बैशाख १४, २०८१, शुक्रबार
               

समृद्ध मुलुक हेर्ने फक्रँदो चाहना

आनन्द ढकाल
असोज ०५, २०७७

ADVERTISEMENT

हिजोआज मेरो मुलुक पीडामा छ । अथाह पीडाको सागरमा भौँतारिहेको छ । त्यसैले म समुन्द्रको छालले छियाछिया बनेको मुलुकलाई किनारामा ल्याउने युग पुरुषको खाँचो पनि महसुस गरिरहेको छु ।

वेद तथा पुराणहरूमा उल्लेख भए अनुसार  प्राचीन कालदेखि नै देवी देवताको वासस्थान, ऋषिमुनिले तप र मोक्ष प्राप्त गरेको यो पवित्र पुण्यभुमि तथा तपोभुमि हो, नेपाल । एसियाका ताराले सुपरिचित शान्तिका दूत भगवान गौतम बुद्धको अवतरण भएको पवित्र भूमि हो, यो ।  ३० वर्ष अगाडि मात्र  भारत बाहेक विश्वका १ सय ३० मुलुकले शान्ति क्षेत्रको मानेको भूमि हो, यो । भारत सधैँआफुभन्दा कमजोर र साना राष्ट्रलाई दास मनोवृत्तिबाट हेर्ने गर्छ । आज त्यो मुलुकले वशुधैव कुटुम्बकम् को मुलमन्त्रमा बाँधिन र पूर्वीय दर्शनमा आस्था अनि विश्वास राख्न पनि छाडिसकेको छ ।

अनि सारा संसारलाई शौर्य तथा पराक्रमले चिनाउने वीर नेपाली योद्धाहरूको उर्वर भूमि हो, नेपाल । शान्तिप्रिय, अतिथि देवो भव:, पितृ देवो भव:, मातृ देवो भव:,  गुरुदेवो भव:को मुलमन्त्र बोक्ने फरासिला र शालीन  नेपाली  समाज थियो । विदेशीहरूको अगाडि नेपालीको शान र मान  अनि दैनिकी र आर्थिक स्तरको इतिहास नियाल्ने हो भने अहिलेको पुस्ता टाउकोमा हात राखेर घोत्लिनु पर्ने भयावह अवस्था सृजना भएको छ ।

प्रविधिको यो युगमा विकसित मुलुकका युवाहरू अन्तरिक्ष नाप्दै छन् । वैज्ञानिक खोजले आफ्ना मुलुकलाई झनै समृद्ध बनाउँदै छन् । तर, यो मुलुकका अधिकांश शिक्षित युवा आफ्नो भूमिमा भविष्य नदेखेर विदेशीको गुलाम बन्न बाध्य छन् । जो यही माटोको भविष्य खोज्छु भनेर अठोट गर्दै छन् । उनीहरूको सपनालाई कुरूप राजनीतिको नङ्ग्राले भत्काउँदै छ ।

दन्त्यकथाको कुनै समृद्ध देश झैँ इतिहास कोरेको यो भूमि आज गरिबीको आँसु रुन बाध्य छ । कृषि उत्पादनमा आत्मनिर्भर मात्र नभएर खाद्यान्न उत्पादन र निर्यात गर्दै आएको कृषि  प्रधान देश थियो, नेपाल । अहिले त दैनिक गर्जो नै टार्न हम्मे परेर  सुन्दर र सुरक्षित भविष्यको मृगतृष्णामा  दक्षिण पूर्वी एसिया तथा खाडीका राष्ट्रको तातो हावामा रगत र पसिना सुकाउने निम्न स्तरका श्रमिकहरूको श्रोत मुलुक पो बन्न पुगेको छौँ  ।

त्यही सुन्दर अनि सुरक्षित भविष्य रुपी मृगतृष्णाको चक्रवातमा फसेर अकालमै काठको बन्द बाकसमा स्वदेश भित्रिनेको सङ्ख्या दैनिक बढोत्तरी हुँदै छ । अहिले पनि आफ्नै मुलुक बनाउनु पर्ने युवाहरू दलालहरूको चङ्गुलमा परेर गुमनाम जिन्दगी बिताउन बाध्य  छन् ।

तातो बालुवामा जो बाँच्न सकेका छन्, तिनैले पठाएको रेमिटेन्स अहिलेको अर्थतन्त्रको प्रमुख श्रोत वनेको छ। नियतिकै खेल नै त हो, हजारौँ रुपैयाँ ऋणको भारमा थिचिएर आमाको पेटबाट जन्मिन्छन् नेपालीका सन्तान ।

कागजका पाना र कम्प्युटरका डाटाहरूमा  देशले विकासको छलाङ मारेको, आम नेपालीहरूको  आय आर्जनमा वृध्दि भएको देखाएर बनावटी ग्राफ उकालो चढाए पनि तितो तर वास्तविकता,  सुकिला मुकिला र गरिबीमा बाँच्न बाध्य  नेपालीहरू बिच भयङ्कर पर्खालको सीमा तय गरिँदै छ ।

प्रविधिको यो युगमा विकसित मुलुकका युवाहरू अन्तरिक्ष नाप्दै छन् । वैज्ञानिक खोजले आफ्ना मुलुकलाई झनै समृद्ध बनाउँदै छन् । तर, यो मुलुकका अधिकांश शिक्षित युवा आफ्नो भूमिमा भविष्य नदेखेर विदेशीको गुलाम बन्न बाध्य छन् । जो यही माटोको भविष्य खोज्छु भनेर अठोट गर्दै छन् । उनीहरूको सपनालाई कुरूप राजनीतिको नङ्ग्राले भत्काउँदै छ ।

परिवारको कुनै सदस्य घर बाहिर निस्कँदा भरे सकुशल फर्किन्छ कि फर्किँदैन भनेर निश्चिन्त हुन सक्ने समय छैन । किनकि जसले यो समाज,  मुलुक अनि धर्म संस्कारका खातिर आवाज उठाउँछ र केही उदाहरणीय कर्ममा लाग्छ भने उसको मानमर्दन गरिन्छ । यस्तै हुँदै छ, हिजोआज ।

अमुक दलको नाममा चन्दा नदिने सुराकीको आरोपमा मारिन्छन् । वैदिक सनातन धर्मको उपासक, आम जनतालाई सत् मार्गमा लाग्न प्रेरणा दिने अभियन्ता षड्यन्त्रकारीको निशानामा पर्छन् । लाग्दै छ, अब हिन्दु धर्मका अन्य सारथि पनि क्रमशः षड्यन्त्रका सिकार बन्ने छन् ।

आफ्नो धर्म अनि कर्ममा र समाजको उत्थानमा समर्पित निष्ठावान् साधुमाथि सुपर्णखा चरित्रले लगाएको घृणित लाञ्छनालाई पत्याउने जमात पनि यहाँ बढाइँदै छ । हिन्दी चलचित्रका कथा झैँ षड्यन्त्रका धागाहरूले बुनिएको कथित अनैतिक कार्यको आरोपलाई प्रमाणसहित अस्वीकार गर्दा गर्दै पनि आधारविहीन आरोपको भरमा, बिना ठोस प्रमाण अनि न्यायिक अनुसन्धान समेत पुरा नहुँदै एउटा ब्रम्हनिष्ठ  सन्तलाई कारागारको चौघेरामा बासिन्दा पनि यही मुलुकमा बनाइन्छ ।

आफूलाई वैदिक सनातन धर्मको अभियन्ता हुँ भन्दै साधु सन्तको छद्म भेषमा रहेका केही खलपात्रका स्खलित मानसिकता कै कारण अहिलेको स्वेच्छाचारीपनाले बढवा पाएको छ ।

यो मुलुकमा गोलीको सिकार बन्न न यथेष्ट धन सम्पत्ति चाहिन्छ, नत कुनै उच्च सम्मान प्राप्त व्यक्ति नै हुनुपर्छ । मन्दिरमा आश्रय लिएर फगत भगवानको पूजा आराधनामा समर्पित रहेका अनि सम्पत्तिको नाममा लौरो र लँगौटीमा बाहेक केही नभएका  वृद्ध सन्त पुजारीको   हत्या पनि यही मुलुकमा हुन थालेको छ । न ती पुजारीको हत्याप्रति राज्य गम्भीर देखिन्छ, नतै आफुलाई सनातन धर्मको रक्षक भनाउन चाहिनेहरू । सबै तैँ चुप मैँ चुप छन् ।

एउटा छोरीको सामूहिक बलात्कार हुन्छ तर, कथित पन्चहरू रकमको लोभ देखाएर त्यस्तो अमानवीय घटना लुकाउन खोज्छन् । ती छोरीले न्यायले आँखा चिम्लिएको स्वीकार गर्दै इहलीला समाप्त गर्छिन् । उनले पासो लगाएको डोरीमा उनी मात्र होइनन् हाम्रो नैतिकता पनि झुन्डिएको थियो भनेर कहिले स्वीकार गर्ने ? यो कस्तो कानुन ? जहाँ बेकसुर जेलमा कोचिन्छन्, अपराधी पैसाको बलमा स्वतन्त्र छाडिन्छन् ।

उता सुदूर पश्चिममा १३ वर्षे किशोरीको अस्मिता दिन दहाडै लुटिएर हत्या भएको वर्षौँ बित्दा पनि अभियुक्त फेला पार्न नसक्ने संयन्त्रले हाम्रा छोरी बेटीको सुरक्षा कसरी गर्ला खै ?

विश्वका सवा अर्ब भन्दा बढी जनसङ्ख्याले अपनाउँदै आएको वैदिक सनातन हिन्दु धर्मको पवित्र भूमि र आस्थाको केन्द्र, मन्दिरै मन्दिरको सजिएको एक मात्र हिन्दु राष्ट्रमा पश्चिमाहरूको स्वार्थ अनुकूल रातारात लादिएको धर्म निरपेक्षताको विष वृक्षका कारण नेपाली समाजमा आयातित धर्मको प्रभाव विस्तार हुँदै छ ।

आफ्नो निकृष्ट र छुद्र स्वार्थ पुरा गर्न कै लागि माता/पिताले सन्तानको, सन्तानले जन्म/कर्म दाताको, दाजुभाइले दाजुभाइको, सहकर्मीले सहयात्रीको तेजोवध गर्न  विभिन्न षड्यन्त्रको तानाबाना बुन्छन् । यस्तै छ अहिले मेरो मुलुकको अवस्था । नैतिकता, निष्ठा, इमान्दारिता, शालीनता, भाइचारा  र  सद्भाव शब्दकोशका पानाभित्र अवमूल्यनमा  परेका छन् । अपवाद बाहेक जनताले तिरेको करबाट सरकारी तलब खाने विभिन्न पेसा  तहका राष्ट्र सेवकले आफ्नो पेसागत मूल्य मान्यतालाई आर्यघाटमा  तिलाञ्जली दिई सकेका छन् । वर्षे भ्यागुता झैँ कर्कश  स्वरमा देश विकासको फोस्रो नारा उराल्दै आम नागरिकलाई उल्लु बनाउने  राजनीतिका ठेकेदारहरूको हालीमुहाली छ मेरो देशमा । सरकारलाई खोपाको भीमसेन झैँ  बनाउने र आफ्नो इशारामा नचाउने अनवरत  प्रयास चल्दै छ, अनियमितताका मण्डलीबाट ।

नेपालका  विभिन्न स्थानमा अनुसन्धानबाट पत्ता लागेका खनिज पदार्थमा आफ्ना आइएनजिओ, एनजिओका एजेन्टमार्फत केही आकर्षक योजनाको  चारो फाल्दै  अनुदानको आडमा बहुमूल्य खनिज पदार्थ हडप्न  वक्रदृष्टि लगाइरहेका छन्  मित्रराष्ट्र नाममा चिनिने केही हुँडारहरू ।  राष्ट्रको प्राकृतिक श्रोत दोहनमा चुल्ठे मुन्द्रे र टोले गुन्डाहरूको दबदबा छ ।

विश्वका सवा अर्ब भन्दा बढी जनसङ्ख्याले अपनाउँदै आएको वैदिक सनातन हिन्दु धर्मको पवित्र भूमि र आस्थाको केन्द्र, मन्दिरै मन्दिरको सजिएको एक मात्र हिन्दु राष्ट्रमा पश्चिमाहरूको स्वार्थ अनुकूल रातारात लादिएको धर्म निरपेक्षताको विष वृक्षका कारण नेपाली समाजमा आयातित धर्मको प्रभाव विस्तार हुँदै छ ।

यकिन गर्न कठिन नै छ, हाम्रा पुस्ताले यसको मूल्य कति र कसरी चुकाउनु पर्ने हो कुन्नि ? खुराफाती सोच र  अति द्रव्य मोहीहरूका लागि राष्ट्रमा सृजित कुनै पनि प्राकृतिक या दैवी प्रकोप जुनसुकै हदसम्म गिरेर भए पनि रकम कुम्ल्याउन र लासमाथि व्यापार  गर्ने अवसर बन्दै छ । औसत देशवासीको जीवन कहाली लाग्दो परिस्थितिबाट गुज्रँदो छ ।

यसर्थ  यो देशमा एउटा त्यस्तो युग पुरुषको खाँचो छ, जसले देश दुखेको महसुस गरोस्,  न्यूनतम आधारभूत आवश्यकता (गाँस,बास, कपास ,स्वास्थ्य र शिक्षा) को अभावमा जनताका आँखाबाट बहिरहेको आँसुको धारा सुकाउन सकोस्, जसले गाई मारेर गधा पोस्ने प्रवृत्तिका विवेकहीन खलपत्रलाई समाजबाटै बहिस्कृत गराउन न्यायको कैँची  चलाउँदै सम्पूर्ण वर्ग,  तह र तप्काका नेपालीहरूलाई एउटै मालामा गाँस्न सकोस् । अनि अनेकौँ पीडाहरूबाट आक्रान्त भएर  धरमराउँदै गरेकी नेपाल आमाको मुहारमा शान्ति र हर्षका रेखाहरूको पुनरागमन गराउन  सकोस् ।

हो, म त्यही  युग पुरुष को खोजीमा छु ।... यो मुलुकको मुहार फेरिएको हेर्ने चाहना बढ्न थालेको छ । फक्रन थालेको छ ।

नेपाली सेनाका अवकाशप्राप्त सेनानी ढकाल आध्यात्मिक चिन्तन तथा सामाजिक विसङ्गतिका विषयमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि