय नजरअन्दाज गरिदिए, भ्लादिमिर पुटिनलाई मन पराउँथे । तर, बाइडेनसँग रुसप्रति अनुदार हुनुपर्ने धेरै कारण छन् । सन् २०१४ मा युक्रेनको क्रिमियामाथि रुसले कब्जा जमाउँदा ओबामा राष्ट्रपति र बाइडेन उपराष्ट्रपति थिए ।

त्यसयता, रुसमाथि नाकाबन्दी लगाएर ओबामा प्रशासनले पुटिनलाई एक्ल्याउन खोज्यो, जवाफमा रुसले ह्याकर र जासुसहरूको सहयोगमार्फत २०१६ को अमेरिकी चुनावमा हस्तक्षेप गर्‍यो । डेमोक्रेट्सहरूको बुुझाइमा हिलारीको हार र ट्रम्पको जीतमा क्रेमलिनको भूमिका निर्णायक थियो । त्यसैले ट्रम्प परास्त भएसँगै रुस–अमेरिकाबीचको सम्बन्ध थप तनावपूर्ण हुने अनुमान गरिएको छ । प्रतिबन्धहरू लम्बयाउनेमात्र होइन, रुसविरुद्ध आफ्ना अन्य सहयोगी राष्ट्रहरूलाई एकजुट गराएर बाइडेनले अन्य कठोर कदम पनि चाल्न सक्छन् । हतियार नियन्त्रण एकमात्रै त्यस्तो क्षेत्र हुनसक्छ, जहाँ बाइडेन र पुटिन दुबैले सुधारको इच्छा राख्छन् । २०१० को नयाँ रणनीतिक हतियार न्यूनीकरण सम्झौताको मिति बाइडेनले राष्ट्रपतिको शपथ लिएको केही साताभित्रै समाप्त हुनेछ, बाइडेन बिना सर्त यो सम्धीलाई लम्ब्याउने पक्षमा छन् । 


कस्तो लाग्यो ?

यो पनि